शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

‘सार्वजनिक संस्थानमा संरचनागत सुधार आवश्यक छ’

शुक्रबार, ०८ मङ्सिर २०८०, १९ : २८
शुक्रबार, ०८ मङ्सिर २०८०

काठमाडौँ । सार्वजनिक संस्थानहरुले संरचनागत सुधारसहित कार्ययोजना बनाएर काम नगरे सेवा प्रवाह प्रभावकारी हुन नसक्ने सार्वजनिक प्रशासनका जानकारहरूले बताएका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक संस्थानका प्रमुखहरूसँग आज आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले प्रभावकारी सेवा प्रवाहका निम्ति कार्यशैली परिवर्तन गर्नुपर्नेमा जोड दिएका हुन् ।  

पुरानो कार्यशैली र संरचना तथा परम्पराका नाममा हुने कार्यप्रणालीले दैनिक कार्यालय सञ्चालन भए पनि प्रभावकारी सेवा प्रवाह हुन नसकेको उनीहरूको विश्लेषण छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले कार्ययोजना तर्जुमा नगरी गरिने कामबाट निर्धारित लक्ष्य हासिल गर्न नसकिने बताए । धेरै संस्थाका बारेमा कार्ययोजनाबिना काम अघि बढाइँको, प्रक्रिया मिचेको र प्रक्रियागत  त्रुटिलाई लिएर पनि उजुरी परेपछि आयोगले छानबिन गरेको प्रमुख आयुक्त राईले बताए । “उजुरी परेपछि कार्यालयको काम गर्न मनोबल घट्छ । मानसिक तनाव हुन्छ तर डराउनुपर्दैन । नियमअनुसार प्रक्रिया पुगेका विषयमा अख्तियार अनुसन्धान आयोगले सामान्य सोधपुछ गरेर टुङ्ग्याउने गरेको छ, ”प्रमुख आयुक्त राईले भने । 

कार्यक्रममा आयोगका आयुक्तहरु किशोर सिलवाल, हरि पौडेल, सुमित्रा श्रेष्ठ (अमात्य) जयबहादुर चन्दले  सार्वजनिक संस्थानको पुनःसंरचना र सुधारको कार्ययोजना आवश्यक भएको बताए ।  आयोगका सचिव रामेश्वर दङ्गाल, अर्थ मन्त्रालयका सचिव कृष्णहरि पुस्करलगायत वक्ताले सार्वजनिक संस्थान सुधारका लागि नीतिगत सुधारसँगै योजना कार्यान्वयन गर्न आवश्यक भएको बताए ।  

अन्तरक्रियामा ४४ वटा सार्वजनिक संस्थानका प्रमुख एवं प्रतिनिधिको सहभागिता थियो । सहभागी संस्थान प्रमुखहरुले काम गर्न कानुनी जटिलता रहेको, प्राविधिक जनशक्तिको अभाव रहेको र ट्रेड युनियनको प्रभाव धेरै भएकाले काम गर्न कठिन भएको वास्तविकता प्रस्तुत गरेका थिए । 

आयोगका प्रवक्ता एवं सहसचिव भोला दाहालले विकास निर्माण तथा सार्वजनिक खरिदसम्बन्धी सवाल, संरचनागत सुधार र सार्वजनिक सेवा प्रवाहबारे अख्तियारमा परेका उजुरीका विषयमा र अर्थ मन्त्रालयका सहसचिव भुपाल बरालले सार्वजनिक संस्थानहरुको अवस्थाका सम्बन्धमा कार्यपत्र प्रस्तुत गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप