बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

पोखरा महानगरले बाहिरको फूल आयात गर्न नदिने

शुक्रबार, १७ कात्तिक २०८०, १६ : ०३
शुक्रबार, १७ कात्तिक २०८०

पोखरा । पोखरा महानगरमा बाहिरका फूल आयातमा रोक लगाइएको छ । महानगरले शुक्रवार सूचना जारी गरी स्थानीय फूल मात्रै बिक्री वितरण र उपभोग गर्न निर्देशन दिएको हो । यसअघि संघको वन तथा वातावरण मन्त्रालयले पनि भारतीय फूल आयातमा रोक लगाएको थियो । 

महानगरले प्लास्टिकजन्य फुलगुच्छाको विक्री वितरणमा पनि पूर्ण रोक लगाएको छ । ‘वातावरण संरक्षण ऐनले प्लास्टिकको फूल गुच्छाको बिक्री वितरण तथा भण्डारणमा पूर्ण निषेध गरेको छ । सङ्घ सरकारले कात्तिक १ देखि आयातित सयपत्री माला बन्द गरेकोले उक्त निर्णय कार्यान्वयन गर्न महानगरले सूचना जारी गरेको हो,’ मेयर धनराज आचार्यले भने । 

उनका अनुसार महानगरले अनुगमनलाई कडाइ गर्नेछ । ‘महानगरपालिकाको स्थानीय उत्पादन प्रवर्द्धन गर्ने नीति अनुसार प्लास्टिकजन्य फूल माला बिक्री, वितरण तथा प्रयोग नगर्न, नगराउनु हुन सम्पूर्ण व्यवसायी, सरकारी, गैर सरकारी सङ्घ संस्था, उपभोक्ता तथा सर्वसाधारणलाई हार्दिक अनुरोध गर्दछौँ,’ सूचनामा भनिएको छ । 

पोखरा भित्रका स्थानीय पुष्प व्यवसायी तथा पोखरा महानगरपालिकाको सहयोगमा १ सय ६५ रोपनी क्षेत्रमा किसानलाई महानगरले सयपत्री फूल खेती प्रवर्द्धन गरेको भन्दै आवश्यक फुलको लागि वडास्तरीय कृषि सञ्जाल, किसान बजार, साझेदार बजार तथा कृषि विकास शाखामा सम्पर्क गर्न महानगरले आग्रह गरेको छ । यो वर्ष महानगर तिहारको फूलमा आत्मनिर्भर रहेको कृषि महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप