सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
स्वास्थ्य

कडा रोगको औषधि–उपचारका लागि सरकारले कति सहुलियत दिन्छ ?

शुक्रबार, १५ मङ्सिर २०८०, १० : १५
शुक्रबार, १५ मङ्सिर २०८०

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डमार्फत सरकारले दिँदै आएको कडा रोगहरूका औषधि–उपचार खर्च अब नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाबाट पाइने भएको छ । ८ वटा कडा खालका रोग मुटु, मिर्गौला, क्यान्सर, अल्जाइमर्स, पार्किन्सन्स, हेड इन्जुरी, स्पाइनल इन्जुरी र सिकलसेल एनिमियाको औषधि उपचारमा सरकारले सहुलियत प्रदान गरेको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले विगतमा नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाबाट कडा रोगहरूको औषधि उपलब्ध गराइँदै आए पनि एकद्वार प्रणालीबाट अगाडि बढाउन स्वास्थ्य बीमा बोर्डलाई जिम्मा दिइएको तर पछिल्लो समय बोर्ड समस्याग्रस्त भएपछि पुनः महाशाखातिरै सारिएको बताए ।

भविष्यमा यी कार्यक्रम स्वास्थ्य बीमा कार्यक्रममार्फत एकद्वार प्रणालीबाटै सञ्चालन हुने उनको दाबी छ । मन्त्रालयका अनुसार देशका सरकारी, निजी, सामुदायिक स्वास्थ्य संस्था गरी ८४ वटा अस्पतालबाट हेमोडायलासिस निःशुल्क उपचार दिइने जनाएको छ । यस्तै, स्पाइनल इन्जुरीका उपचार सेवा ३३ वटा स्वास्थ्य संस्थाबाट उपलब्ध गराइनेछ । 

यस्तै, हेड इन्जुरीको उपचार ३२,  क्यान्सर रोग उपचार ३०, मुटु रोग उपचार २५, पार्किन्सस र अल्जाइमर्सको उपचार १३, सिकलसेल एनिमियको १३, मिर्गौला प्रत्यारोपणका लागि ५ अस्पतालबाट सहुलियतमा सेवा उपलब्ध गराइने छ ।  

कडा रोगहरूको उपचार सहुलियत विवरण

मिर्गौला रोग- मिर्गौला प्रत्यारोपणका लागि ४ लाखसम्म सहुलियत  हुनेछ । अङ्गदाता र ग्रहणकर्ताको प्रयोगशाला शुल्क ५० हजार, मिर्गौला प्रत्योरापणपछि औषधि सेवनका लागि एक लाख रुपैयाँसम्म सहुलियत दिइनेछ ।

अल्पकालीन रूपमा मिर्गौलाले काम नगरेर हेमोडायलासिस गराउनु पर्ने बिरामीहरुलाई्र हेमोडायलासिस तथा औषधि उपचार शुल्क, शय्या शुल्क, प्रयोगशाला शुल्क साथै प्रत्यारोपण गर्न नमिल्ने दुवै मिर्गौलाले काम नगरेका बिरामीहरुलाई औषधि उपचार शुल्क एक लाख रुपैयाँसम्म सहुलियत दिइनेछ ।  

हेमोडायलासिस बढीमा हप्ताको दुई सेसन र सोभन्दा बढी गर्नुपर्ने अवस्थामा कारण खुल्ने गरी चिकित्सकको प्रिस्किप्सनसहित २५ हजार रुपैयाँ सहुलियत पाउनेछन् ।

सेरोपोजेटिभ (संक्रमित) भएका बिरामीहरूलाई हेमोडायलासिस उपचार सेवाबापत प्रति सेसन शोधभर्नाका लागि ४ हजार उपलब्ध गराउनेछ ।

पेरिटोनियल डायलाइसिस प्रतिबिरामी महिनाको अधिकतम ९० प्याकेटसम्म र सोभन्दा बढी गर्नुपर्ने अवस्थामा चिकित्सकको प्रिस्किप्सनका आधारमा अधिकतम १२० प्याकेटसम्म उपलब्ध गराउन सकिनेछ र त्यस्तो बिरामीहरुले प्रति प्याकेट ५०१ रुपैयाँ सहुलियत पाउनेछन् ।

मुटुरोग- विभिन्न प्रकारका मुटुरोग जस्तै महाधमनीको शल्यक्रिया गर्नुपर्ने बिरामी, मुटुमा पेश मेकर तथा स्टेन्ट राख्नु परेमा, एब्लेशन गर्नुपरेमा, मुटुको भल्व पूर्णरुपमा क्षति भएको वा मुटु फेल भएको उपचारका लागि  एक लाख रुपैयाँसम्मको सहुलियत पाउनेछन् ।

क्यान्सर- विभिन्न प्रकार क्यान्सर सम्बन्धी शल्यक्रिया केमोथेरापी, रेडियोथेरापी, औषधि, औषधिजन्य सामग्री, शय्या तथा प्रयोगशाला सेवाका लागि बिरामीले एक लाख रुपैयाँसम्म सहुलियत पाउनेछन् ।

पार्किन्सन्स- पार्किन्सन्सको उपचार सेवा, औषधि, औषधिजन्य सामग्री, शय्या तथा प्रयोगशाला सेवा शुल्कका लागि एक लाख रुपैयाँ सहुलियत पाउनेछन् ।

अल्जाइमर- अल्जाइमरको उपचार सेवा, औषधि,औषधिजन्य सामाग्री,शैया तथा प्रयोगशाला सेवा शुल्कका लागि पनि बिरामीले एक लाखसम्मको सहुलियत लिन पाउनेछन् ।

स्पाइनल इन्जुरी- दुर्घटना वा चोटपटकबाट स्पाईनल ईन्जुरी भएका बिरामीलाई शल्यक्रिया, औषधि तथा औषधिजन्य सामाग्रीहरू, थप निदानात्मक सेवा, शय्या शुल्क तथा पुनर्स्थापना सेवाका लागि पनि एक लाखसम्म  सहुलियत उपलब्ध गराउने उल्लेख छ । 

हेड इन्जुरी- दुर्घटना वा चोटपटकबाट हेड इन्जुरी भएका बिरामीलाई शल्यक्रिया, औषधि तथा औषधिजन्य सामग्रीहरू, थप निदानात्मक सेवा, शय्या शुल्क तथा पुनर्स्थापना सेवाका लागि पनि एक लाखसम्म  सहुलियत उपलब्ध गराइनेछ । 

सिकलसेल एनिमिया- सिकलसेल एनिमिया रोग लागेका बिरामीलाई शल्यक्रिया, औषधि तथा औषधिजन्य सामग्री प्रयोगशाला सेवा र शय्या शुल्कका लागि पनि एक लाखसम्मको सहुलियत दिने भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप