सोमबार, २८ असोज २०८१
ताजा लोकप्रिय

निबन्ध : उपलब्धि

बुधबार, १३ मङ्सिर २०८०, ११ : ३०
बुधबार, १३ मङ्सिर २०८०

उपलब्धि भनेको काम पूरा भएपछि पाइने फल हो । तपाईँले कुनै काम गर्नुभएको थियो पूरा गर्नुभयो । त्यसपछि जुन प्रतिफल प्राप्त हुन्छ त्यही नै उपलब्धि हो । आउनुस् एक छिन यो कस्तो र कति किसिमको हुन्छ विश्लेषण गरौँ । 

उपलब्धि अनेक किसिमका हुन्छन् । आत्मिक उपलब्धि, पारमार्थिक उपलब्धि, आध्यात्मिक उपलब्धि, भौतिक उपलब्धि, आर्थिक उपलब्धि, बौद्धिक उपलब्धि, वैचारिक उपलब्धि, शैक्षिक उपलब्धि, प्रशासनिक उपलब्धि, राजनीतिक उपलब्धि, सामाजिक उपलब्धि, सार्वजनिक उपलब्धि, वैधानिक उपलब्धि, अवैधानिक उपलब्धि यस्तैयस्तै । तथापि मूलतः व्यक्तिगत उपलब्धि, सामूहिक उपलब्धि र उभयमुखी उपलब्धि गरी तीन किसिमले अर्थ्याउन सकिन्छ । 

यिनमा राजनीतिक, सामाजिक र सार्वजनिक उपलब्धि सामूहिक उपलब्धिमा पर्छन् भने यस बाहेकका उपलब्धि व्यक्तिगत उपलब्धिमा पर्छन् तर अवैधानिक उपलब्धि भने व्यक्तिगत पनि हुन सक्छ, सामूहिक पनि हुन सक्छ । अतः यस्ता उपलब्धि उभयात्मक उपलब्धिमा पर्न पुग्छन् । यीमध्ये यहाँ व्यक्तिगत उपलब्धिलाई लिइएको छ । 

यसलाई  पनि तपाईं आत्मकेन्द्रित, परकेन्द्रित र तटस्थ गरी तीन किसिमले अर्थ्याउन सक्नुहुन्छ । यीमध्ये आत्मकेन्द्रित उपलब्धि नितान्त व्यक्तिसित सम्बन्धित हुन्छ । जसले मिहिनेत गर्छ उसैले प्रतिफल पाउँछ, जसले पढ्छ उही पास हुन्छ, जसले खेतीपाती गर्छ उसले फसल उमार्छ, जसले पशुपालन गर्छ उसैले दूध, दही, घ्यु र मासु बेचेर पैसा कमाउँछ ।  

मानिलिनुस् तपाईँ कुनै बैङ्कको मालिक हुनुहुन्छ । बैङ्कले प्रशस्तै पैसा कमायो । वर्षमै करोडौँ नाफा ग¥यो । त्यो पैसा कसको ? तपाईँकै त हो । यद्यपि यसमा धेरै मानिसको योगदान रहेको हुन्छ । धेरैले मिहिनेत गरेका हुन्छन् । कर्मचारीको हुन्छ, मजदुरको हुन्छ, धितो राख्ने सज्जनको हुन्छ, ऋण लिने सज्जनको हुन्छ, साहुको हुन्छ, आसामीको हुन्छ, बचत कर्ताको हुन्छ । उनीहरूको योगदानकै कारण बैङ्कले नाफा गरेको हो, नाफा कमाएको हो तर समग्रमा त्यसको उपलब्धि तपाईँकै हुन्छ, तपाईँकै मानिन्छ, तपाईँकै ठहर्छ ।  

हुन सक्छ तपाईँ व्यापारी हुनुहुन्छ । फुटकर बिक्रेता पनि हुन सक्नुहुन्छ, थोक बिक्रेता पनि । दाल, चामल, चिनी, दलहन, खाद्यान्न, जस्तापाता, स्टिल, सिमेन्ट, छड व्यवसाय जे को पनि हुन सक्छ । तपाईँको व्यापार फस्टायो वर्षकै लाखौँ कमाइ भयो, करोडौँ कमाइ भयो । यहाँ पनि योगदान सबैको हुन्छ । सबैभन्दा बढी योगदान ग्राहकले दिएका हुन्छन् तर त्यसको फाइदा तपाईँको व्यक्तिगत हुन्छ । 

कृषक हुनुहुन्छ भने पनि त्यस्तै हो । मल, जल, काम गर्ने मानिस, क्रेता, बिक्रेता सबैको योगदान रहेको हुन्छ तर पनि त्यसको उपलब्धि भने तपाईँको नितान्त व्यक्तिगत हुन्छ । तपाईँले कुखुरा पाल्नुभएको छ भने अरूले अन्डा र मासु किनिदिएर नै तपाईँको व्यापार फस्टाएको हो नि होइन र ? तथापि मूलमा फाइदा भने तपाईँकै भइरहेको हुन्छ । पशुपालन हुनुहुन्छ भने पनि त्यस्तै हो । यसमा पनि अन्य धेरै मानिसको योगदान रहेको हुन्छ । घाँस, कुँडो गर्ने मानिसको योगदान होला, उत्पादनलाई बजारसम्म पु¥याउने मानिसको योगदान होला, बजारमा खरिदबिक्री गर्ने मानिसको योगदान होला तर उपलब्धि भने तपाईँको नितान्त व्यक्तिगत भइरहेको हुन्छ । 

यद्यपि व्यापार व्यवसायबाट फाइदा नै हुन्छ भन्ने छैन । यदाकदा घाटा हुन पनि सक्छ, नोक्सान हुन पनि सक्छ तर त्यो पनि उपलब्धि नै हो, तपाईँले व्यापार, व्यवसाय गर्न नजान्दाको उपलब्धि । यसै पनि तपाईँले व्यापार घाटा खानका लागि गर्नुभएको थिएन । नाफा कमाउनकै लागि गर्नुभएको थियो । तपाईँले नजान्दा नै घाटा खानुपरेको हो । व्यापार व्यवसायबाटै घाटा खानुपर्ने हो भने त अरूले पनि खानुपर्ने हो, अरूलाई पनि घाटा हुनुपर्ने हो तर अरूलाई भएन, तपाईँलाई मात्रै भयो भने मान्नुपर्ने हुन्छ तपाईँकै कारण भएको हो, तपाईंकै ढङ्ग नपुगेर भएको हो । 

विद्यार्थी हुनुहुन्छ भने पनि अवस्था त्यस्तै हो । तपाईँ कुशल विद्यार्थी हुनुहुन्थ्यो राम्रोसित परीक्षा उत्तीर्ण गर्नुभयो र राम्रो ठाउँमा जागिर पाउनुभयो तपाईँको भविष्य सप्रियो । यो तपाईँको व्यक्तिगत उपलब्धि हो तर यसमा पनि धेरैको योगदान रहेको हुन्छ । शिक्षकको हुन्छ, विद्यालयको हुन्छ, विद्यालय व्यवस्थापनको हुन्छ, अभिभावकको हुन्छ । किताब, कपी, कम्प्युटरको हुन्छ, तिनका उत्पादक तथा व्यवस्थापकको हुन्छ तर पनि उपलब्धि भने तपाईँकै व्यक्तिगत नै हुन्छ । शिक्षक हुनुहुन्छ भने पनि त्यस्तै हो । तपाईँको उन्नति र प्रगतिमा सबैको योगदान रहेको हुन्छ । विद्यार्थीको हुन्छ, विद्यालयको हुन्छ, व्यवस्थापकको हुन्छ तर उपलब्धि भने व्यक्तिगत हुन्छ, तपाईँको हुन्छ । 

कर्मचारी हुनुहुन्छ भने पनि त्यस्तै हो । सरकारको योगदान छ, कर तिर्ने जनताको योगदान छ, कार्यालयको योगदान छ, स्कुल, क्याम्पसको योगदान छ । शिक्षकहरूको योगदान छ । तब न त्यहाँ पुग्नुभएको हो तर त्यसबाट जे जति उपलब्धि हासिल गर्नुभयो ती सबै तपाईँको व्यक्तिगत भयो । एवंरीतले केलाउँदै जानुभयो भने हरेक क्षेत्रमा यही नियमले काम गरेको पाउनुहुन्छ ।  

त्यस्तै जुन कामबाट अरूलाई फाइदा हुन्छ त्यो परकेन्द्रित उपलब्धि हो । मानौँ कसैले कलकारखाना चलाएको छ, उद्योग धन्दा खोलेको छ, व्यापार, व्यवसाय चलाएको छ । यसमा जोजसले सहयोग गरेका हुन्छन् तिनले पाउने फाइदा वा श्रेय नै परकेन्द्रित उपलब्धि हुन् ।  एवंरीतले केलाउँदै जानुभयो भने यहाँ पनि यही नियमले काम गरेको पाउनुहुनेछ ।  

जहाँसम्म तटस्थ उपलब्धिको कुरा छ त्यसको कुरा भने बेग्लै छ । व्यक्ति विशेष, समाज विशेष वा देश विशेषकै कुरा गर्दा पनि प्रत्यक्ष लाभ, हानि केही पनि नहुने उपलब्धिलाई तटस्थ उपलब्धि भनिन्छ । उपलब्धि त हो तर कसैलाई पनि प्रत्यक्ष लाभ नभएका वा नहुने विषय यसमा पर्छन् । यस्ता उपलब्धि सजातीय र विजातीय गरी दुई किसिमका हुन्छन् । एउटै जातिसित सम्बन्धित उपलब्धि सजातीयमा पर्छन् । अर्को जातिसित सम्बन्धित उपलब्धि विजातीयमा पर्छन् । सजातीय उपलब्धि पनि व्यक्तिगत, सामूहिक र अन्तर्देशीय गरी तीन किसिमका हुन्छन् । एवं रीतले केलाउँदै जाने हो भने उपलब्धिका अनेक स्वरूप र किसिम रहेको प्रस्टै अनुभूत गर्न सकिन्छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कमल रिजाल
कमल रिजाल
लेखकबाट थप