बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

महिला टी-२० विश्वकपमा पाकिस्तानलाई हराउँदा कप्तान हरमनप्रीतले रचिन् इतिहास

सोमबार, ०१ असार २०८३, ११ : ०८
सोमबार, ०१ असार २०८३

सारांश

  • महिला टी-२० विश्वकपमा भारतकी कप्तान हरमनप्रीत कौरले पाकिस्तानविरुद्ध सर्वाधिक रन बनाउँदै मिताली राजको कीर्तिमान तोडेकी छिन्।
  • हरमनप्रीत कौरको टी-२० विश्वकपमा कुल ७६२ रन पुगेको छ, जसले गर्दा उनी भारतका लागि शीर्ष स्थानमा छिन्।
  • यस खेलमा भारतले पाकिस्तानलाई ६४ रनले पराजित गर्‍यो, जसमा दीप्ति शर्माले ५ विकेट लिइन्।

बर्मिङ्घम । भारतीय महिला क्रिकेट टोलीकी कप्तान हरमनप्रीत कौरले इतिहास रच्दै महिला टी-२० विश्वकपमा भारतका लागि सबैभन्दा बढी रन बनाउने कीर्तिमान आफ्नो नाममा गरेकी छिन्। 

बेलायतको बर्मिङ्घमस्थित एजबेस्टनमा आइतबार भएको विश्वकपको आफ्नो पहिलो खेलमा परम्परागत प्रतिद्वन्द्वी पाकिस्तानविरुद्ध मैदान उत्रिँदै उनले पूर्व कप्तान मिताली राजको कीर्तिमानलाई पछि पारेकी हुन्।

यो कीर्तिमानी उपलब्धिसँगै हरमनप्रीतको टी-२० विश्वकप इतिहासमा कुल ७६२ रन पुगेको छ र उनी भारतको तर्फबाट शीर्ष स्थानमा उक्लिएकी छिन्। यसअघि यो कीर्तिमान ७२६ रनसहित मिताली राजको नाममा थियो। 

भारतका लागि यस सूचीमा स्मृति मन्धाना ५९२ रनसहित तेस्रो, जेमिमा रोड्रिगेज ४०८ रनसहित चौथो र पुनम राउत ३७५ रनसहित पाँचौँ स्थानमा छन्। हरमनप्रीतले ४० खेलका ३४ इनिङ्समा यो सफलता हात पारेकी हुन्। यसै खेलमार्फत उनले अस्ट्रेलियाकी बेथ मुनीलाई समेत पछि पार्दै महिला टी-२० विश्वकप इतिहासकै नवौँ बढी रन बनाउने खेलाडीको सूचीमा आफ्नो नाम दर्ता गराएकी छिन्।

विश्वकपको यस रोमाञ्चक खेलमा भारतले पाकिस्तानलाई ६४ रनको फराकिलो अन्तरले पराजित गर्दै सुखद सुरुवात गरेको छ। खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको भारतीय टोलीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७० रनको बलियो योगफल तयार पारेको थियो। 

भारतका लागि ओपनर स्मृति मन्धानाले सानदार अर्धशतकीय पारि खेल्दै ४४ बलमा ६८ रन बनाइन्। त्यस्तै कप्तान हरमनप्रीत कौरले ३६ रन जोडिन् भने ऋचा घोषले १७ बलमा तीव्र गतिमा ३४ रनको योगदान दिइन्। पाकिस्तानका तर्फबाट सादिया इकबाल र फातिमा सनाले २-२ विकेट लिए भने तस्मिया रुबाब र रामीन शमीमले १-१ विकेट हात पारे।

१७१ रनको विजय लक्ष्य पछ्याउँदै मैदान उत्रिएको पाकिस्तानी टोली भारतीय बलरहरूको कडा बलिङसामु टिक्न सकेन र १७ ओभरमा मात्र १०६ रनमा अलआउट हुन पुग्यो। पाकिस्तानका लागि मुनीबा अलीले सर्वाधिक ४१ रन बनाउनुबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। 

पाकिस्तानलाई सस्तैमा समेट्न भारतकी दीप्ति शर्माले घातक बलिङ गर्दै मात्र १० रन खर्चेर ५ विकेट लिइन्। त्यस्तै श्री चरणीले ३ विकेट र शेफाली वर्माले १ विकेट लिँदै भारतको जित सुनिश्चित गरे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप