बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

सांसदलाई १५ दिनको मात्रै तलब दिए पुग्ने अवस्था देखियोः महामन्त्री शर्मा

आइतबार, १९ कात्तिक २०८०, ११ : ०८
आइतबार, १९ कात्तिक २०८०

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्र्र्रकाश शर्माले संसदको वर्षे अधिवेशनमा सांसदहरुलाई पन्ध्र दिनको मात्रै तलव दिँदा पुग्ने अवस्था देखिएको टिप्पणी गरेका छन् । 

दिन गुजारेको हिसावले करिव ६ महिनाको तलव लिएपनि कामको परिणामको हिसावले १५ दिनको मात्रै तलव दिँदा पुग्ने खालको अवस्था देखिएको उनको भनाइ छ ।  न्युज एजेन्सी नेपालसँगको कुराकानीमा महामन्त्री शर्माले संसदलाई प्रभावकारी बनाउन आफूले पनि सांसदको रुपमा पर्याप्त काम गर्न नसकेको स्वीकार गरे ।

उनले संसदको वर्षे अधिवेशनमा उपलब्धि कम हुनुमा सरकारको अल्छिपना र प्रमुख प्रतिपक्ष एमालेको आवेगपनाले पनि काम गरेको बताए । उनले उपलब्धिका दृष्टिले संसदको वर्षे अधिवेशन कमजोर देखिएपनि अनुभव भने प्रशस्त भएको र त्यसले संसदको आगामी अधिवेशनहरुलाई चाहीँ अझ प्रखर, प्रभावकारी, परिणाममुखि र उपलब्धिमुलक बनाउनुपर्ने आत्माबोध भएको पनि पटकपटक उल्लेख गरे । 

 ‘हामी यो संसदीय परिपाटीलाई व्यवस्थालाई परिमार्जन गर्ने र अवस्थालाई परिवर्तन गर्ने भन्ने मनोविज्ञानमा छौं । त्यसमा दृढ छौं । व्यवस्थालाई परिमार्जन गर्ने सन्दर्भमा पनि परिमार्जित सुसंस्कृत व्यवहारहरु हामीले यस बीचमा प्रस्तुत गरेका छैनौं संसदमा ।  अमुक दललाई, अमुक सरकारलाई भनिराख्ने कुरा भन्दा पनि समग्रतामा भन्दै गर्दाखेरी त्यो ढंगको सन्देश प्रवाह गर्न हामी सफल भएनौं’, उनले भने, ‘कतिपय बेला संसदमा रोष्टमहरु एकले अर्कोलाई खसाल्ने ढंगले प्रयोग गर्‍यौं । कतिपय बेला संसदलाई बहसको थलो, बैचारिकताको थलो बनाउने भन्दा पनि घटना पिच्छे अवरोध गर्ने, संसदलाई चल्नै नदिने  अनि त्यसपछि निर्णयको खोजी गर्ने  यो कर्म गर्‍यौं ।  कामको परिणाम अनुसार यदि पारिश्रमिक दिने हो भने दिन गुजारेको हिसावले २, ४, ६ महिनाको तवल प्राप्त गर्नु एउटा कुरा हो । तर परिणाम देशका सामुन्ने के पस्कियौँ भन्ने कोणबाट चाहीँ छुट्टयाएर तलव दिनुपर्‍यो भने केवल १५ दिनको मात्रै तलव दिँदा पुग्ने खालको अवस्था देखिएको छ ।’ 

महामन्त्री शर्माले नयाँ भनिएका दलहरुको गतिविधिले पनि संसदीय परिपार्टीलाई बलियो बनाउने अवस्था नदेखिएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप