मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

फागुन १ लाई युद्ध दिवसका रूपमा मनाउन पौडेलको चुनौती

बिहीबार, १६ कात्तिक २०८०, १३ : २०
बिहीबार, १६ कात्तिक २०८०

काठमाडौँ । नेकपा एमालेका नेता विष्णु पौडेलले सरकारले फागुन १ लाई उत्सवका रूपमा लिएर जनयुद्ध दिवस मनाउने निर्णय गरे पनि नेपाली जनताले उक्त दिन उत्सव मनाउन नसक्ने बताएका छन् । 

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेता पौडेलले फागुन १ मा हिंसा सुरु भएको दिन भएको भन्दै त्यसलाई नेपाली जनताले उत्सव मनाउन नसक्ने बताए । उनले बरु सरकारलाई फागुन १ गतेलाई युद्ध दिवस मनाउन प्रस्ताव ल्याएर पारित गर्न चुनौती दिए । ‘यदि यो सरकारलाई युद्ध दिवस मनाउनै पर्छ भन्ने लाग्छ भने यो ठिक हो भन्ने लाग्छ भने म सरकारलाई चुनौतीका साथ भन्न सक्छु सरकारले फागुन १ गते युद्ध दिवस मनाउनुपर्छ भन्ने प्रस्ताव सदनमा प्रस्तुत र पारित गर्ने आँट गरोस्’, पौडेलको चुनौती छ । 

उनले सरकारसँग त्यस्तो आँट छ भन्दै प्रश्न गरे ।  ‘उक्त दिन हिंसा आरम्भ भएको दिन थियो । र हिंसाको बाटो गलत हो भन्ने स्वीकार गरेर हिंसा सुरु गर्ने साथीहरू शान्ति प्रक्रियामा आउनुभएको हो’, पौडेलले भने, ‘फागुन १ मा उत्सव मनाएर देशमा लोकतन्त्रको कुनै सबलीकरण हुन सक्दैन ।’ उनले सरकार उक्त निर्णयबाट फिर्ता हुनुको विकल्प पनि नभएको बताए ।

पौडेलले सत्ता पक्षले संवाद, सहमति र सहकार्यका कुरा गरे पनि प्रतिपक्षलाई बोल्न नदिएर र जायज आवाजलाई दमन गरेर सत्तापक्ष र सरकार चलिरहेको आरोप लगाए । ‘यस्तै हो सहमति र सहकार्यको परिभाषा ? जनता र राष्ट्रका पक्षमा उठाएका आवाज सुन्नुपर्ने हुन्छ त्यो साहस हुनुपर्छ सत्तापक्षमा । सत्तापक्षको सुन्दर सहकार्यको देखिन्छ’, पौडेलको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप