सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
पूर्वाधार

बुटवलमा दुई केबुलकार : व्यापार व्यवसाय चलायमान हुने अपेक्षा

सोमबार, ०४ मङ्सिर २०८०, ११ : ५६
सोमबार, ०४ मङ्सिर २०८०

बुटवल । लुम्बिनी प्रदेशमा बुटवलको बमघाटदेखि पाल्पाको वसन्तपुरसम्म जाने केबुलकार सञ्चालन भइरहेको छ । बुटवलकै देउराली डाँडाबाट पाल्पाको नुवाकोट जोड्ने गरी सिद्धार्थ केबुलकार सञ्चालनको तयारी भइरहेको छ ।

सिद्धार्थ केबुलकार कम्पनीले यही मङ्सिर महिनाको अन्तिमसम्म सेवा आरम्भ गर्ने गरी काम भइरहेको जनाएको छ । बुटवलमै दुई केबुलकार सञ्चालन हुँदा यहाँको पर्यटन व्यवसाय थप चलायमान हुने अपेक्षा गरिएको छ ।

पर्यटन बोर्ड लुम्बिनी प्रदेशका कार्यकारी रामु जोशीले बुटवलका दुई केबुलकार सञ्चालन हुँदा बुटवलको मात्रै नभएर लुम्बिनी प्रदेशको पर्यटन व्यवसाय थप चलायमान हुने बताए ।

sirddhath-cable- 1

उनले रातोपाटीसँग भने, ‘प्रदेशका अन्य ठाउँमा अहिलेसम्म केबुलकार बनेको अवस्था छैन, त्यसकारण बुटवलमा दुई केबुलकार चल्दा आन्तरिक र बाह्य  पर्यटक भित्र्याउने धेरै सम्भावना हुन्छ ।’

बुटवलका केबुलकारले भारतीय पर्यटन तान्न सक्ने थुप्रै सम्भावना रहेको भन्दै उनले कम्पनीहरूले व्यावसायिक रणनीति बनाउनुपर्ने बताए । 

उनले प्रदेशले पनि केबुलकारसँग जोडिने पर्यटक तान्न रणनीति बनाएको उल्लेख गर्दै भारतीय पर्यटकसँगै आन्तरिक पर्यटक तान्दै बुटवलको बजारलाई थप चलायमान बनाउन सकिने प्रस्ट पारे ।

आर्थिक अनुसन्धान केन्द्र लुम्बिनीका अध्यक्ष हुमराज भुसालले बुटवलमा दुवै केबुलकार सञ्चालनमा आउँदा खास गरी यहाँको होटल व्यवसायदेखि अन्य  क्षेत्रमा थप चलायमान बन्ने अपेक्षा गरे ।

उनले भने, ‘अहिले एउटा केबुलकार सञ्चालन हुँदा पनि होटल व्यवसायमा केही फरक परेको छ । अब अर्को सञ्चालनमा आउँदा स्वाभाविक रूपमा यहाँको पर्यटन क्षेत्र थप फस्टाउँछ ।’

lumbini cable car

भारतीय पर्यटकहरू बुटवलमा बास बस्न र केबुलकार चढ्न आउने गरेको होटल तथा रेस्टुरेन्ट व्यावसायिक संघ रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारीले बताए ।

सिद्धार्थ केबुलकार कम्पनीले बाह्य पर्यटकलाई भित्र्याउने गरी काम अगाडि बढाएको कम्पनी सञ्चालक समिति सदस्य तथा बुटवलका होटल व्यवसायी माधव नेपालले रातोपाटीलाई बताए । उनले भने, ‘हामीले केबुलकार चलाउँदा धेरै आन्तरिकसँगै बाह्य पर्यटकलाई समेत जोड दिने गरी काम गर्ने छौँ ।’

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्यालले बुटवलको सुस्ताएको व्यापार व्यवसायलाई पुरानै लयमा ल्याउन दुईवटा केबुलकार प्रभावकारी बन्ने बताए ।

3

बुटवल उपमहानगरपालिका–३ बम घाटमा आधार स्टेसन रहेको लुम्बिनी केबुलकारको टप स्टेसन पाल्पाको तिनाउ गाउँपालिका–३ वसन्तपुरमा छ । यो केबुलकार व्यवसायी चन्द्र ढकाल लगायतको समूहको हो । अब केही दिनपछि  सिद्धार्थ केबुलकार कम्पनीले बुटवलको देउराली डाँडादेखि नुवाकोट ७ मिनेटमा पुग्न सकिने गरी केबुलकार सञ्चालन गर्ने भएको छ ।

सिद्धार्थ केबुलकारले टप–स्टेसन रहेको नुवाकोट डाँडामा रैथाने खानाका परिकारसहितका होटल तथा रिसोर्ट निर्माण गर्ने छ । बुटवलबाट झन्डै १४ किलोमिटर दुरीमा रहेको यो ठाउँमा पर्यटक केही समय सुस्ताउन मिल्ने गरी बगैँचा, सिद्धार्थ गौतमसँग सम्बन्धित विभिन्न जानकारीसहितको सङ्ग्रहालय राखिने जनाएको छ ।

अर्थशास्त्री मनिकार कार्कीले केबुलकार चढ्नका लागिमात्रै होइन, त्यहाँ पुगेपछि हुने अन्य वातावरणमा कम्पनीले ध्यान दिनुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप