शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

प्रेम सुवालले संसदमा भने– ‘प्यालेस्टाइनको हमासलाई नेपालले आतंकवादी भन्नु हुँदैन’

आइतबार, १२ कात्तिक २०८०, १४ : ४१
आइतबार, १२ कात्तिक २०८०

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका एकमात्र सांसद प्रेम सुवालले प्रतिनिधिसभा बैठकमा प्यालेस्टाइनको हमास समूहलाई नेपालले आतंकवादी भन्न नहुने बताएका छन् ।   आइतबार बसेको प्रतिनिधिसभा बैठकमा विषयवस्तु भन्दा बाहिर प्रवेश गरेर सांसद सुवालले नेपालको शान्ति प्रक्रिया र इजरायल–प्यालेष्टाइनको विषय उठाएका हुन् । 

सभामुख देवराज घिमिरेले भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि विरोध सूचना दर्ता गरेका सुवाललाई त्यसबारे बोल्न समय दिएका थिए । सांसद सुवालले सभामुखले दिएको विषयमा बोलेपछि संयुक्त राष्ट्रसंघका महासचिवको नेपाल भ्रमणको विषय उठाएका थिए । महासचिवले बहुपक्षीय विश्वको पैरवी गरेपनि पश्चिमा साम्राज्यवादले संयुक्त राष्ट्रसंघलाई आफ्नो पिछलग्गु बनाएको बताए । 

उनले दशवर्षे युद्धका क्रमका बलात्कार, हत्या, यातना लगायत अन्तर्राष्ट्रिय कानुन विपरीत घटनाका पीडितहरूलाई सङ्क्रमणकालीन न्यायको नाममा मेलमिलापबाट विवाद टुङ्ग्याउन खोजिए पनि पीडितहरूले नमानिरहेको बताए । 

उनले घरमा बसेका र सडकमा हिँडिरहेको अवस्थाका निःशस्त्र व्यक्तिहरू उज्जनकुमार श्रेष्ठ, नन्दप्रसाद अधिकारी, कृष्णमोहन श्रेष्ठ, रामहरि श्रेष्ठ मारिएको घटना उदाहरण रहेको बताउँदै त्यसबारे पनि महासचिवलाई जानकारी गराउन माग गरे । 

उनले इजरायल र प्यालेष्टाइनको विषय उठाउँदै भने– ‘प्यालेष्टाइनी जनता आफ्नो भूमि र देश रक्षा गर्न ८० वर्षदेखि संघर्ष गर्दैछन् । गएको कार्तिक २० गते इजरायली राष्ट्रपति नेत्यान्याहुले संयुक्त राष्ट्रसंघमा सम्बोधन गर्दै प्यालेष्टाइनी भूमि मेटेर इजरायलको नक्सा देखाएको र प्यालेष्टाइनीहरुलाई जातीय रुपमै समाप्त पारेर उनीहरुको भूमि कब्जा गर्ने भनेकोले यसको विरोध भइरहेको छ । यसबारे बेलायती संसदमा कुरा उठेको छ, लन्डनमा जुलुस निस्केको छ ।’ 

उनले अगाडि भने– ‘इजरायलका एक मन्त्री र सेना प्रमुखले प्यालेष्टानीहरुसँगको लडाईलाई मानव जनावरसँग लडाई भएको आरोप लगाए । यस्ता विषयहरु सबै हामीले महासचिवलाई राख्नुपर्छ । हामीले प्यालेष्टाइनको राजनीतिक समूह हमासलाई आतंककारी भन्नुहुँदैन । यो त साम्राज्यवादीहरुको पिछलग्गु बन्ने शब्द हो । यसकारण सरकार सचेत बन्नुहोला ।’ 

अर्थमन्त्रीको तर्फबाट जवाफ दिन रोष्टममा पुगेका कानुनमन्त्री धनराज गुरुङले सांसद सुवालले असम्बन्धित विषय समेत उठाएको भन्दै त्यसको जवाफ नदिने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप