आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

बैंकको ऋण बढी लिनेले तिर्दिन भन्न मिल्दैन : अर्थमन्त्री महत

बुधबार, ०६ मङ्सिर २०८०, १९ : ४५
बुधबार, ०६ मङ्सिर २०८०

काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले बैंकको ऋण बढी लिनेले तिर्दिन भन्न नमिल्ने बताएका छन् । 

बुधबार भक्तपुरमा शंखधर दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले मुलुकको अर्थतन्त्रका विषयलाई समेत लिएर जथाभाबी बोल्दै हिँड्नेले बैंकको ऋण बढी लिएर तिर्दिन भन्न नमिल्ने बताए । उनले ऋण लिएर खाने र १० ठाउँमा लगाएर बैंकको ऋण तिर्दिन प्रवृत्ति गलत भएको बताए । 

मन्त्री महतले बैंकको ऋण लिएर व्यवसाय गर्दा गर्दै तिर्न नसक्ने व्यवसायीहरुलाई नीतिगत रुपमा राज्यले हेर्ने बताए । उनले बद्मासी नगर्ने तथा व्यवसाय गर्दा गर्दै समस्या परेकाहरुको लागि राज्यले सहजीकरण गर्न तयार रहेको बताए । उनले पछिल्लो समय विश्व अर्थतन्त्र नै शिथिल भएर मन्दीमा रहेको भन्दै नेपालको अर्थतन्त्र सकारात्मक दिशामा रहेको बताए । उनले कोभिड महामारी, भूकम्प लगायतका असर भोगेर पनि नेपालको अर्थतन्त्र सकारात्मक रहेको बताए । 

मन्त्री महतले नेपालका राम्रो रेमिट्यान्स र पर्यटन आगमन उच्च रहेकाले अर्थतन्त्रमा थप सकारात्मक बन्ने अवस्थामा रहेको बताए । उनले सरकारले देशका ठूला सडकमा मात्रै लगानी गर्नसके पर्यटन क्षेत्रले मात्रै नेपालको आर्थिक रुपान्तरणमा ठूलो योगदान गर्ने विश्वास रहेको बताए । उनले  बैंकहरुबाट धेरै ऋण प्रवाह भएकाले मानिसहरुले धेरै लगानी जग्गा, शेयर र क्रिप्टोमा पनि लगानी गरेकाले बजारमा केही समस्या रहेको बताए ।

मन्त्री महतले अफवाह बोल्दै हिड्नेहरुको मुख बन्द गर्नुपर्ने अवस्था आएको बताए । उनले लामो संघर्ष, मेहनत र योगदानबाट ल्याएको लोकतन्त्र व्यवस्था माथि आँच आउन दिन नहुने बताए । उनले बोल्नेहरुले विगतको समय सुनौलो युग थियो भन्नु गलत भएको भन्दै अहिलेको व्यवस्थाले धेरै परिवर्तन आएको बताए । उनले लोकतान्त्रिक पद्धतिमार्फत नै मुलुकको समृद्धि सम्भव रहेको बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप