बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
कलाकार

टिकटकबाट भाइरल पबीको फेरियो जीवन

बुधबार, ०८ कात्तिक २०८०, १० : १९
बुधबार, ०८ कात्तिक २०८०

काठमाडौँ । सन् २०१९ मा फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले विश्वलाई आक्रान्त बनायो । कोरोनाका कारण सरकारले देशभर लकडाउन गर्‍यो । लकडाउनले मानिसहरू घरमै बस्न बाध्य भए ।

महामारीका रूपमा फैलिएको कोरोनाले कतिका सहारा छिन्यो, कति सन्तानविहीन समेत भए । धेरैले रोजगारी गुमाए । कैयौँका लागि हानिकारक त्यो कोरोना र लकडाउन सुदूरपश्चिम डडेलधुराकी पवित्रा साखी अर्थात् ‘मिस पबी’ का लागि भने लाभदायी सिद्ध भयो । यही लकडाउनमा उनले बनाएको टिकटक भाइरल भयो । उनी मिस पबीको नामबाट रातारात हिट भइन् ।

‘लकडाउनमा मेरो दैनिकी बाख्रा चराउने, आमासँग घाँस काट्ने थियो,’ उनले भनिन्, ‘एक दिन साथीसँग बाख्रा चराउन जाँदा मजाक मजाकमै डडेलधुराली भाषामा टिकटक बनाउन मन लाग्यो । त्यो टिकटक भाइरल भयो ।’ त्यसअगाडि कहिल्यै टिकटकमा धेरै भ्युज नपाएकी उनले धेरै भ्युजका साथै सकारात्मक कमेन्टसमत पाइन् ।

‘कतिपयले कहाँको भाषा हो यो ? कस्तो मनपर्‍यो भनेर कमेन्ट पनि गरे, कतिले विदेशी भाषा हो कि भनेर पनि सोधे’, उनी ती दिनमा फर्किइन्, ‘टिकटकको फलोअर्स बढ्दै गए । आफ्नै भाषा बोल्दा राम्रो हुन्छ भने किन नबोल्ने भनेर झन् धेरै टिकटक बनाउन थालेँ ।’ एकपछि अर्को टिकटक बनाउँदै जाँदा पूरै देशमै मिस पबीका रूपमा चर्चित भएको उनले सुनाइन् ।

टिकटकमा चर्चित हुनु अगाडि उनले सुदूरपश्चिमकै केही गीतको म्युजिक भिडियोसमेत खेलेकी थिइन् । तर उनलाई कसैले चिन्दैन थियो । न त भिडियोको राम्रो भ्युज नै जान्थ्यो । टिकटकमा हिट भएपछि उनलाई काठमाडौँलगायत देशका विभिन्न ठाउँका म्युजिक भिडियो अभिनय अफर मिल्यो । उनले काठमाडौँमा भिडियो अफर स्वीकार गरिन् । एकपछि अर्को भिडियो अभिनयले उनको करियरले नयाँ उडान लियो । अहिले उनी म्युजिक भिडियोमा हिट मोडल हुन सफल भएकी छन् ।

miss pabi (2)

अनु चौधरी र प्रताप दासको गीत ‘सँगसँगै’, सुनिल गिरीको गीत ‘जुम्ला’ होस् वा हिमाल सागरको ‘आह कति राम्री’ धेरै चलेका गायकको म्युजिक भिडियोमा छाउन उनी सफल छिन् । म्युजिक भिडियो, विज्ञापनदेखि सानो पर्दाको सिरियलसम्मको अभिनयले उनलाई भ्याइनभ्याई छ । उनी पुरानादेखि नयाँ पुस्ताका गायकगायिकाको रोजाइमा पर्न थालेकी छन् ।

छोटो समयमै ४५ वटा भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी उनी अहिले राम्रो राम्रा ब्रान्ड नेपाल टेलिकम, नबिल बैङ्क लगायतका विज्ञापनमा पनि देखिन थालेकी छन् । चर्चाका लागि म्युजिक भिडियो राम्रो भए पनि आर्थिक मामलामा विज्ञापन ठिक भएको उनी बताउँछिन् ।

म्युजिक भिडियो, विज्ञापनको अलवा उनी अहिले पहिलो विदेश यात्राको तयारीमा पनि छिन् । उनको विदेश यात्रा अस्ट्रेलियाबाट सुरु हुँदै छ । नाम चलेका र वरिष्ठ कलाकारले पछिल्लो समय अस्ट्रेलिया भिसा नपाएको अवस्थामा अहिलेसम्म कहीँ नगएकी उनले भने एकै पटकमा भिसा पाएकी छन् । अस्ट्रेलिया भिसा पाएकोमा दङ्ग भएकी उनी भन्छिन्, ‘म अलि अलि देशमा चिनिएकी होला भन्ने लागेको थियो । विदेशमा समेत चिनिइसकेकी रहेछु ।’

सबै टिकटकको देन    

पवित्राको सानैदेखि टीभीमा देखिने रहर थियो । म्युजिक भिडियोमा अभिनय गर्न पाए टीभीमा आफूलाई हेर्न पाइथ्यो भन्ने सोच्थिन् । साथीहरूसँग अभिनय गर्न पाए हुन्थ्यो भनेर कुरा गर्थिन् । तर कसरी देखिन् ? उनको घरपरिवार, आफन्त कोही पनि कलाकारितामा थिएनन् । उनले कलाकारिता क्षेत्रमा उनले कसैलाई चिनेकी थिइनन् । त्यसैले गाउँघरका कार्यक्रममा नाच्थिन्, नाटकमा अभिनय गर्थिन् ।

miss pabi (4)

टीभीमा देखिन नसके पनि टिकटकमा त देखिन सकिन्छ भन्ने उनलाई लाग्यो । उनले रमाइलोका हिसाबले टिकटक बनाउन सुरु गरिन् । सुरुमा उनको भिडियोले खासै भ्युज पाउँदैनथ्यो, फलोअर्स पनि बढ्थ्यो ।

लकडाउनमा उनले जब डडेलधुराली भाषामा टिकटक बनाइन्, त्यो भिडियोले धेरै नै भ्युज पायो । फलोअर्स पनि दिन प्रतिदिन बढ्न थाल्यो । अहिले उनी टिकटकमा मात्र नभएर सबैतिर छाउन थालैकी छन् ।

‘सानैदेखि डान्स, अभिनय गर्ने भए पनि कसैसँग सजिलै घुलमिल हुन र बोल्न सक्दिनँ थिएँ’, उनले थपिन्, ‘अहिले सबैसँग बोल्न, घुलमिल सक्ने भए । यो सबै टिकटकको देन त हो नि ।’ टिकटकले उनको जीवनमा कायापलट गरेको बताउँछिन् ।

टिकटकले उनको मात्र होइन धेरैको जीवनमा परिवर्तन ल्याएको छ । पछिल्लो समय टिकटकबाट भित्रिएका गायक, गायिका, मोडलदेखि अभिनेत्रीसम्म नेपाली कलाक्षेत्रमा छन् । टिकटक छोटो समयमा राम्रो चर्चा पाउने माध्यमका रूपमा समेत उनले लिएकी छन् । ‘टिकटकबाट छिटो चर्चा मिल्दो रहेछ,’ उनले अनुभव सुनाइन् ।

आमाबुवाको सपना सरकारी जागिर

डडेल्धुराको अमरगढी नगरपालिका–८, लटौलीकी पवित्राका आमाबुवाको सपना सरकारी जागिर खाओस् भन्ने थियो । उनको सपना अभिनय वा अरू केही गर्नु पर्छ भन्ने थियो ।

आमाबुवाको सपना पूरा गर्न उनी सशस्त्र प्रहरीमा भर्ती हुन गइन् । विभिन्न चरणका प्रतिस्पर्धामा भाग लिइन् । तर अन्तिम चरणको परीक्षामा फालिइन् ।

‘आमाबुवाको कुरा टार्न नसकेर सशस्त्र भर्तीमा सहभागी भएकी थिएँ । इच्छा फिटिक्कै थिएन । त्यसैले होला सेलेक्ट भइनँ’, उनले भनिन्, ‘फेल भएपछि आमा स्याड हुनुभयो ।’ सरकारी जागिरमा फेल भएपछि अभिनयमा आएको र अभिनयमा सफल भएको उनले खुलाइन् ।

miss pabi (1)

अभिनयमा आएपछि पवित्रा नाम, दाम र चर्चा सबैथोक कमाउन सफल छिन् तर अभिनय अनुभव भने उनको सबै सुखद छैन । कतिपयले उनलाई टिकटकर भनेर हेप्छन् ।

‘गीतसङ्गीत चलाउन, आफू हिट हुन मलाई नै खोज्छन्,’ उनी थप्छिन्, ‘परिश्रमिक थोरै दिन खोज्ने, बाँकी राख्न खोज्ने गर्छन् ।’ आफ्नो अगाडि कुरा नकाटे पनि पछाडि टिकटकरको भाउ यस्तो उस्तो भनेर विभिन्न कुरा काट्ने गरेको उनले पाएकी छन् । सबै ठाउँमा राम्रा र नराम्रा मानिस हुने उनले बुझेकी छन् । त्यसैले कसैको वास्ता नगरी उनी अगाडि बढिरहेकी छन् । ‘कुरा काट्ने र खुट्टा तान्ने जति बढ्छन् । अगाडि बढ्न त्यति मज्जा आउँदो रहेछ,’ उनले भनिन् ।

टिकटकरबाट म्युजिक भिडियो र विज्ञापनमा छाएकी उनलाई विदेशमा कार्यक्रमका लागि अस्ट्रेलिया, यूकेले पनि भिसा दिएको छ । देशमा टिकटकर भनेर हेपे पनि विदेशले भिसा दिँदा एकदमै खुसी छिन् उनी । ‘म कलाकार भनेर विदेशले स्वीकार गरे । देशमा भने सम्मान छैन,’ उनले दुखेसो पोखिन् । अभिनयमा राम्रो गर्न सकियो भने राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय नाम, दाम र चर्चा कमाउन सकिने उनले बल्ल बुझेकी छन् । ‘जीवनमा उतारचढाव त आउँछ । जुनै काममा पनि निरन्तरता दिनुपर्दाे रहेछ । सफलताले साथ दिँदोरहेछ,’ उनले अनुभव पोखिन् ।

फिल्ममा पनि अफर

टिकटकमा हिट मिस पबीका लागि फिल्म अभिनयको अफर नमिल्ने कुरै भएन । केही फिल्मको हल्लाफुल्का अफर आएकाले मात्र उनले नरोजेकी हुन् । राम्रो ब्यानर र मेकबाट अफर आए उनी फालहाल्ने तयारीमा छिन् । किनभने सफल अभिनेत्री भनेर चिनिने लोभ उनको मनमा छ । त्यसका लागि नृत्य र अभिनय प्रशिक्षणसमेत लिएकी छन् ।

miss pabi (3)

‘फिल्म अभिनय राम्रो काम हो । कथा आफू सुहाउँदो र टिममा चित्त बुझे फिल्म गर्छु,’ उनी भन्छिन्, ‘फिल्म पनि गरेँ भन्न होइन, केही गर्न फिल्म खेल्छु ।’ फिल्म क्षेत्रमा एकसेएक अभिनेत्री छन् । यहाँ दह्रो प्रतिस्पर्धा रहेको उनलाई पनि थाहा छ । सबै आआफ्नो मेहनतले अगाडि बढ्ने भएकाले जति नै प्रतिस्पर्धा भए पनि आफूलाई कुनै फरक नपर्ने उनी बताउँछिन् ।

कलाकारितामा एकपछि अर्को कदम अगाडि बढाउँदै गरेकी मिस पबीले के यसमा भविष्य देखेकी छन् त ? फिटिक्कै छैन । सयमा दस प्रतिशतले मात्र यो क्षेत्रमा केही गर्न सकेको उनले देखेकी छन् । त्यसैले यो क्षेत्रमा काम पाएसम्म गर्ने र कम भएपछि अर्को पेसा रोज्ने सोच उनको छ । अर्को काम पनि उनले अहिले सोचिसकेकी छन् । ‘डडेलधुरमा पर्यटक आकर्षण गर्न राम्रो रिसोर्ट खोलेर व्यवसाय गर्न मन छ,’ उनले आफ्नो योजना बताइन् । पवित्रा कसरी भइन् ‘मिस पबी’ ? रातोपाटीले प्रश्न राख्न नपाउँदै उनले जवाफ फर्काइन्, ‘पहिले पवित्रा साँखीको नामबाट टिकटक बनाउँथे । खासै चर्चा हुँदैन थियो । एक दिन छोटो नाम राख्यो भने छिटो मानिसलाई याद हुन्छ भनेर ‘मिस पबी’ राखेर टिकटक बनाएँ, भाइरल भयो । अहिले त्यही नामले फेमस छु ।’ त्यो त्यही लकडाउनको दिन थियो, जुन दिन उनले पहिलो पटक डडेलधुराको भाषामा टिकटक बनाएर भाइरल भएकी थिइन् ।

पवित्रालाई अभिनय मात्र होइन फिल्म हेर्न पनि औधी रुचि छ । हिन्दी, नेपाली र अङ्ग्रेजी प्रायः सबै फिल्म हेर्छिन् उनी । फेसनमा पनि उनको रुचि रहँदै आएको छ । कलाकारले फेसनमा ध्यान दिनुपर्ने उनको बुझाइ हो । फेसनमा आफूलाई अपडेट राख्दा कहिलेकाहीँ उनले गाली पनि खाने गरेकी छन् । ‘गाउँकी सोझी काठमाडौँ छिरेपछि बिग्रिइस्,’ जास्ता गाली उनीमाथि आउँछन् । ‘समय र पेसाअनुसार फेसन त गर्नै पर्छ,’ उनी थप्छिन् । अभिनयका सिलसिलामा धेरैथरीका फेसन गरेपछि उनको मन पर्ने पहिरन पाइन्ट र टिसर्ट हो । उनले लगाउँदै भनिन्, ‘वान पिस र  कुर्थासुरुवालमा पनि राम्री देखिन्छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप