आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय
राष्ट्रसङ्घका महासचिवको नेपाल भ्रमण

गुटेरेसको सुरक्षाका लागि बेसक्याम्प पुग्यो सुरक्षा निकाय, कोसेली तयार गर्दै स्थानीय

आइतबार, १२ कात्तिक २०८०, ०९ : ५३
आइतबार, १२ कात्तिक २०८०

पोखरा । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस जलवायु परिवर्तनको असरबारे बुझ्न र प्रत्यक्ष सम्वाद गर्न अन्नपूर्ण आधार शिविर जाँदै छन् । सोमबार पोखरा बास बस्ने उनी मंगलबार बिहान हेलिकोप्टरबाट बेसक्याम्प जानेछन् । उनको सुरक्षा र पूर्व रेकी गर्न सुरक्षा निकाय बेसक्याम्प पुगिसकेको छ । 

स्थानीयले गुटेरेसको स्वागतको भव्य तयारी गरेका छन् । जनप्रतिनिधि लगायत अगुवाहरूको टोली सोमबार दिउँसोसम्म एविसी पुग्ने तयारीमा छन् । केही हिँडिसकेका छन् भने केही जाने तर्खरमा छन् । एविसीमा सबै व्यवस्थापनको जिम्मा छोम्रोङ पर्यटन व्यवसायी समितिलाई दिइएको छ । 

‘व्यवस्थापन गर्नु भनेर औपचारिक जानकारी आएको छ । हामी तयारी गरिरहेका छौँ,’ सचिव दिलीप गुरुङले भने । बेसक्याम्पमा आर्मी र प्रहरीको टोली केही दिनअघि देखि नै पुगिसकेका उनले बताए । ‘सुरक्षा चुस्त बनाइएको छ । अन्तर्राष्ट्रिय भिआइपी आउँदा हामीहरू पनि खुसी छौँ,’ उनले भने, ‘उहाँको स्वागतमा कुनै कमी हुन दिँदैनौँ ।’ 

गुटेरेस केही समय बेसक्याम्पमा रहनेछन् । स्थानीयसँग भलाकुसारी गर्ने कार्यक्रम छ । उनलाई अन्नपूर्ण बेसक्याम्पको फोटो फ्रेममा हालेर कोसेली स्वरूप दिन लागिएको गुरुङले बताए । ‘हामीसँग अरू त के छ र ? यही फोटो पठाउन पाए उहाँले सधैँ सम्झिरहनुहुनेछ भन्ने विश्वास छ,’ गुरुङले भने, ‘अन्नपूर्ण बेसक्याम्पको सबैभन्दा राम्रो मौसमको फोटो धुलाएर फ्रेममा हालेर दिन्छौँ ।’ गुटेरेसलाई स्थानीय खादा र मालाले स्वागत गरिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप