भृकुटीमण्डपमा किसानको गुनासो : यो माला अब बालेनलाई लगाइदिने कि पकाएर खाने ? (भिडियो)
काठमाडौँ । माला बिक्री भएन बाबु । किन्ने मान्छे कोही छैनन् । सबै बेच्ने मात्रै छन् । खाना खाएको पनि छैन । के गर्ने हो अब ? आइतबार मध्यान्ह १२ बजे भृकुटीमण्डपमा धादिङ गजुरीकी पूर्णमाया बसेल छोरासँग फोनमा कुरा गर्दै थिइन् ।
गएराति नै १ सयवटा सयपत्री माला लिएर काठमाडौँमा बिक्रीका आएकी बसेल कालीमाटीमा माला बिक्री गर्ने तरखरमा थिइन् । तर काठमाडौँ महानगर प्रहरीले उनलाई त्यहाँ बिक्री गर्न दिएन । नगर प्रहरीले उनलाई भृकुटीमण्डप जानुपर्ने बतायो ।
महानगरपालिकाले सडकमा माला बेच्न रोक लगाएपछि उनी भृकुटीमण्डप आइपुगेकी थिइन् । फोनमा उनका छोराले माला बिक्री भए नभएको सोधिरहेका थिए । तिहार खर्च माला बिक्रीबाट चलाउने सपना बोकेर उनले ४ जना मान्छे लगाएर माला बनाएकी थिइन् । तर काठमाडौँमा माला बिक्री नभएपछि एकातिर उनको खर्च र दुःख खेर गएको छ भने अर्कोतिर तिहार खल्लो हुने भएको छ ।
_Ozb7I8S45p.jpg)
दोलखादेखि १० बोरा सयपत्री फूलको माला लिएर आएकी राधिका थापा माला बिक्री नभएपछि तनावमा थिइन् । आफ्नो बारीको र ८० हजारमा अरू किसानको समेत फूल खरिद गरेर काठमाडौँ आएकी उनी के गर्ने भन्ने चिन्तामा थिइन् । थापाले भनिन्– ‘दुई तीन सय पर्ने माला ५० रुपैयाँमा बेच्छु भन्दा पनि ग्राहक पाएको छैन । यो ठाउँमा महानगरले हामीलाई माला बेच्न राखेको भनेर कसैलाई पनि थाहा छैन । कम्तीमा दश–पन्ध्र दिन अघि भनिदिएको भए सबै मान्छे यहाँ आइपुग्थे होला ।’
उनले गुनासो गर्दै भनिन्–‘अब बिक्री भएन भने फ्याँकिदिने । भात पकाएर खान भएन, तरकारी पकाएर खान भएन । गर्ने के अब यो मालाको ? कि बालेन सरकारलाई लाइदिने ? एक जनाको हैन हजार जनाको यस्तो अवस्था छ यहाँ ।’ बस्ती, बजार नभएको ठाउँमा महानगरपालिकाले व्यापारीलाई थुपारेका कारण ग्राहक पाउन नसकेको उनको गुनासो थियो ।
_IVOM8mvxPW.jpg)
अघिल्लो वर्ष उनले बागबजारमा २ लाख रुपैयाँ बराबरको माला बेचेकी थिइन् । बजार बस्ती छेउ नभएका कारण पनि ग्राहक नभएको उनले बताइन् । काठमाडौँ आसपासका सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट, धादिङ, दोलखादेखि मात्र नभई उदयपुरदेखि समेत माला बिक्रीका लागि किसानहरू काठमाडौँ आइपुगेका छन् । तर उनीहरुले अघिल्लो वर्षजस्तो बजार, बाक्लो बस्ती भएको क्षेत्रमा घुमफिर गरेर माला बेच्न नपाएको गुनासो गरेका छन् । तिहारको बेला महानगरले बाहिर जिल्लाबाट आएका किसानलाई एक दिन जुनसुकै ठाउँमा गएर माला बिक्री गर्न दिनुपर्ने बताए ।
सिन्धुलीबाट माला बेच्न काठमाडौँ आएका रमेशकुमार रम्तेलले सयपत्री फूलको मालाका लागि फूल खरिदका लागि एक लाख रुपैयाँ लगानी गरेका छन् । शनिवार काठमाडौँ आएर बालाजु माछा पोखरीमा माला बेच्न रातभरि बसे । बिहानै उनलाई महानगरपालिकाले भृकुटीमण्डप जान भन्यो ।
उनले घामले फूल सुक्न लागेको बताउँदै महानगरपालिकाले ग्राहक आउने ठाउँमा व्यापार गर्न नदिएर मारमा पारेको बताए । उनले भने– ‘सबैले बालेन सरकार भन्छन् तर गरिबका लागि तर गरिबका लागि बालेन सरकार हामीले देखेनौँ । ग्राहक कोही छैनन् । ग्राहक नै नआउने ठाउँमा ल्याएपछि कसरी माला बिक्री हुनु । हामीलाई कालीमाटी, बालाजु माछा पोखरीमा बेच्न दिएको भए त्यहाँ मान्छे आउँथे ।’
_X6AY29piCX.jpg)
उता उदयपुर कटहरेबाट माला बिक्रीका लागि एउटा मिनी ट्रक रिजर्भ गरेर काठमाडौँ आएका सागर रास्कोटी पनि माला बिक्री नभएकोमा तनावमा थिए । उनले २२ हजार भाडा तिरेर १६ सयवटा सयपत्री फूलको माला बिक्रीका लागि ल्याएका छन् । आफ्नो उत्पादन तथा अरू स्थानीय कृषकसँग माला खरिद गएर काठमाडौँ आएका उनी बिक्री नभएमा फ्याँकेर जानुपर्ने हो कि भन्ने चिन्तामा थिए ।
उनले भने– ‘ग्राहक देखिएका छैनन्, अरूले घर घरमा पनि माला पुर्याइरहेका छन् । एउटा मालाको सय रुपैयाँमा बेच्ने भनेको तर बिकेको छैन । सय रुपैयाँमा बिक्यो भने पनि गाडी भाडा र अरूलाई तिर्न पनि नपुग्ने हुन्छ ।’
काभ्रेबाट सयपत्रीको माला बेच्न भृकुटीमण्डप आइपुगेका काजी गौतमले पनि उस्तै पीडा सुनाए । उनले नउनेको सयपत्री फूल र ३ सय माला लिएका आएका थिए । आइतबार ४ हजार गाडी भाडा तिरेर माला ल्याएका उनले शनिवार दिउँसोसम्म ११ सय रुपैयाँको माला बिक्री गरेका थिए ।
फूल बिक्री हुने आशा मारेर बसेका गौतमले महानगरपालिकाको फितलो व्यवस्थापनका कारण किसानले दुःख पाएको उनले बताए । अघिल्लो वर्ष न्यूरोडमा बसेर माला बिक्री गरेका उनले ल्याएको सबै माला सकेर घर फर्किएका थिए । तर यो वर्ष माला फ्याँक्नुपर्ने अवस्था भएको भन्दै चिन्तामा थिए ।
_Z4zqnrNxQ5.jpg)
धादिङ, गजुरीबाट सयपत्री फूलको माला बिक्रीका आएका राजु रसाइलीको पनि पीडा उस्तै थियो । उनले २ सय ५० वटा माला बिक्रीका लागि ल्याएका थिए । कालीमाटीमा माला व्यापार गर्न बसेका उनलाई नगर प्रहरीले भृकुटीमण्डप ल्याइदिएको थियो । उनले ५० ओटा मात्र बिक्री गर्न सकेको बताए । आफ्नै २ रोपनी बारीमा फूल लगाएका उनले हरेक वर्ष माला बिक्री गर्ने गर्छन् । अघिल्ला वर्षहरूमा कालीमाटीमा राम्रो व्यापार हुने गरे पनि यो पटक महानगरपालिकाले भृकुटीमण्डप ल्याएका कारण ग्राहक नपाएको उनले बताए । उनले अघिल्लो वर्षको भाउमा बिक्री हुने हो भने ३० हजार मूल्यको माला आफूसँग रहेको बताए ।
राजुले भने– ‘यहाँ मान्छेहरूको चहलपहल छैन । महानगरपालिकाले सर्वसाधारण किसानलाई मारमा पारेको भान भइरहेको छ हामीलाई । अघिल्लो वर्ष ५ सय रुपैयाँमा बिक्री भएको माला यो वर्ष २ सयमा लैजाऊ भन्न पनि ग्राहक छैनन् । कालीमाटी जस्तो मान्छेको चहलपहल हुने ठाउँमा बेच्न नदिएर यहाँ ल्याएको छ । फूल लिन भनेर यहाँ कोही मान्छे आएका छैनन् ।’
_E5vtVmp8uT.jpg)
शनिवार काठमाडौँ महानगरपालिका प्रमुख बालेन शाहले काठमाडौँका ४ स्थानमा नेपाली फूल व्यवसायीलाई फूलमाला बिक्री स्थान तोकेको बताएका थिए । काठमाडौँको बालाजु, तीनकुने, हाँडीगाउ र भृकुटीमण्डपमा मात्र फूलको माला बिक्री गर्न पाइने भनेपछि माला बेच्न काठमाडौँ आएका फूल व्यवसायी भृकुटीमण्डप पुगेका थिए । कतिपय माला व्यापारीलाई नगर प्रहरीले सडकबाट उठाएर भृकुटीमण्डपमा ल्याएर राखेका थिए । ग्राहकको चहलपहल नहुने स्थानमा बिक्री स्थल राखेका कारण यो वर्ष दुःख पाउनुपरेको फूल उत्पादक किसान र बिक्रेताहरूले गुनासो गरेका छन् ।
हेर्नुहोस् भिडियो-
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण