शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

सार्वजनिक जग्गाबाट माटो चोरी, जनप्रतिनिधि मुछिए

आइतबार, ०३ मङ्सिर २०८०, १६ : ११
आइतबार, ०३ मङ्सिर २०८०

बारा । बाराको जीतपुरसिमरा उपमहानगरमा सार्वजनिक जग्गाबाट माटो चोरी भएको छ । सो माटो चारीमा जनप्रतिनिधि समेत मुछिएका छन् ।  

उपमहानगरपालिका–११ वडा कार्यालयको सिफारिसमा निजी भोगचलनको जग्गाबाट एक सय टिपर माटो उत्खनन् गर्ने सिफारिस गरिएको थियो । तर सार्वजनिक जग्गाबाट एक हजार टिपरभन्दा बढी माटो अवैध ढंगले चोरी भएको पाइएको हो । 

वडाध्यक्ष विन्दालाल साहको सिफारिसमा वडासदस्य सुरेश प्रसाद यादवको एक्साभेटर, वडा नं ६ का वडाध्यक्ष कैमुदिन अन्सारीको टिपर र वडा नं ७ का वडाध्यक्ष सुनिल गुप्ताको जेसिभी प्रयोग भएको उपमहानगरले जनाएको छ । 

वडा नं ११ का वडाध्यक्ष विन्दालाल साहले माटो उत्खनन् कार्यमा व्यवसायी सुनिल गुप्ता मुख्य ठेकदार रहेको बताए ।  

‘मैले ३५ नम्बर कित्ताको जग्गाबाट माटो उत्खनन् गर्न  सिफारिस मात्रै गरेको हुँ, ठेकेदारले माटो कहाँ खन्यो मलाई थाहा छैन । त्यो खोज्ने काम उपमहानगरका कर्मचारीहरुको हो, हाम्रो होइन’, वडाध्यक्ष साहले भने । 

साह माओवादी, अन्सारी र गुप्ता एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका हुन् । 

निजी जग्गाबाट माटो उत्खनन् गर्न ठेकेदार कम्पनीले उपमहानगरमा एक सय टिप माटोको ७२ हजार राजस्व बुझाएकोमा एक हजार टिप माटो अवैध ढंगले फरक जग्गाबाट उत्खनन् गरेको पाएको छ । 

यसले गर्दा उपमहानगरको लाखौँ रुपैयाँ राजस्व गुमेको छ ।  उपमहानगरले माटोमा प्रति घनफीट २ रुपैयाँ कर लगाएको छ ।

सार्वजनिक जग्गाबाट माटो चोरी भएपछि उपमहानगरले इलाका प्रहरी कार्यालयलाई माटो ओसारपसारमा प्रयोग भएका टिपर र एक्साभेटरलाई नियन्त्रणमा लिन आग्रह गरेको थियो । 

प्रहरीले सवारी खोज्ने वडा अध्यक्ष र सदस्यहरुको टिपर, एक्साभेटर, जेसिभी प्रयोग भएको भेटिएपछि उपप्रमुख भोला प्रसाद अधिकारीले तत्कालका लागि गाडी नियन्त्रणमा नलिन निर्देशन दिएको इप्रका सिमराले जनाएको छ ।

इप्रका सिमराका प्रमुख प्रदीप बहादुर क्षेत्रीले माटो चोरीमा वडाध्यक्षहरुकै टिपर, एक्साभेटर प्रयोग भएपछि नियन्त्रणमा लिन उपमहानगरले असहयोग गरेको बताए । 

‘उपमहानगरले सबै सवारी साधनको नम्बर हामीलाई उल्टो लेखेर पठाएको थियो । तैपनि हामीले पत्ता लगाएर नियन्त्रण लिन खोज्दा उपप्रमुखज्यूले हामीले अनुसन्धान गरिरहेका छौँ ।  अहिले छोडिदिनुस् भन्नुभयो,’ क्षेत्रीले भने । 

उपमहानगर–६ का वडाध्यक्ष कैयमुदिन अन्सारीले माटो ओसारपसारमा आफ्नो र आफन्तको गरी ३ वटा टिपर प्रयोग भएको बताएका छन् । ‘मैले टिपर भाडामा लगाएको हो । चोरीको माल बोक्यो कि किनेको माल बोक्यो हामीलाई सरोकार हुँदैन,’ वडाध्यक्ष अन्सारीले भने । 

माटो चोरीकोमा उपमहानगरको लाखौँ रुपैयाँ राजस्व नोक्सान भएपछि कार्यपालिका बैठकले उपप्रमुख भोला प्रसाद अधिकारीको नेतृत्वमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, लोसपाका वडाध्यक्षहरुसहितको ७ सदस्यीय छानबिन समिति गठन गरेको छ ।

समितिले माटो उत्खनन् गरेको ठाउँको अनुगमन गरी सो कार्यमा जोडिएका निकायहरुलाई स्पष्टीकरण सोधेको उपप्रमुख   अधिकारीले बताए । ‘अवैध ढंगले सार्वजनिक जग्गाबाट माटो उत्खनन् कार्यमा को–को दोषी छन्, खोजी गरेर कारबाहीको दायरामा ल्याउने काम हुन्छ,’ उपप्रमुख अधिकारीले भने, ‘वडाले गरेको सिफारिससहित सबै लिखित कागजपत्र अध्ययन गर्ने काम भइरहेको छ ।’

माटो ओसारपोसारमा वडाध्यक्षहरुको टिपर, एक्साभेटर, जेसिभी प्रयोग हुनु नौलो कुरा नभएको उपप्रमुख अधिकारीको भनाई छ । 

‘सार्वजनिक जग्गाबाट माटो उत्खनन् गर्न राजनीतिक, सामाजिक र जनप्रतिनिधिबाट दबाब दिने काम भएको छ, यसमा केही संचारकर्मीहरु पनि जोडिनुभएको छ । यस्तो गलत काममा दबाब दिनेहरु को–को हुन् हप्ता दश दिनभित्र फाइल टुंगाएर कारबाहीको लागि कार्यपालिकालाई प्रतिवेदन बुझाउँछौँ’, अधिकारीले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप