आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

बागमतीमा चाडपर्वको अवधिमा प्रहरीमा १८७ वटा उजुरी दर्ता

शुक्रबार, २४ कात्तिक २०८०, १९ : २१
शुक्रबार, २४ कात्तिक २०८०

हेटौंडा । बागमती प्रदेशमा चाडपर्वको अवधिमा १८७ वटा उजुरी दर्ता भएका छन् । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार गत असोज २८ गतेदेखि लागू भएको चाडपर्व सुरक्षा योजना अन्तर्गत १८७ वटा घटनामा १२५ जना मानिस पक्राउ परेका छन् ।

प्रदेशका १० जिल्ला क्षेत्राधिकार रहेको उक्त कार्यालयले अपराध अनुसन्धान तथा कारवाहीतर्फ १८७ वटा कसुर दर्ता गरी १२५ जना पक्राउ गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दीपक रेग्मीले जानकारी दिए । उनका अनुसार जिल्ला प्रहरी कार्यालय चितवन, मकवानपुर, काभ्रेबाट जुवा खेलको कसुरमा २५ जना पक्राउ गरिएको हो । उक्त घटनाहरुमा संलग्न भएकाहरुको साथबाट ७ लाख ३४ हजार १०० रुपैयाँ बरामद गरिएको प्रवक्ता रेग्मीले बताए । उनीहरुमाथि कानुन बमोजिम अनुसन्धान तथा कारबाही भइरहेको प्रवक्ता रेग्मीको भनाई छ ।

त्यस्तै चाडपर्वको अवधिमा बागमती प्रदेशको १० जिल्लामा हालसम्म १०८ वटा सवारी दुर्घटनाका घनाहरु भएको उनले बताए । उक्त १०८ वटा घटनामा १९ जनाको मृत्यु भएको छ भने २८१ जना घाइते भएका उनले बताए । उक्त दुर्घटनामा संलग्न भएका ११ हजार ९७५ वटा सवारीहरुलाई कारबाही बापत ९४ लाख ८९ हजार रुपैयाँ संकलन भएको प्रवक्ता रेग्मीले बताए ।

चाडपर्व लक्षित सुरक्षा योजना अन्तर्गत यात्रा सहायतातर्फ विभिन्न जिल्लामा ५९ वटा यात्रु सहायता कक्ष स्थापना गरी सेवा प्रदान गरिएको र सो कक्षबाट गुनासो तथा चेकजाँचको क्रममा बढी भाडा लिने सवारी साधन ५५ वटालाई कारबाही गरिएको उनले बताए । उक्त सवारीहरुबाट ४३४ जना यात्रुहरुलाई बढी भाडा लिएको १ लाख ६ हजार ७२० रुपैयाँ फिर्ता गरिएको उनले बताए ।

उनका अनुसार अवैध भन्सार चोरी, छली नियन्त्रणतर्फ जिल्ला प्रहरी कार्यालय मकवानपुर, नुवाकोट, काभ्रे र सिन्धुलीमा खटिएको चेकिङ टोलीले अवैध रूपमा ओसार पसार गर्दै गरेको ११ हजार ५५० किलो चिनी बरामद गरेको छ । सो टोलीले १ लाख १८ हजार ९२० रुपैयाँको कपडा (कुर्ता, सलवार, साडी आदी) बरामद गरी आवश्यक कारबाहीको लागी सम्बन्धित कार्यालयमा पठाइएको उनको भनाई छ ।

मकवानपुर, चितवन र सिन्धुलीका विभिन्न चेक पोईन्टहरुबाट ४५२ प्याकेट, ४४ पोका र ५ बोरा पटका, आतिसबाजी जस्ता पदार्थ बरामद गरिएको उनले बताए ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप