शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
राजनीति

कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?

बिहीबार, ०७ साउन २०८३, १९ : ४०
बिहीबार, ०७ साउन २०८३

सारांश

  • नेपाली कांग्रेसले बीपी स्मृति दिवसको अवसरमा 'नवीन परिस्थिति, नवीन संकल्प, नवीन अभियान' अन्तर्गत 'एनसी फर एनसी' नामक अभियान घोषणा गरेको छ ।
  • भदौ २४ गते बीपी कोइरालाको जन्मजयन्तीका दिनबाट सुरु हुने यस अभियानले पार्टीलाई समाजको सुखदुःखसँग जोड्ने र नागरिक चेतना अभिवृद्धि गर्ने लक्ष्य राखेको छ ।
  • अभियान अन्तर्गत कार्यकर्ताहरूले सामुदायिक सेवा, नागरिक संवाद, नागरिक शिक्षा, स्थानीय नवप्रवर्तन र सुशासन जस्ता क्षेत्रमा काम गर्नुपर्नेछ ।

काठमाडौँ । नेपाली कांग्रेसले बीपी स्मृति दिवसको अवसर पारेर घोषणा गरेको ‘नवीन परिस्थिति, नवीन संकल्प, नवीन अभियान’लाई केवल राजनीतिक भाषणमा मात्र सीमित नराखी तल्लो तहसम्म पुर्‍याउने योजना सार्वजनिक गरेको छ।

बिहीबार सभापति गगन थापाले सार्वजनिक गरेको ‘एनसी फर एनसी’ अभियान भदौ २४ गते बीपी कोइरालाको जन्मजयन्तीका दिनबाट सुभारम्भ गरिनेछ । 

अभियान सुभारम्भ गरिने दिनसम्मको अवधिमा कांग्रेस नेता तथा कार्यकर्ताहरूले जनतासँग प्रत्यक्ष जोडिने ५ वटा मुख्य क्षेत्र मध्य कुन क्षेत्रमा काम गर्ने हो, त्यो एकिन गर्नुपर्ने सभाप िथापाले अभियान घोषणा गर्नेक्रममा बताए । अभियानको मुख्य उद्देश्य पार्टीलाई समाजको सुख(दुःखसँग जोड्नु र नागरिक चेतना अभिवृद्धि गर्नु रहेको थापाको भनाइ छ । 

थापाका अनुसार अभियानको पहिलो उद्धेश्य सामुदायिक सेवा गर्नु हो । यसमा कांग्रेस कार्यकर्ताहरूले समाजमा प्रत्यक्ष देखिने गरी रक्तदान कार्यक्रम र वृक्षारोपण, वातावरणीय सरसफाइ र स्वास्थ्य शिविर सञ्चालन, स्थानीय विद्यालय वा सार्वजनिक पूर्वाधार सुधारमा श्रमदान र सहयोग र विपद् पूर्वतयारीका लागि समुदायलाई सचेत गराउने काम गर्नुपर्छ । 

दोस्रोमा नागरिक संवाद गर्नुपर्ने थापाले बताए । यसमा पार्टीले समाजका विभिन्न वर्गसँग छलफल गर्नुपर्नेछ । युवा, महिला र किसानहरूसँग उनीहरूका समस्या र अपेक्षाबारे, पेसागत समूहहरूसँग गोलमेच बैठक गर्ने थापालेृ बताए । संवादबाट आएका निष्कर्ष र सिफारिसहरूलाई अभिलेखीकरण गरी सरकार र पार्टीलाई सुझाव दिने थापाको भनाइ थियो । 

तेस्रो नागरिक शिक्षा र नेतृत्वका विषयमा काम गरिने थापाले बताए । नागरिकहरूलाई आफ्ना अधिकार र कर्तव्यबारे सचेत गराउन संवैधानिक साक्षरता अभियान चलाउने, नयाँ पुस्ताका नेताहरूका लागि मार्गदर्शन गर्ने, अध्ययन वृत्त र सार्वजनिक प्रवचनहरू आयोजना गर्ने कार्यक्रम गरिने थापाले बताए । 

चौँथोमा स्थानीय नवप्रवर्तन र समस्या समाधानको विषयमा काम गरिने थापाले उदघोष गरे । स्थानीय स्तरमा रहेका विशिष्ट समस्याहरू पहिचान गरी तिनको समाधान खोज्न कार्यकर्ताहरूलाई विद्यार्थी वा युवाहरूको उद्यमशीलता र नयाँ सोचलाई मार्गदर्शन गर्ने, सामुदायिक पुस्तकालय स्थापना वा भएका पुस्तकालयलाई सहयोग गर्ने, सार्वजनिक स्थलहरूको सुधार र व्यवस्थापनमा सिर्जनशील काम गर्नुपर्ने थापाको भनाइ छ । र अन्तिम बुँदामा नागरिक सहजीकरण र सुशासनका पक्षमा काम गर्नुपर्ने थापाले बताए ।

यसमा सरकारी सेवा प्राप्त गर्न सर्वसाधारणलाई सास्ती भइरहेको अवस्थामा कांग्रेसले सहजीकरणको भूमिका खेल्ने योजना पार्टीले बताएको थापाले बताए ।

ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूलाई सरकारी सेवा लिन सहयोग गर्ने, स्थानीय सरकारले गर्ने कामको अनुगमन गर्ने र नागरिकका आवश्यकतालाई सरकारसम्म पुर्‍याउने, स्थानीय स्तरमा सञ्चालित सार्वजनिक आयोजनाहरूको कार्यान्वयनको अवस्थाबारे वाचडगको रूपमा अनुगमन गर्ने थापाको भनाइ थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप