शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

कोशी विद्रोहमा शेखरले शशांकको साथ खोजेपछि...

शुक्रबार, ०३ कात्तिक २०८०, १३ : ४४
शुक्रबार, ०३ कात्तिक २०८०

काठमाडौँ । कोशी प्रदेशको सरकार निर्माणका बेलाको विद्रोहमा नेता शेखर कोइरालाले पूर्व महामन्त्री शशांक कोइरालाको साथ खोजेका पाइएको छ । कोशी प्रकरणले संस्थापन इतर पक्षमा एक्लिएका शेखरले शशांक कोइरालाको साथ खोजेका पाइएको हो ।

असोज २५ गते कांग्रेस सांसद दीपक खड्का र सुनिल शर्माको पहलमा शेखर र शशांकबीच भेटवार्ता गराइएको थियो । कोशी प्रदेशका विषयमा सांसद खड्काको निवासमा असोज २५ को साँझ भेटवार्ता भएको थियो । सोही दिन दिउँसो शेखर पक्षीय कोशी प्रदेशसभा सदस्य केदार कार्कीले पार्टी निर्णय विपरीत नेकपा एमालेसँग मिलेर मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

सत्ता गठबन्धनले माओवादी केन्द्रका इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेपछि शेखर पक्षी केदारले पार्टीका ८ सांसदसहित एमालेका ३९ सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी गरेका थिए । केदारको उक्त कदमबारे संस्थापन इतर पक्षकै पदाधिकारीको समर्थन थिएन र छैन ।

महामन्त्री गगन थापा, सहमहामन्त्री बद्री पाण्डे, जीवन परियार, नेताहरू दिलेन्द्र बडू, हृदयराम थानी, गुरुराज घिमिरे लगायतले कोशीमा शेखरले गराएको विद्रोहमा असहमति राखेका छन् । शेखरले संस्थापन इतर समूहमा छलफल नै नगरी अगाडि बढेको उनीहरूको गुनासो छ । महामन्त्री गगन थापाले शेखरसँग पछिल्लो एक महिनासम्म कुनै संवाद नभएको बताएका छन् ।

बिहीबार एक कार्यक्रममा उनले भने, ‘वरिष्ठ नेता (शेखर कोइराला)सँग मेरो एक महिना यता छलफल भएको छैन । भेट भयो भने कोशी प्रदेशबारे कुरा गरौँला ।’ पार्टीमा संस्थागत निर्णय नगरी एमालेसँग मिलेर शेखरले गल्ती गरेको महामन्त्री थापाको भनाइ छ ।

शेखरले पनि महामन्त्री थापा लगायतसँग छलफल नभएको स्वीकार गरेका थिए । ‘सबै कुरा बाहिर ल्यायो भने काम हुँदैन । त्यो पनि बुझ्नुपर्छ ।  कतिपयलाई कुरा बताएँ, कतिपयलाई कुरा बताइन । तर, उहाँहरूले के सोच्नुभयो थाहा छैन,’ शेखरको भनाइ थियो । गृह प्रदेश कोशीमा पार्टीका सबै नेताहरु आफूविरुद्ध लागेको उनको गुनासो छ । 

कोशी प्रदेश प्रकरणले गगनसँग दरार ल्याएको अवस्थामा शेखरले शशांकसँगको साथ खोजेका थिए । सङ्खुवासभाको जिल्ला सभापतिबाट राजीनामा दिएका खड्का कोशी प्रकरणपछि शेखर नजिक हुन पुगेका छन् । उनले शशांकलाई शेखरसँग जोड्ने प्रयास गरेका थिए । शशांक भने शेखरसँग सहकार्य गर्ने कुरामा सकारात्मक छैनन् । त्यसको संकेत उनले असोज २६ गते राष्ट्रियसभा गृहमा भएको कार्यक्रममा दिएका थिए ।

शेखरसँग भेटवार्ता गरेको २४ घण्टा नबित्दै शशांकले पार्टीमा सबै अनुशासनमा बस्नुपर्ने बताएका थिए । ‘पार्टीले संस्थागत रूपमा निर्णय गर्ने अभ्यास गर्नुपर्छ, कोसी प्रदेशका विषयमा केन्द्रमा सभापति शेरबहादुर देउवा र शेखर दाइ दुबैले राम्रो गर्नु भएन । कोसी प्रदेशमा केदार कार्कीले पनि व्यक्तिगत निर्णय गरेमा उहाँ उभिनुहुँदैन थियो,’ शशांकको भनाइ थियो ।

शशांक निकटहरूले शेखर कोइरालासँगको सहकार्य लाभदायी नहुने बताउने गरेका छन् । शशांक निकट स्रोतले भन्यो, ‘उहाँ (शेखर)सँग सहकार्य गर्दा त्यहाँ हामी दोस्रो दर्जाको हुने हो । दोस्रो दर्जाको हुन किन सहकार्य गर्ने ? अहिले डाक्टरसाप सबैसँग समदुरीमा बस्ने रणनीतिमा हुनुहुन्छ ।’

स्रोतका अनुसार सांसद सुनिल शर्मा र दीपक खड्काले शशांकलाई झुक्याएर शेखरसँग भेट गराएपनि त्यसको कुनै अर्थ नभएको छैन । १५ औं महाधिवेशनमा सभापतिको लागि देश दौडाहा जाने शशांकको तयारी छ । पार्टीको महासमिति बैठकपछि ७७ वटै जिल्ला पुग्ने शशांशको कार्यक्रम छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप