मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय
केन्द्रीय समिति बैठक

एमाले बैठकमा ओलीको ब्रिफिङ : मध्यावधि हुनसक्छ, हामी तयार बस्नुपर्छ !

बुधबार, ०६ मङ्सिर २०८०, २० : ३०
बुधबार, ०६ मङ्सिर २०८०

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा मध्यावधि निर्वाचन हुनसक्ने भएकाले तयारी अवस्थामा रहन पार्टी नेता कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

बुधबार पार्टी कार्यालय च्यासलमा बसेको छैटौँ केन्द्रीय समिति बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे केन्द्रीय सदस्यहरुलाई ब्रिफिङका क्रममा अध्यक्ष ओलीले आर्थिक, सामाजिक र सांस्कृतिक विचलन बढेको र त्यसो हुनुमा सरकार जिम्मेवार देखिएको निष्कर्ष सुनाएका थिए ।

उनले सरकारको कार्यशैली नबदलिए सरकारविरुद्ध एमालेले चरणबद्ध आन्दोलन गर्नुपर्ने अवस्था आउन सक्ने भएको भन्दै सोही अनुसार तयारी रहन समेत नेताहरुलाई निर्देशन दिएको एक केन्द्रीय सदस्यले बताए । 

त्यतिमात्रै होइन पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले मुलक मध्यावधि निर्वाचनमा जानसक्ने सम्भावना रहेको भन्दै मध्यावधि निर्वाचन भए आफूहरुलाई स्वीकार्य हुने बताएका छन् । निर्वाचन भएको एक वर्ष नबित्दै अध्यक्ष ओलीले मध्यावधि निर्वाचनको प्रशंग निकालेपछि बैठकमा सहभागी धेरैजसो केन्द्रीय सदस्यहरु अचम्मित बनेका थिए । 

‘अनायास नै उहाँले मध्यावधिको बढी नै चर्चा गर्नुभयो’, ती केन्द्रीय सदस्यले ओलीको भनाइ उद्धृत गर्दै रातोपाटीसँग भने, ‘हाम्रो संविधानले मध्यावधिको व्यवस्था गरेको छ, तर कसै–कसैले यो संविधानले मध्यावधिको कल्पना नै गरेको छैन भनेजस्तो गर्छन्, त्यस्तो होइन । जनताको मत कसको समर्थन र कसको विरोध हुन्छ भन्ने होइन ।’ उनले जनताको म्यान्डेटभन्दा ठुलो कुरा केही नहुने भन्दै यदि मध्यावधि भए एमाले मान्न तयार हुनुपर्ने बताए । 

‘जनताको म्यान्डेट सर्वोपरि कुरा हो । हामी जनताको म्यान्डेट मान्न तयार हुनुपर्छ । यदि मध्यावधिमा जाने परिस्थिति बन्छ भने हामी तयार हुनुपर्छ’, अध्यक्ष ओलीले बैठकमा भनेका छन् ।

 

अर्का एक पदाधिकारीले आजको बैठकमा अध्यक्ष ओली मध्यावधिको प्रशंग निकाल्दै अलि बढी सिरियस रुपमा प्रस्तुत भएको बताए ।

‘आज उहाँ (अध्यक्ष) मध्यावधिबारे अलि बढी नै सिरियस देखिनुभयो । हामी त सुरुमा किन मध्यावधिको चर्चा गर्नुभयो भनेर सुरुमा अलमल पर्‍यौ । तर मध्यावधिबारे उहाँले लामै समय खर्चिनुभयो’, ती पदाधिकारीले भने, ‘यसबारेमा दोहोरो सवालजवाफ त भएन तर हिजोमात्रै प्रमुख दलका तीन नेतासँगको भेटवार्ता समेत जोडेर उहाँले यस्तै हो भने मुलुक पुनः मध्यावधिमा जानसक्छ भनेर प्रस्टै संकेत गर्नुभयो ।’

मध्यावधिपछि सरकारबारे बोलेका ओलीले वर्तमान सरकारले मुलुकलाई अघि लैजान नसक्ने निष्कर्ष पनि सुनाएका छन् । 

‘खस्किँदो अर्थतन्त्र, अस्थिरता, अराजकता, कुशासन मौलाउनुमा सरकारकै संरक्षण देखिन्छ’, ओलीले बैठकमा भनेका छन्, ‘यो सरकारले मुलुकलाई अगाडि लाने सम्भावना छैन कि तत्काल सच्चिनुपर्छ । यदि सच्चिँदैन भने संख्याका आडमा टिकिरहन्छु भन्ने कुरा सम्भव छैन ।’

अध्यक्ष ओलीले सरकार नसच्चिने तर टिकिरहन्छु भन्ने अवस्था आएमा सरकारविरुद्ध आन्दोलनमा जानुपर्ने परिस्थिति आउन सक्ने भएकाले तयार रहनुपर्ने बताएका छन् । त्यसक्रममा उनले आफूहरु शान्तिपूर्ण आन्दोलनमा विश्वास गर्ने भन्दै त्यसरी गरिने आन्दोलन हतियारका बलमा नहुने समेत स्पष्ट पारेका छन् ।

‘हाम्रो आन्दोलन हतियारका बलमा होइन जनबलमा हुनेछ’, ओलीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप