सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
वेथिति

सडकमा इजाजत बिनाका जोखिमयुक्त ट्याक्सी, नियामक निकाय मूकदर्शक

ट्राफिकलाई घुस खुवाएर चलाइरहेको चालकको दाबी
शनिबार, १६ मङ्सिर २०८०

काठमाडौँ । सरकारले २० वर्ष पुराना सवारी साधनलाई सडकमा गुड्न नदिने कानुन ल्याए पनि आजसम्म त्यो कार्यान्वयन हुन सकेको छैन । २०७१ साल फागुन १८ गते नेपाल राजपत्रमा एक सूचना प्रकाशित गर्दै सरकारले पहिलोपटक २० वर्ष पूरा भएका भाडाका सवारीसाधन पत्रु (स्क्रयाप) गर्ने निर्णय गरेको थियो ।

त्यसपछि २०७२ चैत १ गते पुनः भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ‘समृद्ध नेपालका लागि सडक, रेल तथा यातायात विकासको पाँच वर्षे रणनीतिक कार्यायोजना’ मा समावेश गरी २० वर्ष पूरा भएका सम्पूर्ण सवारीसाधन २ वर्षभित्र अर्थात् २०७४ फागुन ३० गतेपछि नेपालभरबाट विस्थापित हुनुपर्ने निर्णय मन्त्रिपरिषद्बाट भएको थियो ।

सोही विषयलाई सम्बोधन गर्दै २०७४ माघ २५ गते गोरखापत्रमा एक सूचना प्रकाशित गर्दै २० वर्ष पूरा भएका सार्वजनिक सवारीसाधन २०७४ फागुन ३० गतेभित्र स्क्रयाप नगरे सडकमा गुड्न नदिने र जफत गर्ने जानकारी गराइएको थियो । सो सूचनाका आधारमा २० वर्ष पूरा भएका ट्याक्सीहरुको हकमा पहिलेकै नम्बर प्लेटको स्थानमा नयाँ ट्याक्सी ल्याउन दिने, ग्यासबाट चल्ने टेम्पोको हकमा नयाँ ट्याक्सी वा माइक्रोबस ल्याए भाडाका नम्बरप्लेट पाउने व्यवस्था गरिएको थियो ।

तर कानुनको अवज्ञा गर्दै सडकमा हाल २० वर्ष पुगेका ट्याक्सी निर्बाध गुडिरहेका छन् । बा १ ज ६८२३ देखि बा १ ज ७८५० सम्मका नम्बर प्लेटका ट्याक्सी अर्थात् तेस्रो लटमा निकालिएका ट्याक्सीहरू आज पनि बाटोमा गुडिरहेका छन् । कागजपत्र नवीकरण बिना नै ती ट्याक्सी सडकमा गुडिरहेका हुन् । यी ट्याक्सी सन् २००३ मोडलका हुन् । बनेको साललाई एक वर्ष मान्ने कानुनी व्यवस्था अनुसार ती ट्याक्सी सन् २०२२ को अन्तिमपछि चलाउन नमिल्ने भए पनि कानुन कार्यान्वयनमा ध्यान नदिँदा अझै गुडिरहेका छन् ।

yatayat byawastha satha thula

२० वर्ष कटेको टेम्पो दुर्घटनाले निम्त्याएको त्यो दर्दनाक दृश्य

नवीकरण नै नभएका सवारीसाधन सडकमा गुडाउन प्रतिबन्ध नै हुनुपर्ने हो । अझ यात्रु बोकेर गुड्ने सार्वजनिक सवारीसाधन बीमा तथा नवीकरणबिना सडकमा गुड्न नमिल्ने हो । तर, गत असार १८ गते सातदोबाटो–ग्वार्को सडकखण्डमा यस्तै २० वर्ष कटेको ग्यासबाट चल्ने बा १ ह ४२४० नम्बरको टेम्पो र बागमती प्रदेश ०२, ०२९ प ६४१७ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा भयानक दुर्घटना भयो ।

ग्वार्कोको बीएण्डबी अस्पताल अगाडि गलत स्थानबाट मोडेको टेम्पो र सातदोबाटोबाट कोटेश्वरतर्फ आउँदै गरेको मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालक प्रकाश पुलामी मगर १० दिन कोमामा रहे भने मोटरसाइकलमै सवार अर्का घाइते शैलेन्द्र शाहीको गोडा दुई ठाउँमा भाँचियो । यी दुई जनाको उपचारका लागि १५ लाख रुपैयाँभन्दा बढी खर्च भयो, तर त्यो उपचार खर्च न टेम्पो चालक र टेम्पो धनीले बेहोरे, न त सवारीसाधन चल्ने समितिले नै बेहोर्‍यो ।

उपचारखर्च टेम्पोबाट भराउनका लागि शाही र मगर आज पनि अदालत धाइरहेका छन् ।

कानुन कार्यान्वयनमा फितलो सरकार, ट्राफिकका हातमा पैसा भर्दै ट्याक्सी चलाउँदै

बा १ ह ४२४० नम्बरको ग्यास टेम्पो एक एउटा उदाहरण मात्रै हो । २० वर्ष पुराना यस्ता अन्य कैयन् टेम्पो, निलो माइक्रो र ट्याक्सी सडकमा बेफिक्री गुडिरहेका छन् । यात्रु बोक्ने ट्याक्सी लगायतका कालो नम्बर प्लेट अर्थात् सार्वजनिक सवारीसाधनको आयु २० वर्षमात्रै हो । तर, सवारीसाधनको नियमन हुन नसक्दा स्क्रयाप गर्नुपर्ने सवारीसाधनहरू सडकमा यात्रु बोकेर गुडिरहेका छन् । यस्ता कागजपत्र नै नभएका ट्याक्सी चलाउनु आफ्नो बाध्यता भएको बताउँछन् ट्याक्सी चालक सुशील पौडेल ।

TAXI CHALAK SUSHIL POUDEL

पौडेल भन्छन्, ‘मैले चलाइरहेको ट्याक्सीको कुनै पनि कागजपत्र नवीकरण भएको छैन । साहुले पनि नयाँ किन्ने कुरै गरेको छैन । परिवार पाल्न भए पनि रिक्स मोलेरै गाडी कुदाइरहनु परेको छ ।’

२० वर्ष पूरा भए पनि खुलेआम ट्याक्सी चलाइरहेका बा १ झ ७१३६ नम्बरको ट्याक्सीका चालक पौडेल सरकारले कानुनलाई पूर्ण कार्यान्वायन गराउन सक्ने हो भने त्यो नियममा आफू पनि बाँधिन बाध्य हुने बताउँछन् । पौडेल भन्छन्, ‘अब सरकारले हटाउने नै भन्यो र हटाउन थाल्यो भने त म पनि चलाउँदिनँ । तर अरूको नहट्ने, मैले चलाएको मात्रै हट्ने भन्ने त भएन नि ।’

पौडेल ट्राफिक प्रहरीलाई घुस खुवाएर भए पनि यस्ता सवारीसाधन चलाइरहेको बताउँछन् । उनी भन्छन्, ‘ट्राफिक प्रहरीलाई अलि अलि पैसा हातमा राखिदिएर गाडी चलाउनुपर्छ । नत्र चिट काटेर हैरान नै लगाउँछन् ।’

चिट काटेर हजार, पन्ध्र सय तिर्नु भन्दा दुई तीन सय हातमा राखिदिँदा समयको पनि बचत, पैसाको पनि बचत हुने उनको भनाइ छ ।

यस्तै नवीकरण बिनाको ट्याक्सी चलाउँदै आएका अर्का चालक हुन्, प्रेम बहादुर घिसिङ । करिब २६ वर्षदेखि ट्याक्सी चलाउँदै आएका घिसिङ हाल ‘बा १ ज ७०६९’को ट्याक्सी चलाउँछन् । उनी भन्छन्, ‘सरकारले ट्याक्सीको कुनै पनि कागजपत्र नवीकरण गर्दैन । न नयाँ गाडी किन्ने आर्थिक क्षमता छ, न नयाँ इलेक्ट्रिक गाडी किन्ने रहर । त्यसैले धेरै रिक्स मोलेरै भए पनि पुरानै गाडी चलाइरहेको छु ।’

taxi chalak Ghising

पुरानै ट्याक्सी चलाएर जीविकोपार्जन गरिरहेका घिसिङ पनि सरकारले कानुनको निष्पक्षरुपमा कार्यान्वयन गराउने र पुराना गाडी हटाउने नै हो भने आफूले पनि पुरानो ट्याक्सी नचलाउने बताउँछन् ।

घिसिङसँग भने ट्राफिक प्रहरीले दुःख दिएको अनुभव छैन तर साथीहरूले तिरेर हिँडेको अनि हातमा पैसा राखेर हिँड्नु परेका अनुभव भने उनले पनि मज्जासँगै सुनेका छन् ।

यस्तै चालक गणेश बहादुर श्रेष्ठ ‘बा १ ज ८०२२’को ट्याक्सी चालाउँदै आएका छन् । चौथो लटमा निकालेको उनको ट्याक्सीको २० वर्षे मिति पुग्न अब केही दिनमात्रै बाँकी छ । उनी भन्छन्, ‘अहिलेसम्म त सबै कागजपत्र छ, तर म्याद सकिन लागेकोले चिन्ता बढेको छ ।’

ट्राफिक भन्छ– घुस खानेमाथि कडा कारबाही हुन्छ

यता ट्राफिक प्रहरीले भने पैसा खाएर यस्ता सवारीसाधनलाई चल्न दिएको भन्ने आरोप गलत रहेको दाबी गर्दै आएको छ । बरु सरकारी संयन्त्रका उदासीनताकै कारण त्यस्ता सवारीसाधन गुडिरहेको बताउँछन् उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेन्द्रप्रसाद भट्ट ।

२०७४ चैत १ गतेदेखि २० वर्ष पूरा भएका सार्वजनिक सवारीसाधन सडकमा गुडेको पाइएमा त्यस्ता सवारीसाधन नियन्त्रणमा लिई यातायात व्यवस्था कार्यालयमा बुझाएर त्यहीँबाट च्यासिस काटेर पत्रु बनाउनुपर्ने कानुन छ । तर, त्यस्ता सवारीलाई यातायात कार्यालयमा पटक पटक बुझाए पनि यातायात कार्यालयले चासो नदिएको र व्यवसायीको केही माग र विवादका कारण आफूहरूले त्यस्ता सवारीसाधन नियन्त्रणमा लिए पनि छुटेर सञ्चालनमा आउने गरेको भट्ट बताउँछन् ।

यद्यपि चालकहरूबाट आएको घुस लिएर गाडी चल्न दिएको भन्ने आरोप पुष्टि हुन आए त्यस्ता ट्राफिक प्रहरीलाई कारबाही गर्न ट्राफिक प्रहरी पछि नपर्ने भट्टले बताए ।

नियमन र अनुगमनमा अब सक्रिय हुन्छौँ : यातायात व्यवस्था कार्यालय

२० वर्ष पुराना सबै सार्वजनिक गाडीहरू ‘स्क्रयाप’ गर्नु पर्ने सरकारी नीति भए पनि वर्तमान अवस्थामा त्यो देखिँदैन । सडकमा २० नाघेको सार्वजनिक यातायात प्रशस्तै गुडिरहेको यातायात व्यवस्था कार्यालय सानाठूला (बागमती)का सूचना अधिकारी पवित्र कुँवर स्विकार्छन् । उनी भन्छन्, ‘केही महिनाअघि ट्राफिक प्रहरीले २० वर्ष नाघेका केही गाडी बुझाउन ल्याउनु भएको थियो । अहिले पनि त्यस्ता गाडी गुडिरहेको सुन्नमा आएको छ ।’

PABITRA KUWAR

यद्यपि २० वर्ष पुराना गाडी चलाउन पाउने अधिकार कसैमा पनि नभएको र त्यो गैरकानुनी हुने कुँवर बताउँछन् । यदि कोही कसैले गैरकानुनी रूपमा त्यस्ता सवारीसाधन चलाई भविष्यमा कुनै दुर्घटना वा समस्या भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सवारी धनी आफैँ हुने र पर्ने सबै दायित्व धनीकै हुने उनले बताए ।

२० वर्ष पुराना गाडी चल्न पाउनुपर्छ भनेर अदालतमा मुद्दा परेपछि यातायात कार्यालयबाट अनुगमनमा केही बेवास्ता गरिएको कुँवर बताउँछन् । तर, पछिल्लो समय अदालतबाट पनि त्यस्ता गाडी चलाउन नपाउने फैसला भएको भन्ने सुनिएकाले अब भने कार्यालयले फिल्ड अनुगमनलाई तीव्रता दिनुका साथै कानुन कार्यान्वयनमा सक्रियरुपमा लाग्ने उनले बताए । अदालतको फैसलाको प्रति पाएलगत्तै अनुगमनलाई तीव्रता दिने र २० वर्ष पुगेका सवारीसाधन चलाउनमा तत्कालै रोक लगाउने उनको भनाइ छ ।

ट्याक्सी व्यवसायी भन्छन्– ३ हजारभन्दा बढी सवारीसाधन २० वर्ष कटेका छन्

बागमती प्रदेशको यातायात व्यवस्था कार्यालय, सानाठूलामा भेटिएका ट्याक्सी व्यवसायी विकाश कुँवरका अनुसार अहिले पनि सडकमा २० वर्ष कटेका करिब ३ हजार भाडाका सवारीसाधन गुडिरहेका छन् । ती सवारीसाधनको नवीकरण, बीमा र रुट इजाजत केही छैन । कागजातबिना नै ती सवारीसाधन सडकमा गुडिरहेका छन् । धनी, चालक र यात्रु सबैलाई सुरक्षा जोखिम भए पनि अटेर गरेर यस्ता सवारीसाधन चलिरहेका छन् ।

Myad sakina lageko taxi

यस्ता सवारीसाधनमा बीमा नहुने भएकाले यसबाट सवारीभित्र वा सवारीबाहिर सबैतिरका यात्रु जोखिममा रहेको उनको भनाइ छ ।

कानुनी व्यवस्था, सरकारको नीति आदि कारणबाट २० वर्ष कटेका भाडाका सवारीसाधन सडकमा गुड्न नपाउने भए पनि यातायात व्यवस्था कार्यालय र ट्राफिक प्रहरीले आँखा चिम्लँदा यस्ता सवारीसाधन जोखिमपूर्ण अवस्थामा गुडिरहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया