शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

जातीय विभेद कसुरमा पोखराका वडाध्यक्षलाई साढे ४ महिना कैद, ७५ हजार जरिवाना

बिहीबार, ०७ मङ्सिर २०८०, २० : २२
बिहीबार, ०७ मङ्सिर २०८०

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई जातीय विभेद गरेको कसुरमा कैद सजाय सुनाइएको छ ।

कास्की जिल्ला अदालतले उनलाई साढे ४ महिना कैद र ७५ हजार रुपैयाँ जरिवाना तथा १० हजार रुपैयाँ क्षतिपूर्तिको सजाय सुनाएको हो ।

उनीविरुद्ध आफ्नै वडाका दलित महिला सदस्य मैया नेपालीले जातीय छुवाछुत गरेको आरोपमा मुद्दा दायर गरेकी थिइन् । न्यायाधीश अवनी मैनालीको एकल इजलासले उक्त मुद्दाको फैसला गरेको हो ।

अघिल्लो वर्ष पुसमा सार्वजनिक कार्यक्रममै वडाध्यक्ष अधिकारीले आफूमाथि जातीय विभेद गरेको भन्दै नेपालीले मुद्दा दायर गरेकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीमा पुस २४ गते जाहेरी दर्ता भएकोमा पुस २६ गते प्रहरीले वडाध्यक्ष अधिकारीलाई पक्राउ गरेको थियो । उनलाई माघ ९ गते डेढ लाख रुपैयाँ धरौटीमा रिहा गरिएको थियो ।

अधिवक्ता शिव सुनारले भने, ‘वडाध्यक्षले जातीय विभेद गरेको हुनाले अधिकतम ३ महिनादेखि ३ वर्षसम्म कैद र ५० हजारदेखि २ लाखसम्म जरिवानाको अभियोग दाबी गरिएको थियो, सोही अनुसार विभेदको ठहर गर्दै फैसला आएको छ । यसले पीडितलाई न्यायको अनुभूति भएको छ । न्यायालयले न्याय सम्पादन गर्दा गम्भीर भएर पीडितलाई न्याय दिएको छ ।’

अधिकारी २०७९ वैशाखमा सम्पन्न निर्वाचनमा कांग्रेसबाट निर्वाचित भएका हुन् । सो वडाका वडा सदस्यहरु भने एमालेबाट निर्वाचित भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप