सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
तिहार

भृकुटीमण्डपमा किसानको गुनासो : यो माला अब बालेनलाई लगाइदिने कि पकाएर खाने ? (भिडियो)

महानगरपालिका बजार व्यवस्थापनमा चुकेको पुष्प व्यवसायीको गुनासो
आइतबार, २६ कात्तिक २०८०, १६ : ३३
आइतबार, २६ कात्तिक २०८०

काठमाडौँ । माला बिक्री भएन बाबु । किन्ने मान्छे कोही छैनन् । सबै बेच्ने मात्रै छन् । खाना खाएको पनि छैन । के गर्ने हो अब ? आइतबार मध्यान्ह १२ बजे भृकुटीमण्डपमा धादिङ गजुरीकी पूर्णमाया बसेल छोरासँग फोनमा कुरा गर्दै थिइन् । 

गएराति नै १ सयवटा सयपत्री माला लिएर काठमाडौँमा बिक्रीका आएकी बसेल कालीमाटीमा माला बिक्री गर्ने तरखरमा थिइन् । तर काठमाडौँ महानगर प्रहरीले उनलाई त्यहाँ बिक्री गर्न दिएन । नगर प्रहरीले उनलाई भृकुटीमण्डप जानुपर्ने बतायो । 

महानगरपालिकाले सडकमा माला बेच्न रोक लगाएपछि उनी भृकुटीमण्डप आइपुगेकी थिइन् । फोनमा उनका छोराले माला बिक्री भए नभएको सोधिरहेका थिए ।  तिहार खर्च माला बिक्रीबाट चलाउने सपना बोकेर उनले ४ जना मान्छे लगाएर माला बनाएकी थिइन् । तर काठमाडौँमा माला बिक्री नभएपछि एकातिर उनको खर्च र दुःख खेर गएको छ भने अर्कोतिर तिहार खल्लो हुने भएको छ । 

दोलखादेखि १० बोरा सयपत्री फूलको माला लिएर आएकी राधिका थापा माला बिक्री नभएपछि तनावमा थिइन् । आफ्नो बारीको र ८० हजारमा  अरू किसानको समेत फूल खरिद गरेर काठमाडौँ आएकी उनी के गर्ने भन्ने चिन्तामा थिइन् । थापाले भनिन्– ‘दुई तीन सय पर्ने माला ५० रुपैयाँमा बेच्छु भन्दा पनि ग्राहक पाएको छैन । यो ठाउँमा महानगरले हामीलाई माला बेच्न राखेको भनेर कसैलाई पनि थाहा छैन । कम्तीमा दश–पन्ध्र दिन अघि भनिदिएको भए सबै मान्छे यहाँ आइपुग्थे होला ।’

उनले गुनासो गर्दै भनिन्–‘अब बिक्री भएन भने फ्याँकिदिने । भात पकाएर खान भएन, तरकारी पकाएर खान भएन । गर्ने के अब यो मालाको ? कि बालेन सरकारलाई लाइदिने ? एक जनाको हैन हजार जनाको यस्तो अवस्था छ यहाँ ।’ बस्ती, बजार नभएको ठाउँमा महानगरपालिकाले व्यापारीलाई थुपारेका कारण ग्राहक पाउन नसकेको उनको गुनासो थियो । 

flower-byapari (2)

अघिल्लो वर्ष उनले बागबजारमा २ लाख रुपैयाँ बराबरको माला बेचेकी थिइन् । बजार बस्ती छेउ नभएका कारण पनि ग्राहक नभएको उनले बताइन् ।  काठमाडौँ आसपासका सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट, धादिङ, दोलखादेखि मात्र नभई उदयपुरदेखि समेत माला बिक्रीका लागि किसानहरू काठमाडौँ आइपुगेका छन् । तर उनीहरुले अघिल्लो वर्षजस्तो बजार, बाक्लो बस्ती भएको क्षेत्रमा घुमफिर गरेर माला बेच्न नपाएको गुनासो गरेका छन् । तिहारको बेला महानगरले बाहिर जिल्लाबाट आएका किसानलाई एक दिन जुनसुकै ठाउँमा गएर माला बिक्री गर्न दिनुपर्ने बताए । 

सिन्धुलीबाट माला बेच्न काठमाडौँ आएका रमेशकुमार रम्तेलले सयपत्री फूलको मालाका लागि फूल खरिदका लागि एक लाख रुपैयाँ लगानी गरेका छन् । शनिवार काठमाडौँ आएर बालाजु माछा पोखरीमा माला बेच्न रातभरि बसे । बिहानै उनलाई महानगरपालिकाले भृकुटीमण्डप जान भन्यो । 

उनले घामले फूल सुक्न लागेको बताउँदै महानगरपालिकाले ग्राहक आउने ठाउँमा व्यापार गर्न नदिएर मारमा पारेको बताए ।  उनले भने– ‘सबैले बालेन सरकार भन्छन् तर गरिबका लागि तर गरिबका लागि बालेन सरकार हामीले देखेनौँ । ग्राहक कोही छैनन् । ग्राहक नै नआउने ठाउँमा ल्याएपछि कसरी माला बिक्री हुनु । हामीलाई कालीमाटी, बालाजु माछा पोखरीमा बेच्न दिएको भए त्यहाँ मान्छे आउँथे ।’ 

उता उदयपुर कटहरेबाट माला बिक्रीका लागि एउटा मिनी ट्रक रिजर्भ गरेर काठमाडौँ आएका सागर रास्कोटी पनि माला बिक्री नभएकोमा तनावमा थिए । उनले २२ हजार भाडा तिरेर १६ सयवटा सयपत्री फूलको माला बिक्रीका लागि ल्याएका छन् । आफ्नो उत्पादन तथा अरू स्थानीय कृषकसँग माला खरिद गएर काठमाडौँ आएका उनी बिक्री नभएमा फ्याँकेर जानुपर्ने हो कि भन्ने चिन्तामा थिए । 

उनले भने– ‘ग्राहक देखिएका छैनन्, अरूले घर घरमा पनि माला पुर्‍याइरहेका छन् । एउटा मालाको सय रुपैयाँमा बेच्ने भनेको तर बिकेको छैन । सय रुपैयाँमा बिक्यो भने पनि गाडी भाडा र अरूलाई तिर्न पनि नपुग्ने हुन्छ ।’

काभ्रेबाट सयपत्रीको माला बेच्न भृकुटीमण्डप आइपुगेका काजी गौतमले पनि उस्तै पीडा सुनाए ।  उनले नउनेको सयपत्री फूल र ३ सय माला लिएका आएका थिए । आइतबार ४ हजार गाडी भाडा तिरेर माला ल्याएका उनले शनिवार दिउँसोसम्म ११ सय रुपैयाँको माला बिक्री गरेका थिए । 

फूल बिक्री हुने आशा मारेर बसेका गौतमले महानगरपालिकाको फितलो व्यवस्थापनका कारण किसानले दुःख पाएको उनले बताए । अघिल्लो वर्ष न्यूरोडमा बसेर माला बिक्री गरेका उनले ल्याएको सबै माला सकेर घर फर्किएका थिए । तर यो वर्ष माला फ्याँक्नुपर्ने अवस्था भएको भन्दै चिन्तामा थिए । 

flower-byapari (5)

धादिङ, गजुरीबाट सयपत्री फूलको माला बिक्रीका आएका राजु रसाइलीको पनि पीडा उस्तै थियो । उनले २ सय ५० वटा माला बिक्रीका लागि ल्याएका थिए । कालीमाटीमा माला व्यापार गर्न बसेका उनलाई नगर प्रहरीले भृकुटीमण्डप ल्याइदिएको थियो । उनले ५० ओटा मात्र बिक्री गर्न सकेको बताए । आफ्नै २ रोपनी बारीमा फूल लगाएका उनले हरेक वर्ष माला बिक्री गर्ने गर्छन् । अघिल्ला वर्षहरूमा कालीमाटीमा राम्रो व्यापार हुने गरे पनि यो पटक महानगरपालिकाले भृकुटीमण्डप ल्याएका कारण ग्राहक नपाएको उनले बताए । उनले अघिल्लो वर्षको भाउमा बिक्री हुने हो भने ३० हजार मूल्यको माला आफूसँग रहेको बताए । 

राजुले भने– ‘यहाँ मान्छेहरूको चहलपहल छैन । महानगरपालिकाले सर्वसाधारण किसानलाई मारमा पारेको भान भइरहेको छ हामीलाई । अघिल्लो वर्ष ५ सय रुपैयाँमा बिक्री भएको माला यो वर्ष २ सयमा लैजाऊ भन्न पनि ग्राहक छैनन् । कालीमाटी जस्तो मान्छेको चहलपहल हुने ठाउँमा बेच्न नदिएर यहाँ ल्याएको छ । फूल लिन भनेर यहाँ कोही मान्छे आएका छैनन् ।’

flower-byapari (7)

शनिवार काठमाडौँ महानगरपालिका प्रमुख बालेन शाहले काठमाडौँका ४ स्थानमा नेपाली फूल व्यवसायीलाई फूलमाला बिक्री स्थान तोकेको बताएका थिए । काठमाडौँको बालाजु, तीनकुने, हाँडीगाउ र भृकुटीमण्डपमा मात्र फूलको माला बिक्री गर्न पाइने भनेपछि माला बेच्न काठमाडौँ आएका फूल व्यवसायी भृकुटीमण्डप पुगेका थिए । कतिपय माला व्यापारीलाई नगर प्रहरीले सडकबाट उठाएर भृकुटीमण्डपमा ल्याएर राखेका थिए । ग्राहकको चहलपहल नहुने स्थानमा बिक्री स्थल राखेका कारण यो वर्ष दुःख पाउनुपरेको फूल उत्पादक किसान र बिक्रेताहरूले गुनासो गरेका छन् । 

हेर्नुहोस् भिडियो- 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप