बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
फेसन

एक्लो सङ्घर्षबाट बनेकी फेसन डिजाइनर

‘नेपालका सेलिब्रेटीमा फेसन सेन्स नै छैन’
बुधबार, ०८ कात्तिक २०८०, १९ : ५४
बुधबार, ०८ कात्तिक २०८०

काठमाडौँ । ‘गिनिज वर्ल्ड रेकर्डस्’मा नाम लेखाउने चाहना कसको हुँदैन र ? यो पुस्तकमा नाम भयो भने विश्वमा चिनिन सजिलो पर्छ । त्यसैले पनि मानिसहरू ज्यानको बाजी लगाएर फरक फरक काम गर्दै नाम दर्ता लेखाउँदै आएका छन् । यसमा नाम लेखाउनुको उद्देश्य व्यक्तिगत चर्चा नै हुने गर्छ ।

अनिता खाती क्षेत्रीको उद्देश्य पनि आफ्नो नाम ‘गिनिज वल्र्ड रेकर्डस’ मा लेखाउने छ । उनी यसमा नाम लेखाउन व्यक्ति चर्चाका लागि भन्दा पनि नेपाली पहिरन र कला संस्कृति प्रचारका लागि हो । अनिताको उद्देश्य नेपाली फेसन विश्व बजारमा पु¥याउनेसमेत रहेको छ ।

‘गिनिज वल्र्ड रेकर्डस्’ ३५ भन्दा बढी भाषामा एकसाथ प्रकाशित हुन्छ’, उनले भनिन्, ‘पुस्तकमा नाम भयो भने एकसाथ विश्वमा छाउन सकिन्छ ।’ विश्वमा छाउन सकियो भने नेपाली पहिरन र फेसन सजिलै त्यहाँ पुग्ने उनको धारणा छ ।

anita  (1)

 

‘गिनिज वल्र्ड रेकर्डस’ सफलतासँग समेत उनले मापन गरेकी छन् । ‘समय लाग्ला तर थाक्दिनँ’, उनले भनिन्, ‘म एक दिन त्यो सपना अवश्य पूरा गर्ने छु ।’ फेसन डिजाइनरबाट आफूले नाम लेखाउन सके नेपाली फेसनको पनि विकास हुने र त्यसले आर्थिक विकासमा समेत सहयोग पुग्ने उनको विचार छ ।

अनिता पछिल्लो समयकी चर्चित फेसन डिजाइनर हुन् । यो क्षेत्रमा उनको अलग्गै पहिचान छ । उनको सिग्नेचर स्टायल पनि ‘क्रिएटिभ ह्याट’ हो । उनलाई नेपालको पहिलो क्रिएटिभ ह्याट फेसन डिजाइनर भनेर समेत भन्ने गरिन्छ ।

‘हरेक फेसन डिजाइनरको आआफ्नै सिग्नेचर स्टाइल हुन्छ । कसैको कन्ट्रास कलर खेल्ने, कसैको ह्यान्ड वर्कको डिजानर बनाउने, कसैको क्याजुअल’, अनिताले भनिन्, ‘त्यस्तै मेरो सिग्नेचर स्टायल ‘क्रिएटिभ ह्याट’ हो ।’

क्रिएटिभ ह्याट भनेको टाउकोमा लगाउने ह्याट बनाउनु हो । उनले खेरजाने वस्तुहरू जस्तै– खुकुराको प्वाँख, मयूरको प्वाँख, चाउचाउको खोललगायतबाट बनाउने गर्छिन् । उनले बनाउने क्रिएटिभ ह्याट सामान्य अवस्थामा नभएर फेसन सोमा मात्र प्रयोग हुन्छ । क्रिएटिभ ह्याट फेसनमा केही नौलो गर्ने उद्देश्यले आफूले रोजेको उनले खुलाइन् ।

कतिपय फेसन डिजाइनरको नेपालमा स्कोप र आम्दानी दुवै छैन भन्छन् । आम्दानीको हिसाबले फेसन डिजाइनमा उनले अवसर राम्रो पाएकी छन् । पछिल्लो समय फेसनको डिमान्ड राम्रो भएकाले यसमा नाम, दाम र चर्चा सबथोक भएको उनी बताउँछिन् ।

‘नेपाली फेसनको स्वदेशमा मात्र नभएर, विदेशमा पनि माग बढ्दो छ । विदेश पठाउने फेसनमा कल्चर, संस्कृति मिसाएर पठाउन सके दोहोरो फाइदा लिन सकिन्छ,’ उनी कला संस्कृतिप्रति सचेत देखिन्छिन् ।

387513837_1806542929785158_3669018859174532273_n

नेपालमा फेसन डिजाइनरलाई समाजले हेर्ने दृष्टिकोण दुईथरी छ । ‘एक संस्थाले क्रिएटिभ पाटोका रूपमा लिन्छन्, अर्काे संस्थाले सिलाइबुनाइ भन्छन्,’ उनले भनिन् ।

फेसनमा युवाको चासो 

अनिता विगत एक दशकदेखि फेसन क्षेत्रमा कार्यरत छिन् । ललितपुरको कुपन्डोलमा उनको ‘अनिता डिजाइन’ भन्ने फेसन स्टोर छ । जसमा ब्राइडल, क्याजुअल र फर्मल सबै खालका फेसन सेवा उपलब्ध छन् ।

मानिसको चाहना र इच्छाअनुसार उनी पहिरनका डिजाइनसमेत गर्छिन् । उनले नेपाली फेसन क्षेत्रमा थुप्रै नयाँ र आकर्षक डिजाइन भित्र्याएकी छिन् । पछिल्लो समय फेसनमा उनले नौलो सेवा मोडिफाई सर्भिस पनि सुरु गरेकी छन् । यो सर्भिसमा पुराना डिजाइनका पहिरनलाई नयाँ डिजाइन र रङ्ग दिने हो ।

फेसनमा पनि मोडिफाई सर्भिस ?

‘अहिलेका मानिस एउटा पहिरन एक पटक प्रयोग गरेपछि दोहो¥याएर प्रयोग गर्न गाह्रो मान्छन् । त्यो फाल्न पनि सकिन्न । हामी त्यसलाई मोडिफाई गर्दिएर नयाँ गर्दिन्छौँ र त्यो नयाँको रूपमा फेरि प्रयोग गर्न सकिन्छ,’ उनी भन्दै थिइन्, ‘त्यसका लागि स्लेम चेन्स, कलर ड्राईलगायत विभिन्न उपायमार्फत नयाँ र आकर्षक डिजाइन दिइन्छ ।’ यसका लागि धेरै खर्चसमेत नलाग्ने उनी सुनाउँछिन् । उनले आफ्नो स्टोरमा नयाँ डिजाइन र पुरानो मोडिफाइनका लागि फरक फरक स्टोर बनाएकी छन् । दुवैमा सेवामा समेत मानिसको भीड लाग्ने गरेको छ ।

फेसन सो, सौन्दर्य प्रतियोगितालगायत इभेन्ट आयोजकको रोजाइकी फेसन डिजाइनर पनि हुन् उनी । सोही कारणले उनी बेलाबेलामा मिडियामा पनि छाउने गरेकी छन् । फेसन सो र इन्भेन्टले चर्चा दिलाउनुको अलवा आफ्ना नयाँ क्रिएसन सार्वजनिक गर्न पाइने उनी बताउँछिन् ।

306644421_3385733031659975_1192633037510005179_n

हुन त नेपालमा फेसनको अवस्था सामान्य छ । यस विषयमा बुझाइ पनि राम्रो छैन । बुझाइ नभए पनि सानादेखि वृद्धसम्मको फेसनप्रति रुचि उनले पाएकी छन् । भन्छिन्, ‘कतिपय ६ महिनाका बच्चाको पास्नीमा पनि बजारमा देखिएको, अरूले प्रयोग गरेको भन्दा युनिक डिजाइन खोज्छन् । यो फेसनप्रतिको चार्म नै त हो नि ।’

उनको फेसन स्टोरमा बच्चादेखि वृद्धसम्मको भीड लाग्ने गरेको छ । युवाहरूको रोजाइको फेसन यस्तोभन्दा पनि उनीहरू चेन्स गरिरहन रुचाउने उनले अनुभव गरेकी छन् । पहिले वेस्टर्न फेसनमा सबैको रुचि बढी देखिन्थ्यो । अहिले सबै प्रकारको खोज्ने गरेको उनी उनले पाएकी छन् । भन्छिन्, ‘अहिले त बजारमा सबै प्रकारमा फेसन चल्छन् । त्यो आकर्षक भने हुनुप¥यो ।’

अनि फेसन डिजाइनर

पाल्पा तानसेन कैलाशनगरकी अनिताको सानैदेखि फेसन टीभी र म्यागजिनमा रुचि थियो । सानैदेखि जिल्लामा कसैले नगरेको काम गर्नुपर्छ, फरक व्यक्तित्व बन्नुपर्छ भन्ने सोच पनि । त्यसैले उनले प्लस टु पाल्पामा सकेपछि ब्याचलर फेसन डिजाइनर अध्यायन गर्ने सोच बनाइन् । उनको आमाको इच्छा भने छोरी स्टाफ नर्स बनोस् भन्ने थियो । समाजमा अस्पतालको नोकरी राम्रो जो मानिन्थ्यो । बुवाको भने उनी सरकारी जागिर खाओस् भन्ने थियो । 

त्यसैले जब उनले फेसन डिजाइनर पढ्ने कुरा घरमा राखिन्, घरमा मात्र नभएर पूरै भेगमा फेसन डिजाइनर कसैले नबुझेकाले उनका सुरुमा सहज वातावरण भएन । उनले यस्तो बन्छु भनेर देखाउन, उदाहरण दिन पूरै जिल्लामै केही थिएन ।

घरबाट के हो फेसन ? किन पढ्नु पर्यो ? भनेर प्रश्न गर्थे । ‘यो राम्रो हो । मलाई पढाइदिनुस्, त्यसपछिको यात्रा म तय गर्छु,’ उनले घरमा भनिन् ।

त्यो समयसम्म उनलाई नेपालमा फेसन डिजाइनर पढ्न मिल्छ कि मिल्दैन, कहाँ पढ्न पाइन्छ । त्यस्तो केही थाहा थिएन । जब घरबाट फेसन डिजाइनर अध्यायनका लागि अनुमति पाइन्, त्यो खुसी सुनाउन उनी साथीको घर पुगिन् । त्यही साथीको घरमा उनले काठमाडौँको नमुना कलेज अफ फेसन टेक्नोलोजी विज्ञापन देखिन् । विज्ञापनमा कलेजको सबै डिटेल र फोन नम्बर थियो । उनले फोन गरिन् । कलेज रहेको स्थानदेखि फिससम्म बुझिन् । कलेजबाट उनलाई भिजिटका लागि निम्ता मिल्यो ।

‘जब म पहिलो पटक नमुना फेसन कलेज छिरेँ कलेजको वातावरण देख्दा झनै प्रभावित भए । मैले चाहेको ठाउँ यही हो भन्ने लाग्यो,’ अनिता अगाडि सुनाउँछिन्, ‘अनि कलेज भर्ना भएँ ।’

विसं २०१२ मा उनी कलेज अफ फेसन टेक्नोलोजीमा भर्ना भएकी थिइन् । तीन वर्षमा उनले कोर्स सकाइन् । कलेजको ११औँ ब्याचकी पास आउट विद्यार्थी हुन् उनी । कलेज समयदेखि अहिलेसम्म लगातार फेसनमा डिजाइनमा उनी काम गरिरहेकी छन् । ‘कलेजमा अन्य साथीहरूले के पढे थाहा भएन । मैले त जीवनमा केही गर्नु पर्छ भन्ने सिकेँ’, उनले भनिन्, ‘कहिले घर नछोडेकी म । आफूले छानेको विषयमा पढ्नु मात्र थिएन, स्थापित हुनुपर्ने चुनौती पनि थियो । त्यसैले दिनरात नभनी मिहिनेत गरेँ ।’ 

बुवाआमाले भनेको पढेको भए उहाँहरूका लागि हो भनेर मेहनत त्यति गर्दैन थिएँ होला । फेसन आफ्ना लागि पढेकाले केही गर्नु पर्छ भन्ने भावना मनमा भयो । त्यसैले पनि अहिलेको सफल फेसन डिजाइनर बन्न सकेको उनी बताउँछिन् ।

‘कलेजमा आर्ट, ड्रेस, स्केच पढाइन्थ्यो । त्योभन्दा ठूलो अनुशासन सिकाइन्थ्यो’, उनले कलेजको स्लोगन सुनाइन् ‘कलेजको बोर्डमा फेसन गरौँ, सभ्य’ भन्ने स्लोगन नै थियो । 

anita (1)

फेसन भन्ने बित्तिक्कै मानिसहरू विकृति भन्ने बुझ्छन् । फेसन भनेको पहिरन मात्र नभएर बोल्ने, व्यावहर गर्ने, बस्ने, खाने, हिँड्नेदेखि हरेक कुरा पर्ने उनी सुनाउँछिन् । 

कलेज पास आउट भएपछि केही समय उनले विभिन्न बुटिक, गार्मेन्टमा काम गरिन् । विस्तारै नेपालमा आयोजना हुने विभिन्न इभेन्ट, फेसन सो र सौन्दर्य प्रतियोगितामा फेसन डिजाइनरको जिम्मेवारीसमेत निर्वाह गरिन् ।

फेसन सो र इभेन्टले उनी मिडियामा छाउन थालिन् । मिडियाबाट नाम र चर्चा हुन थाले पनि नयाँ काम पनि हात पर्न थाल्यो । धमाधम काम हात पर्न थालेपछि उनले, ‘अनिता डिजाइन’ भन्ने फेसन स्टोर खोलिन् । जुन अहिले थुप्रैको रोजाइमा पर्न सफल छ ।

सेलिब्रेटीमा छैन फेसन सेन्स

नेपालमा फेसनको मामिलामा सर्वसाधारणभन्दा सेलिब्रेटी अलि अगाडि छन् । त्यसमा पनि पुरुषको तुलनमा महिला अगाडि छन् । सार्वजनिक कार्यक्रममा उनीहरूले लगाउने पहिरनले पनि त्यो देखाउँछ । सेलिब्रेटीले लगाउने पहिरन सर्वधारणका लागि आकर्षणको केन्द्र जो बन्दै आएको छ ।

अनिताले भने नेपालका सेलिब्रेटीमा फेसन सेन्स खासै नभएको बताउँछिन् । सेलिब्रेटीले जे पायो त्यही फेसन प्रयोग गर्ने गरेको उनी बताउँछिन् । सेलिब्रेटीलाई जुन पायो त्यही पहिरन प्रयोग नगर्न र मेन्टेन गर्नसमेत उनी सुझाउँछिन् पनि ।

387544752_860880545251717_5941123401415280402_n

‘हाम्रा सेलिब्रेटी जे पायो त्यही पहिरन लगाउँछन्, कहिलेकाहीँ सुहाए पनि, कतिपय अवस्थामा सुहाएको हुँदैन,’ उनी थप्छिन्, ‘सेलिब्रेटी भनेका हजारौँ, लाखौँको भिडमा छाउने मानिस हो । फेसनलाई अगाडि लैजाने उनीहरूको पनि दायित्व हो । त्यसैले उनीहरूले फेसन डिजानइ गरेरै लगाउनु पर्छ ।’

त्यसो त उनले सेलिब्रेटीका फेसन नगरेको भने होइन । केही सेलिब्रेटीका गरेकी छन् । जसको नाम उनी अहिले उल्लेख गर्न चाहन्नन् । किनभने उनीकहाँ आउने सेलिब्रेटीले हतार गरेर आउने र विदेशी डिजाइनरको नक्कल गर्न लगाउने गर्छन् ।

‘हाम्रा सेलिब्रेटी कस्तो ठाउँमा जाँदा कस्तो पहिरन लगाउने, कस्तोले आफूलाई सुहाउँछ भन्ने विचारै गर्दैनन्,’ उनले अनुभव राखिन्, ‘यस्तो कपी गर्दिनुस् भनेर विदेशी नक्कल ल्याउँछन् । जो उनीहरूलाई सुहाउँदैन ।’ कपी संस्कृतिले सेलिब्रेटीको पहिरन बिग्रने गरेको उनको बुझाइ छ ।

सेलिब्रेटीले आफ्नो शरीर, काम र मौसमअनुसार डिजाइनरसँग सल्लाह गरेर पहिरन बनाउनु पर्छ । त्यसले सेलिब्रेटीको व्यक्तित्व झन् झल्काउँछ । यो चलन नेपालमा उनले बिरलै पाएकी छन् । किनभने डिजाइनरले नयाँ डिजाइन गर्दा रेडिमेटभन्दा महँगो पर्छ र समय पनि लाग्छ । जसका लागि सेलिब्रेटी तयार नहुने उनले पाएकी छन् । उनी भन्छिन्, ‘डिजाइनरका पहिरन केही महँगा होलान् तर राम्रा, फिनिसिङ र युनिक र उनीहरूलाई सुहाउँदो र समयसापेक्ष भने हुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप