आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

‘ई–सेवाको मेनेजर हुँ’ भन्दै ठग्ने गिरोहको फोन, गुम्यो १५ लाख

सोमबार, १३ कात्तिक २०८०, १७ : २३
सोमबार, १३ कात्तिक २०८०

काठमाडौँ । ‘ई–सेवाको मेनेजर हुँ’ भन्दै आएको फोन पत्याएर ओटिपी (वान टाइम पासवर्ड) सेयर गर्दा १८ जना ठगिएका छन् । त्यसरी ठग्ने गिरोहलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेर अनुसन्धान थालेको छ । रौतहट घर भएका ५ जना युवाहरू ठगीमा संलग्न देखिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले रातोपाटीलाई बताए ।

१२ कक्षासम्म अध्ययन गरेका र प्रविधिमा जानकार ती पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको गौर नगरपालिका–५ घर भएका २६ वर्षीय नवनितकुमार कुशवाहा, २१ वर्षीय कन्हैयाकुमार कुशवाहा, २० वर्षीय अभयकुमार यादव, २१ वर्षीय रितेश कुशवाहा र गढीमाई नगरपालिका–६ घर भएका २९ वर्षीय दीपेन्द्रकुमार यादव छन् ।

‘ई–सेवाको मेनेजर हुँ’ भन्दै ई–सेवाको वालेट युजरलाई फोन गरेर ‘५० प्रतिशत क्यास ब्याक रकम उपलब्ध गराउँछु’ भनेर आरोपीतहरुले पीडितहरूलाई झुक्यानमा पारेको भेटिएको छ । क्यास ब्याक आउने लोभमा पर्दा १८ जना ई–सेवा युजरले १५ लाख २० हजार ९ सय गुमाएका छन् । त्यसबारे अनुसन्धान गरिरहेका उपत्यका अपराध अनुसन्धान कार्यालयका डिएसपी लीला डाँगी भन्छन्– ‘भक्तपुरमा बस्ने थप १० जनालाई पनि यही समूहले ठगेको भेटिएको छ ।’

क्यास ब्याक गरिदिन्छु भनेर लोभ्याएपछि आरोपितहरूले पासवर्ड रिसेट गरेर पीडितको मोबाइल नम्बरमा आउने ओटिपि (वान टाइम पासवर्ड) माग्ने र त्यसपछि खातामा पहुँच बनाउने गरेको अनुसन्धानबाट थाहा भएको  छ । एसपी रेग्मी भन्छन्–‘ठगीमा संलग्नहरूले वालेटको पासवर्ड चेन्ज गरेपछि अनधिकृत रूपमा ई सेवा र बैङ्क खाताहरूमा पहुँच बनाएर रकम ट्रान्सफर गरेको भेटिएको छ ।’

ई–सेवा युजरले बैंक खातासँग आफ्नो वालेट लिंकअप गराएका हुन्छन् । त्यसरी लिङ्क भएको बैङ्क खाताबाट गिरोहले ठुलो रकम ट्रान्सफर गर्ने गरेका छन् । रौतहटबाट पक्राउ गरेर काठमाडौँ ल्याएर ५ जना आरोपितलाई जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको छ ।

नम्बर पाएपछि अन्दाजमा फोन
रौतहटबाट पक्राउ परेका ५ जना एउटै समूहका हुन् । मोबाइल नम्बर लिएर उनीहरू सबैभन्दा पहिला सो नम्बरले ‘ई–सेवा वालेट’ प्रयोग गरेको छ वा छैन भन्ने पत्ता लगाउँछन् । डिएसपी लीला डाँगी भन्छन्–‘ई–सेवा प्रयोग गरेको यकिन गरेपछि उनीहरुले ई–सेवाको कर्मचारी हुँ भनेर फोन गर्छन् र लोभ्याउँछन् ।’

अपरिचित ई–सेवा युजरहरूलाई उनीहरुले गर्ने प्रश्न हुन्छ– ‘तपाईँ के काम गर्नुहुन्छ, बैङ्क लिङ्क छ कि छैन ?’ पेसा र बैङ्कमा लिङ्क भएको वा नभएकोबारे सूचना लिएपछि उनीहरुले मान्छे अनुसार कुरा गर्छन् । आम्दानी धेरै हुने फिल्डका युजर भएमा धेरै ट्रान्जेन्सन हुने रहेछ ।  ‘५० प्रतिशत क्यास ब्याक रकम उपलब्ध गराउँछु’ भनेर आरोपितहरूले पीडितहरूलाई झुक्यानमा पार्छन् र ओटिपी मागेर ठग्छन् ।

त्यसरी ‘ई–सेवाको मेनेजर वा कर्मचारी हुँ’ भनेर फोन गर्नेलाई आफ्नो ओटिपी सेयर नगर्न प्रहरीले आग्रह गरेको छ । पासवर्ड रिसेट गरेपछि ठगीमा संलग्न गिरोहले तत्काल सामान किनेको पैसा भुक्तानी गर्ने र अन्य खातामा पैसा ट्रान्सफर गर्ने हुनाले पीडितहरू ई–सेवाको आधिकारिक कार्यालय, बैङ्क र प्रहरीलाई त्यसबारे जानकारी गराउन नै भ्याउँदैनन् ।

लगातार ई–सेवाको वालेटमा अनधिकृत पहुँच बनाएर रकम अपचलन हुन थालेपछि ई–सेवाले अहिले ‘क्यास प्वाइन्ट’ बाट रकम सटही गर्न रोक लगाएको छ । यसअघि युजरहरूले ‘क्यास प्वाइन्ट’ मा गएर आफ्नो खातामा भएको रकम नगदमा रूपान्तरण गर्ने व्यवस्था थियो । ठगी गर्ने समूहले नक्कली कागजात प्रयोग गरेर ‘क्यास प्वाइन्ट’बाट समेत रकम निकाल्ने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप