मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय

मौन अवधिमा उम्मेदवारी खारेज गर्ने शैली र निर्वाचनको विश्वसनीयतामाथि सांसद ढुङ्गानाको प्रश्न

मङ्गलबार, १२ साउन २०८३, १२ : ५५
मङ्गलबार, १२ साउन २०८३

सारांश

  • सांसद आनन्दप्रसाद ढुङ्गानाले निर्वाचन आयोगले मौन अवधिमा उम्मेदवारी खारेज गर्दा जनताको मताधिकार र लोकतान्त्रिक प्रणालीमाथि प्रश्न उठेको बताएका छन् ।
  • गत निर्वाचनमा मौन अवधिमा उम्मेदवारी खारेज गरिएका व्यक्तिहरूलाई जनताले धेरै मत दिएको दृष्टान्त पेश गर्दै उनले आयोगको निर्णय र जनअपेक्षाबीचको खाडल औँल्याए ।
  • उनले निर्वाचनलाई प्राविधिक प्रक्रियामा मात्र सीमित नराखी जनताले विश्वास गर्ने वातावरण बनाउन र आयोगले कानुनको व्याख्या तथा कार्यान्वयनमा न्यायपूर्ण हुनुपर्नेमा जोड दिए ।

काठमाडौँ ।  नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुङ्गानाले निर्वाचन आयोगले अन्तिम समयमा उम्मेदवारी खारेज गर्ने प्रवृत्तिका कारण जनताको मताधिकार र लोकतान्त्रिक प्रणालीमाथि नै प्रश्न उठेको बताएका छन् । प्रस्तावित निर्वाचन आयुक्त गुरुप्रसाद वाग्लेको संसदीय सुनुवाइका क्रममा बोल्दै सांसद ढुङ्गानाले निर्वाचनको विश्वसनीयता र आयोगको कार्यशैलीमाथि गम्भीर प्रश्नहरू राखेका हुन् । 

सांसद ढुङ्गानाले गत निर्वाचनको एउटा विवादास्पद पाटो औँल्याउँदै भने, ‘गत निर्वाचनमा निर्वाचन आयोगले मतदानको ठिक अघि अर्थात् ‘मौन अवधि’ मा कतिपय उम्मेदवारको उम्मेदवारी खारेज गरिदियो। तर, रोचक र सोचनीय कुरा के देखियो भने, नेपाली जनताले उम्मेदवारी खारेज गरिएका तिनै व्यक्तिहरूलाई सबैभन्दा धेरै मत दिए। यसको अर्थ आयोगको निर्णय र जनअपेक्षाबिच ठुलो खाडल देखियो।’

सांसद ढुङ्गानाले थप प्रश्न सोध्दै भने ‘अन्तिम घडीमा आएर यस्ता निर्णय गर्दा उत्पन्न हुने संवैधानिक र व्यावहारिक संकटलाई तपाईँले कसरी हेर्नुभएको छ ? भविष्यमा यस्ता समस्या आए भने तपाईँले कसरी टुङ्ग्याउनुहुन्छ ? के यस्ता विषयलाई मतदानभन्दा धेरै अगाडि नै टुङ्ग्याउन सकिँदैन’

सांसद ढुङ्गानाले निर्वाचनलाई केवल प्राविधिक प्रक्रियामा मात्र सीमित नराखी जनताले मनैदेखि विश्वास गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए । 

आयोगले गर्ने निर्णयहरू विवादरहित हुनुपर्ने भन्दै ढुङ्गानाले निर्वाचन कानुनको व्याख्या र कार्यान्वयनमा आयोग कडा तर न्यायपूर्ण हुनुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप