सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
बजार

तिहारलाई बजारमा छैन चिनी, मुख्य सिजनमै अभाव

सोमबार, २० कात्तिक २०८०, १६ : १३
सोमबार, २० कात्तिक २०८०

काठमाडौँ । तिहारलाई फूल र झिलिमिलीसँगै मिठाईको पर्वका रूपमा लिइन्छ । नेपालमा प्रतिवर्ष ३ लाख मेट्रिक टन चिनी खपत हुँदै आएको छ । यसमध्ये ७० प्रतिशत खपत औद्योगिक र ३० प्रतिशत चिनी घरायसी प्रयोजनमा खपत हुन्छ । 

एक साता चल्ने तिहारको समयमा नै १० हजार मेट्रिक टनभन्दा धेरै चिनी खपत हुने अपुष्ट सरकारी तथ्याङ्क छ । तर, आधिकारिक तथ्याङ्क भने सरकारले सङ्कलन गरेको छैन । 

वर्षभरि घरायसी प्रयोजनमा खपत हुने चिनीमध्ये तिहारमा सबैभन्दा धेरै चिनी खपत हुने गरेको छ । किनकि, यो चाडलाई मिठाईको चाड समेत भन्ने गरिन्छ ।

तिहारलाई लक्षित गरेर बजारमा ठुला उद्योग र पसलले मिठाई तयार पार्छन् । यसबाहेक, घरायसी रूपमै उपभोक्ताले सेल लगायतका परिकार तयार गर्ने गर्छन् । 

तर, बजारमा चिनी अभाव देखाउँदै कालोबजारी मूल्यमा बिक्री हुँदा उपभोक्ता नै मारमा परेका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुर तिहार अघि नै भारतबाट २५ हजार मेट्रिक टन चिनी ल्याउने तयारी भइरहेको बताउँछन् ।

तर, सरकारको गति हेर्दा तिहारअघि बजारमा पर्याप्त चिनी आइपुग्ने छाँटकाँट देखिँदैन । मन्त्रालयले भारतीय पक्षलाई पत्र लेख्दै तिहारअघि चिनी पठाउन भने पनि भारतबाट हालसम्म जबाफ आइसकेको छैन । 

‘हामीले २५ हजार मेट्रिक टन चिनी तिहारअघि पठाउन भनिसकेका छौँ,’ प्रवक्ता ठाकुरले भने, ‘तर, उत्तरप्रदेश र विहारका उद्योगबाट पठाएमा मात्रै यस्तो सम्भव छ ।’

अर्थात्, नेपालसँग सिमाना जोडिएका विहार र उत्तर प्रदेशबाहेकका राज्यबाट चिनी पठाउने भारतले निर्णय गरेमा तिहार अघि आइपुग्दैन, जसले यसपटकको तिहार चिनी बिनाको हुने लगभग जस्तै देखिन्छ । यद्यपि, भारतीय पक्षबाट आज÷भोलि नै पत्रको जवाफ दिनेमा मन्त्रालय विश्वस्त छ ।

उद्योगको ३ हजार मेट्रिक टन चिनी बजारमा

भारतबाट तिहारअघि चिनी ल्याउन असफल सरकारले यतिबेला औद्योगिक प्रयोजनको चिनी बजारमा पठाइरहेको छ । तिहारको माग धान्ने गरी चिनीको व्यवस्था गर्न नसकेपनि केही दिनको माग धान्ने गरी ३ हजार मेट्रिक टन चिनी बजारमा पठाएको हो । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको आग्रहमा बोटलर्स नेपाललाई बिक्री भइसकेको चिनी बजारमा धमाधम पठाइरहेको छ ।

प्रवक्ता ठाकुरका अनुसार औद्योगिक प्रयोजनको चिनी साल्ट ट्रेडिङ कर्पोरेशनमार्फत् बजारमा पठाउन सुरु गरिएको छ । उद्योगलाई अवस्था सामान्य बनेपछि दिने सर्तसहित लिइएको चिनी साल्ट ट्रेडिङमार्फत् थोक व्यापारी र सुपरमार्केटमा वितरण गरिनेछ । 

‘हिजोदेखि बजारमा चिनी आउन सुरु भएको छ । अबको केही दिनसम्ममा बजारमा चिनीको सहजता हुन्छ,’ ठाकुरले भने, ‘तर, त्यसपछि फेरि चिनी अभाव उस्तै रहनेछ ।’

खासगरी, सञ्चालनमा रहेका चिनी उद्योगको सङ्ख्या वर्षेनी घट्दै जाँदा बजारमा चिनीको अभाव झेल्नु परेको हो । केही वर्ष अघिसम्म सञ्चालनमा रहेका १४ वटा उद्योगबाट घटेर अहिले ८ वटामा आइपुगेका छन् । यसबाहेक थप एक सख्खर उद्योग सञ्चालनमा छ । 

चिनी उद्योगको सङ्ख्या घट्दै जाँदा बजारमा चिनी अभाव हुनुका साथै परनिर्भरतासमेत बढेको छ भने किसानको सङ्ख्यासमेत ओरालो लागेको छ ।

बजारमा चिनी अभाव बढेसँगै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनलाई तीव्र बनाइरहेको छ । तर, विभागको अनुगमनका बाबजुद बजारमा कालोबजारीको चिनी भेट्टाउन भने सकेको छैन । 

‘चिनी अभाव चुलिएसँगै अनुगमनलाई तीव्रता दिइएको छ,’ विभागका प्रवक्ता आनन्द पोखरेलले भने, ‘तर, यो अनुगमन दसैँ र तिहारलक्षित हो । चिनी खोज्ने गरी विशेष भने होइन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप