सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
दसैँ

सानो छँदा महन्थ ठाकुरको दसैँ

‘दुईतीन रुपैयाँ गोजीमा हुँदा लखपति जस्तो महसुस हुन्थ्यो’
सोमबार, ०६ कात्तिक २०८०, १५ : ११
सोमबार, ०६ कात्तिक २०८०

दसैँ अर्थात् दशहराको चहलपहल सुरु हुने बित्तिकै आफ्नो बचपन याद आउँछ । केटाकेटीमा त दसैँ भनेको मेलामात्र हुन्थ्यो । अहिले पनि ती दिन झल्झली याद आउँछन् । दशहराको मेला हेर्नका लागि एक महिना अघिदेखि नै पैसा जम्मा गर्थ्यौँ । घरमा हजुर बुबा, बुबा, अंकल, दाइहरुसँग मेला हेर्नकै लागि मागेर पैसा जोहो गरेर राख्थेँ ।

मलाई लाग्दैन कि त्यतिबेलाको जस्तो अहिलेका केटाकेटी मेला हेर्न उत्साहित होलान् । अहिले त लुगाफाटो किन्यो, घरमा मिठो खानेकुरा पकाएर खायो, रमाइलो ग¥यो, दसैँ सकियो । तर पहिला यस्तो हुँदैनथ्यो । लुगाफाटो त पहिला पनि किनिन्थ्यो तर दसैँ लगत्तै जाडो आउने भएकाले जाडोका कारण लुगा किनिन्थ्यो र त्यही लगाएर मेला जान्थ्यौँ ।

मेला हेर्न गएपछि अरु केही होइन, कागजमा राखेर दिएको मुरही (भुजा), कचरी (पकौडा), झिल्ली (बेसनबाट बनेको एक प्रकारको खानेकुरा) मलाई निकै मन पर्थ्यो । खुब रमाईरमाई खान्थेँ । जलेबी (जेरी) पनि हुन्थ्यो तर त्यसमा त्यति ध्यान जाँदैनथ्यो । त्यतिबेलाको दसैँ मेलामा अहिलेको जस्तो धेरै कुरा पाउदैनथ्यो, खानेकुरा सीमित हुन्थ्यो । नाचगान र रमाइलो गर्ने थुप्रै साधन हुन्थ्यो । त्यतिबेला मेला हेर्नका लागि दुईतीन रुपैयाँ गोजीमा हुँदा लखपति जस्तो महसुस हुन्थ्यो ।

मेला हेर्नका लागि त्यही दुई रुपैयाँदेखि पाँच रुपैयाँसम्म लिएर जान्थेँ । पाँच रुपैयाँ त्यतिबेला धेरै हुन्थ्यो । २५ पैसा, ५० पैसामा खानेकुरा अघाउने गरी आउँथ्यो । कहिले काहीँ मेला हेर्न साथीहरुसँग पनि जान्थेँ तर प्रायः म मेरा दाजु जगदिश ठाकुरसँग जाने गर्थें । म मेला हेर्न एक्लै कहिल्यै गएको छैन ।

साथीभाइसँग जाँदा अलि बढी रमाइलो हुन्थ्यो, दाजुसँग अलि अनुशासनमा बस्नु पर्थ्यो । दाजुले मेलामा निकै केयर गर्नुहुन्थ्यो । मेलामा निकै भिडभाड हुन्छ, कतै हराउँछ कि भन्ने उहाँलाई चिन्ता हुन्थ्यो ।

Mahanta Thakur (1)

बाल्यकालदेखि नै भगवान, देवी देवताप्रति आस्था जगाइन्छ । बाल्यकालदेखि नै देवी देवताप्रति आस्थाको मनोविज्ञान जन्माइसकेको हुन्छ । मेला गएपछि देवी देवताको दर्शन गर्नैपर्छ भन्ने मान्यता थियो । जस्तोसुकै भिड भए पनि लाइन लागेर दुर्गा देवीको दर्शन गरिन्थ्यो । अहिलेका बच्चाहरु त्यसरी गर्छन् कि गर्दैनन्, थाहा छैन । तर पहिलाका बच्चाभित्र त्यो खालको आस्था भेटिन्थ्यो ।

डायनबाट जोगिन

दसैँ लाग्ने बित्तिकै आमा–बुबाले आ–आफ्ना बच्चा लुकाउँथे । दसैँभर घरबाट निस्कन दिँदैनथे । दिनमा पनि घरकै वरिपरि मात्र निस्किन दिन्थे । डायनले जादु टुना गर्दिन्छन् भन्ने भय हुन्थ्यो । त्यो भय अहिले बिल्कुल हराएको छ । त्यतिबेला डायनको प्रभावबाट बच्नका लागि केटाकेटीको हात, कम्मर वा घाँटीमा लसुनको गेडा धागोमा बाँधेर झुण्ड्याइन्थ्यो । त्यतिमात्र होइन, सोनारले दिने दसैयाँ औंठी पनि हातमा र कनौसी कानमा लगाइ लगाइन्थ्यो । यहाँसम्म कि डायनको नजर नलागोस् भनेर केटाकेटीको निधार वा आँखामा काजल (गाजल) लगाइन्थ्यो ।

डायनबाट बच्नका लागि केटाकेटीलाई मात्र होइन, पूरै गाउँलाई बाँध्ने काम हुन्थ्यो । दसैँ सुरु भएपछि धामी झाँक्रीहरुले डायनबाट गाउँलाई बचाउनका लागि मन्त्र पढी चारैतिर त्यसलाई बाँध्ने काम गर्थे । तन्त्रमन्त्रले गाउँ बाँध्दा चमार (मोची) समुदायले ढोल, पिपही बजाउँदै गाउँ घुम्थे । अहिले ती सबै हराइसकेका छन् ।

घरलाई जोगाउनका लागि आ–आफ्नो गेटमा, जहाँ अरुको नजर पुग्छ, त्यहाँ कालो चिह्न लगाइदिने, नाङ्लोमा कालो, सेतो रङका गोलोगोलो चिह्न बनाएर आफ्नो घरको छानामाथि राख्ने गरिन्थ्यो । कसै कसैले माटोका भाँडोमा कालो पोतेर घरका छाना तथा छतमाथि राख्ने गर्थे । अहिले पनि गाउँघरमा त्यस्तो कतैकतै देखिन्छ तर त्यो विस्तारै हराउँदै गइरहेको छ ।

झिझिया नृत्य तथा गीत पनि त्यसैका लागि मनाइन्छ । झिझिया नृत्य तथा गीत अझै पनि कायम छ । आफ्ना बालबच्चा, परिवारको शान्ति, सुख, समृद्धिका लागि झिझिया नृत्य तथा गीत गाउने चलन छ । डायन तथा टुनामुनाको प्रभाव कम गर्नका लागि झिझिया नृत्य गर्ने गरिन्छ । महिलाले गाउने गीत तथा नृत्यबाट डायनहरुको प्रभाव कम हुने मान्यता छ । तर अहिले आधुनिकतासँगै त्यसमा पनि परिवर्तन आएको छ । परम्पराभन्दा पनि त्यसलाई मनोरञ्जनको रुपमा लिन थालिएको छ ।

झिझिया महिलाहरुले मात्र गर्ने भएकाले त्यसमा पुरुषको कुनै संलग्नता हुँदैन्थ्यो । पहिलापहिला पुरुषहरु त्यसको वरपर पनि जाँदैनथे । झिझिया नृत्य तथा गीतमा महिलाहरुले गर्ने गाली पुरुषले सुन्न लायक हुँदैन । त्यही भएर त्यहाँ पुरुषलाई जान बर्जित हुन्थ्यो तर अहिले पुरुषहरु भेला भएर झिझिया नृत्य गराउने गरेको भेटिन्छ । झिझिया नृत्यको प्रतियोगितासमेत हुन थालेका छन् ।  

अन्धविश्वास कि आस्था

चाडपर्वमा गरिने गतिविधिहरु आस्थाका आधारमा गरिन्छ तर कतिपयले त्यसलाई अन्धविश्वासको रुपमा पनि लिन्छन् । हाम्रो समाजले परम्परादेखि मान्दै आएको चाडपर्व, देवी देवता, भगवानलाई हामी पनि मान्दै आएका छौँ । कतिपय कुरा अन्धविश्वास जस्तो पनि लाग्छ तर समाजले स्वीकार गरेका कारण हामी पनि त्यसलाई आस्थापूर्वक मनाउँदै आएका छौँ । धेरैजसो कुराको अनुभूति हुन्छ तर देख्न सकिँदैन । साधुसन्त, धामीझाँक्रीहरुले भनिरहेका हुन्छन्, ‘भगवान, देवी देवतासँग हाम्रो डाइरेक्ट संवाद हुन्छ, हामी प्रत्यक्ष देख्छौँ ।’

Mahanta Thakur (6)

उनीहरुले भनेका कुरामा कति सत्यता छ, त्यो त उनीहरुलाई नै थाहा होला तर हामीले त्यस्तो अनुभूति कहिल्यै गरेका छैनौँ । हामीले माटोको मूर्ति र फोटामा मात्र भगवान देखेका छौँ । त्यसको अनुभूतिको आधारमा हामी आस्थाले पूज्ने गर्छौं । ‘मानो तो देवता, नही तो पथ्थर’ भनेजस्तै सबै आस्था र विश्वासका कुरा हुन् । जसलाई विश्वास लाग्छ, त्यसले आस्थाका आधारमा देवी देवता मान्छन्, जसलाई विश्वास लाग्दैन, त्यसले अन्धविश्वास भन्छन् ।

डायनहरुले यदि तन्त्र मन्त्रले मान्छे मार्न सक्छन् भने सीमा रक्षाका लागि, देशको सुरक्षाका लागि यत्रो सेना किन चाहिन्छ ? तन्त्र मन्त्र सिकाएर डायनलाई नै राख्दा पनि हुन्थ्यो, जसले एउटै मन्त्रले आफ्ना दुश्मनलाई मार्न सक्छन् । यसरी यो कोणबाट हेर्दा अन्धविश्वास जस्तो लाग्छ । यस्ता धेरै कुरा छन् जो अन्धविश्वास जस्तो लाग्न सक्छ तर यो अन्धविश्वास नै हो वा होइन भन्ने कुराको कसैले वैज्ञानिक ढंगबाट प्रमाणित गरेका छैनन् ।

आजकल कलश यात्राको प्रचलन छ । त्यो पनि एउटा ठूलो आस्था हो । प्रायः कुनै पनि अनुष्ठानमा कलश यात्रा निकाल्ने गरिन्छ । कलशमा आदिशक्तिको बास हुन्छ भन्ने मान्यता छ । आदिशक्ति पनि देवी नै हो । दुर्गाले राक्षसलाई मारेका कारण दुर्गा, देवी नाम रहन गएको पनि भन्ने गरिन्छ । यस्ता धेरै धार्मिक किम्बदन्ती छन् जो मान्छेले अहिलेसम्म मान्दै आएका छन् ।

धर्म, आस्थाका दुई सैद्धान्तिक पक्ष छन् । एउटा कुरा यो ब्रहमाण्डलाई कसले चलाइरहेको छ ? पृथ्वीलाई कसले अड्याइरहेको छ ? पृथ्वी घुम्छ, सूर्यको परिक्रमा गर्छ, यो कसरी सम्भव भयो ? यस्ता कुरा पनि छन् । त्यसलाई भगवानले रेगुलेट गरिरहेको भन्नेहरु पनि छन् । फेरि विज्ञानको आफ्नै सिद्धान्त छ ।

छठसम्म दसैँ

तराई मधेसमा बेल नत (निमन्त्रणा) गरेर दसैँको शुभारम्भ गरिन्छ र त्यसको रौनकता छठसम्म हुन्छ । दसैँको तयारीसँगै तिहार र छठको पनि तयारी सुरु हुन्छ । दसैँसँगै छठको पनि किनमेल सुरु भएको छ । पहिलापहिला कतिपय ठाउँमा लागेको दशमी मेला छठसम्म रहन्थ्यो । ती मेलामा आएका नाचगान, रामलिलाहरु छठसम्म हुन्थ्यो । अहिले त्यस्तो देखिँदैन ।

त्यतिबेला मनाइने हरेक पर्व कृषि र किसानसँग जोडिएको हुन्थ्यो । उत्पादनसँग जोडिएको हुन्थ्यो तर अहिले सबै रेडिमेट हुन थालेका छन् । अहिले उत्पादन गर्न छाडेपछि हरेक कुरा सहर बजारबाट किनेर ल्याउँछन्, झकिझकाउ बनाउँछन् र चाडपर्व मनाउँछन् ।

हामीलाई पनि याद छ, दीपवालीमा महिलाहरुले नदी तथा तलाउबाट माटो ल्याएर त्यसको दीप बनाउँथे र सफा गरी राखिएको सुती कपडाको बत्ती बनाएर त्यसलाई साँझमा जलाउने गर्थे । पछि कुमहार जातीले माटो दीप बनाएर बेच्न थाले । त्यसलाई महिलाहरुले प्रयोग गर्न थाले । अहिले विस्तारै त्यो पनि हराउन थालेको छ । अहिले त दीपहरु पनि विद्युतीय आउन थालेका छन् । विद्युतबाट चलाउन नसक्नेले घरमा मैनबत्ती किनेर बाल्छन् । माटोको दियो लगभग हरायो ।

Mahanta Thakur (3)

तिहार वा छठ हुँदा घर तथा घाट सजाउन दिनभर हामी केराको थम्बा खोज्थ्यौँ, हाँगा भेला गर्थ्यौँ । रंगिन कागज किनेर आफैँ पताका तयार पारिन्थ्यो । त्यसले घर तथा घाट सजाइन्थ्यो । अहिले त बजारमा सबै कुरा रेडिमेट पाइन्छ । बजारबाट किनेर ल्याउँछन् र झुण्ड्याइदिन्छन् । घर तथा पण्डाल सजाउने मान्छे भाडामा पपनि पाइन्छन् । मान्छे आफैँ सबै समान लिएर आउँछन्, सबै ठाउँ सजाइदिन्छन् । कार्यक्रम सकेपछि सबै लिएर जान्छन् । तर पहिला यस्तो हुँदैनथ्यो । सबै कुरा स्थानीय हुन्थ्यो, आफ्नै खेतबारी तथा गाउँघरको हुन्थ्यो । एक दुई दिन त सबै कुरा भेला गर्न समय लाग्थ्यो । एक दुई दिन त्यसलाई बनाउन नै लाग्थ्यो । संस्कृति उही हो तर समय अनुसार त्यसलाई मनाउने मनाउने तरिका फरक भएको कारणले कतिपयले संस्कृतिमा पनि फेरबदल भएको भन्ने गरेका छन् ।

अहिले पनि मान्छेले देवी देवता मान्छन्, पूजापाठ गर्छन् । बलि दिन्छन् । पहिला पनि दिइन्थ्यो तर अहिले फरक यति भयो कि कतिपय मान्छे अनलाइन पूजापाठ गर्न थालेका छन् । माटोको मूर्तिको ठाउँमा धातुबाट बनेको मूर्ति राख्न थालेका छन् । पहिला खसीबोका बलि दिँदा त्यसको ‘पैरछन’ गराउन घन्टौँ लाग्थ्यो । कसै कसैको दिनभर लाग्थ्यो । कसै कसैको खसी बोकाले ‘पैरछन’ नलिए फर्काएर पनि लग्थे । तर अहिले त्यस्तो देखिँदैन, खसीबोकाको टाउकोमा पानी हाल्दिन्छन्, यसो टाउको हल्लायो भने पैरछन गरेको मानिन्छ र देवीको बलि दिइन्छ । मान्नेहरु आस्थाका आधारमा चाडपर्व मनाउँछन् भने कसैले अन्धविश्वास हो भन्दै मनाउँदैनन् ।

(लोसपाका अध्यक्ष महन्थ ठाकुरसँग रातोपाटीका लागि गरिएको कुराकानीमा आधारित)

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

महन्थ ठाकुर
महन्थ ठाकुर
लेखकबाट थप