सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
वायु प्रदूषण

के भारतमा भइरहेको वायु प्रदूषण नेपाल भित्रिन सक्छ ? के भन्छन् वातावरणविद् ? (भिडियोसहित)

बिहीबार, २३ कात्तिक २०८०

काठमाडौँ । भारतको नयाँ दिल्ली वायु प्रदूषणको चपेटामा परेको छ । यतिबेला संसारका सबैभन्दा प्रदूषित सहरको दोस्रो स्थानमा भारतको दिल्ली रहेको छ । बिहीबार त्यहाँको वायु गुणस्तर सूचकांक (एक्यूआई) २९६ मापन गरिएको छ । यो मात्रा स्वास्थ्यका लागि हानिकारक मानिन्छ । 

हिउँद सिजन सुरु हुन लागेपछि भारतको हरियाणा लगायतका क्षेत्रका खेतमा पराल बाल्ने गर्नाले वायुप्रदूषण बढ्ने गरेको छ । अझ दीपावलीमा भारतमा अत्याधिक मात्रामा पटाका पड्काएका कारण वायुमण्डल अत्यन्तै धुमिल हुने गरेको छ । त्यसको असर नेपालमा पनि पर्ने गरेको छ ।  

यतिबेला काठमाडौँको वायुको गुणस्तर मध्यम खालको रहेको छ । काठमाडौँ वायु प्रदूषण मापन सूचकांकमा प्रदूषित सहरहरुमध्ये २५ औँ स्थानमा रहेको छ । 

अघिल्ला वर्षहरुमा भारतका नयाँ दिल्ली लगायतका क्षेत्रमा प्रदूषण हुँदा नेपालमा पनि त्यसको असर पर्ने गरेको थियो । यो वर्षको अवस्था के छ त ? हामीले यस बारेमा वातावरण विभागका निर्देशक एवं प्रवक्ता शंकरप्रसाद पौडेलसँग कुराकानी गरेका छौँ । 

प्रवक्ता पौडेलले केही दिन अघिसम्म काठमाडौँमा प्रदूषणको मात्रा धेरै रहेपनि बुधवार र बिहीबार भने वायुको गुणस्तरमा सुधार भएको बताए । 

उनले भने–‘वायु प्रदूषण हुने कुरालाई दुई तीनवटा कुराले असर गर्छ । एउटा वायुको बहावको दिशा र अर्को पानी पर्ने स्थिति । अहिले पानी पर्ने सिजन रहेन । हावाको बहावको दिशाले वायुप्रदूषणलाई असर गर्छ । अहिले हावाको बहाव राम्रो छ । एक्यूआई नै हेर्ने हो भने ११०/११५ को हाराहारीमा छ । अहिले काठमाडौँको वातावरण राम्रो नै छ ।’

भारतको पञ्जाव, हरियाणामा कृषिकर्मबाट आउने फोहोरहरु, धानको पराल लगायतका बस्तु जलाउँदा वायु प्रदूषण बढाउने गरेको उनले बताए । नेपालमा हिउँदको समयमा धेरैजसो पश्चिमी वायु चल्ने गरेका कारण दिल्लीको प्रदूषण काठमाडौँसम्म आउन सक्ने तर कहिलेकाहीँ भारतको बाटो नभई फरक दिशाबाट वायुको बहाव हुँदा भने नेपालमा प्रदूषण प्रवेश नगर्ने प्रवक्ता पौडेलले बताए । 

‘सामान्यतया भारतमा प्रदूषणको मात्रा बढ्दै गयो, हाम्रोमा पश्चिमी वायु महेन्द्रनगर आसपासबाट प्रवेश गरेर बहने हो । त्यो हिसाबले हेर्दा दिल्लीमा भएको प्रदूषण आउने बाटो लगभग त्यही नै हो । त्यो वायु यूपीतिर फर्कियो भने हाम्रोमा असर पर्दैन ।’ प्रवक्ता पौडेलले भने, ‘विगतमा दिल्लीमा प्रदूषण भएका बेला धनगढी, महेन्द्रनगरसम्म असर गरेको फेरि हावाको बहाव यूपीतिरै फर्किएको विगतको अनुभवपनि रहेको छ । ३ वर्षअघि हिउँदमा काठमाडौँमा दिउँसै अँध्यारो हुने अवस्था पनि आएको थियो । ठ्याक्कै यही हुन्छ भनेर अहिले नै ठोकुवा गर्न सकिने स्थिति भने छैन ।’

उनले तराईका जिल्लामा खेतमा अन्न निकाले पछिको फोहोर बाल्ने, सहरी क्षेत्रमा पनि फोहोर जलाउने काम गर्न नहुने बताए । त्यसका लागि वातावरण विभागले सचेत गराउँदै आएको बताउँदै पौडेलले नेपालभित्र अनावश्यक कुराहरु जलाउने काम रोक्न स्थानीय निकाय लागिपर्नु पर्नेमा जोड दिए । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया