सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

‘तिहारमा नागरिकका लागि सुरक्षा व्यवस्था मजबुत बनाएका छौँ’

आइतबार, २६ कात्तिक २०८०, १४ : २७
आइतबार, २६ कात्तिक २०८०

काठमाडौँ । तिहारमा नागरिकको सुरक्षाको लागि सुरक्षा व्यवस्था मजबुत बनाएको काठमाडौँ प्रहरीले बताएको छ ।  

दसैँमा बनाएको सुरक्षा योजनालाई निरन्तरता दिने र जहाँ सुरक्षा जोखिम, चोरी लुटपाट जस्ता घटनाहरु हुन्छन् त्यस्ता ठाउँहरुलाई मध्येनजर गरेर विशेष सुरक्षा प्रबन्ध मिलाएको काठमाडौँ प्रहरीले जनाएको हो । 

आइतबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै काठमाडौँ प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भुपेन्द्रबहादुर खत्रीले तिहारमा सुरक्षित,व्यवस्थित र मर्यादित ढङ्गले देउसी भैलो खेली तिहार मनाउन आग्रह गरे । उनले जथाभाबी पटाका पड्काउँदा आगलागी हुने जस्ता घटना हुनसक्ने भन्दै त्यस्तो नगर्न पर्ने आग्रह गरे । उनले लक्ष्मी पूजाका दिन बहुमूल्य गरगहना प्रदर्शन नगर्न समेत अनुरोध गरे । उनले सुरक्षा प्रबन्ध गर्ने प्रहरीको मात्रै जिम्मेवारी नभएर आम नागरिकको पनि भएको भन्दै प्रहरी २४ घण्टा नागरिकको सुरक्षाको लागि खटिरहेको बताए । 

एसएसपी खत्रीले सुरक्षा प्रबन्ध मजबुत बनाउन कुनै कसर बाँकी नराखेको बताए । उनले काठमाडौँमा आफ्नो संस्कृति अनुसार खेल्ने देउसी भैलो खेल्नको लागि कुनै सीमित समय नतोकिएको बताए । उनले प्रहरी र सुरक्षा समितिले काठमाडौँमा २४ घण्टा सौहार्दपूर्ण वातावरणमा देउसी भैलो खेल्न खुला गरेको भन्दै कसैले समय तोकी अवरोध गरे प्रहरीलाई खबर गर्न आग्रह गरे । उनले प्रहरी २४ घण्टा सुरक्षा दिन तयार रहेको बताए ।

महानगरका प्रमुख बालेन्द्र साहले १ बजेसम्म देउसी भैलो खेल्न सुरक्षा व्यवस्था गरिएको भन्ने भनाइप्रति लक्षित गर्दै काठमाडौं प्रहरी प्रमुख खत्रीले राती १ बजेसम्म देउसी भैलो खेल्न सुरक्षा प्रबन्ध महानगरपालिकाले गरेको भने पनि कानूनको शासन हुने देशमा कानून कार्यान्वयन गर्ने निकाय नेपाल प्रहरी भएको बताए । उनले नागरिकहरुले कुनै उश्रृंखल क्रियाकलाप नगरी सौहार्दपूर्ण रुपमा खेल्न आवश्यक रहेको बताए ।

एसएसपी खत्रीले विशेष सुरक्षा योजना बनाएर रातिसम्म दैसीभैलो खेल्दा भिडभाड हुने र झगडा हुनसक्ने क्षेत्रमा प्रहरीहरुको बढी नै परिचालन गरिने बताए । उनले भीडभाड र आर्थिक गतिविध हुनु क्षेत्रमा ड्रोनको प्रयोग गरेर कुनै घटना वा दुर्घटना नहुने गरी सुरक्षा व्यवस्था मिलाएको बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप