सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
अन्तर्वार्ता

‘बलिउड फिल्मका एक-दुई सिनमा रमाउन चाहिनँ’

‘ऐरी’ लाई हिन्दी फिल्म मात्र हो भन्न मिल्दैन : अभिनेता प्रदीप खड्का
मङ्गलबार, १९ मङ्सिर २०८०, १२ : ५४
मङ्गलबार, १९ मङ्सिर २०८०

प्रदीप खड्का नेपाली फिल्म उद्योगमा वर्तमान समयका सुपरस्टार हुन् । ‘प्रेमगीत’ बाट चर्चामा छाएका खड्काको पछिल्लो फिल्म ‘प्रकाश’ हो । व्यावसायिकभन्दा पनि समीक्षागत रूपमा फिल्म सफल मानिन्छ ।

‘प्रकाश’ अगाडि उनको फिल्म ‘प्रेमगीत–३’ आएको थियो । यसको रिलिज नेपाल र भारतमा एकसाथ भयो । भारतीय हलमा कमर्सियल रूपमा फिल्म रिलिज भएको यो नै पहिलो हो । यसको श्रेय उनलाई नै जान्छ । प्रदीप अहिले हिन्दीसहित केही भाषामा निर्माण हुने फिल्म ‘ऐरी’ अभिनय गर्दै छन् । केही समयअगाडि घोषणा भएको फिल्मको नेपाल र भारतीय मिडियामा राम्रो चर्चा भएको थियो ।

त्यसो त प्रदीपले केही समयदेखि नेपाली फिल्म अभिनय गरेका छैनन् । उनलाई लिएर फिल्म बनाउन अहिले पनि थुप्रै निर्माता तयार छन् । ‘ऐरी’ मार्फत ग्लोबल मार्केट विस्तारका लागि गरेकाले नेपाली फिल्ममा केही समय दुरी बढेको उनी बताउँछन् । यिनै अभिनेता प्रदीप खड्कासँग फिल्म ‘ऐरी’ र अभिनयका विषयमा रातोपाटीकर्मी कुवेर गिरीले गरेको कुराकानी:

–पछिल्लो समय केमा व्यस्त हुनुहुन्छ ?

फिल्म नगरेको त धेरै भयो । अहिले विज्ञापन चलचित्र र नयाँ फिल्मको एक्सरसाइजमै व्यस्त भन्नुपर्ला ।

–फिल्म नआएको धेरै समय भयो त ?

त्यो होइन । फिल्म ‘प्रेम गीत–३’ र ‘प्रकाश’ को चर्चापछि दर्शकको मप्रति अपेक्षा धेरै बढेको छ । त्यसैले राम्रो फिल्म दिनु पर्छ भनेर छनोटमै छु म अझै । मेरो विचारमा दर्शकलाई एक पटक राम्रो फिल्म दिएर अन्य समय झुक्याउन हुँदैन । किनभने अभिनेता भनेको बैङ्क जस्तो हो । जसरी बैङ्कप्रति ग्राहकको विश्वास उठेपछि डुब्छ, अभिनेता पनि त्यस्तै हो । मकहाँ अहिले पनि फिल्म धेरै आएका छन् । कुन गर्ने, के गर्ने भन्ने छनोटमै छु । अहिले ४, ५ वटाको स्क्रिप्ट मन परेको छ । अब फिल्म गर्छु ।

pradeep khadka (1)

–तपाईंले खोजेको फिल्म कस्तो हो त ?

फिल्ममा कि कन्टेन्ट हुनुपर्‍यो कि कमर्सियल्ली सक्सेस र मास अडियन्समा पुग्ने हुनुपर्‍यो । मझदारको कन्टेन्ट भए पनि मनोरञ्जनात्मक हुनुपर्‍यो । त्यसपछि पो फिल्म गर्न मन लाग्छ । अहिले धेरैले मलाई तिमीले फिल्म गर्दा मार्केटबाट पैसा आउँथ्यो । २, ४ वटा फिल्म बढ्थ्यो । उद्योग चलायमान हुन्थ्यो । तिमीले रोक्नाले धेरै चिज रोकियो पनि भनेका छन् । राम्रो भयो भने शाहरूखका तीन फिल्म आउँदा चल्दो रहेछ । यो मैले पनि बुझेँ । अव वर्षामा २, ३ वटा राम्रो फिल्म गर्नु पर्‍यो भनेर छानेको छु ।  अब रेगुलर फिल्म गर्छु ।

–‘प्रकाश’ पछि प्रदीपले राम्रो फिल्म रेगुलर दिन्छ भन्ने दर्शकमा अपेक्षा थियो तर त्यो हुन सकेन, किन ?

मलाई अभिनेताका रूपमा चिनाउन ‘प्रकाश’ महत्त्वपूर्ण मानिन्छ । त्यो हिसाबले दर्शकको अपेक्षा हुनु ठिक हो । तर फिल्म ‘प्रेम गीत ३’ का लागि भारत बसे २ वर्ष । ‘प्रकाश’ को छायाङ्कनपछि के गर्छु भन्नेमा ध्यान दिइनँ । त्यसले ग्याप भयो । त्यो समय ‘प्रकाश’ र ‘प्रेम गीत ३’ सफल हुन्छ भन्ने जजमेन्ट पनि थिएन । त्यसको रिजल्ट पनि हेर्नु थियो ।

–भर्खर सरप्राइज तरिकाले हिन्दी फिल्म ‘ऐरी’ घोषणा भयो नि ?

‘ऐरी’ मा बलिउडको टिम जो छ, उहाँहरू हामी नेपाली टिमसँग जोडिएर काम गर्न पहिलेदेखि नै रेडी हुनुहुन्थ्यो । कुन स्टोरीमा काम गर्ने भन्ने फाइनल थिएन । हामी स्क्रिप्ट राम्रो हुनु पर्छ भनेर लागि परेका थियौँ । जब स्क्रिप्ट फाइनल भयो, काम गर्ने तयारी भयो । अनि भयो घोषणा । हामीले काठमाडौँमा बसेर तयारी गरेको भए साथीभाइ भेट हुँदा पहिले हल्ला हुन्थ्यो । यो भारतमा तयारी भएकाले सरप्राइज जस्तो भयो । 

–हिन्दी फिल्म अभिनय गर्दै गर्दा कतिको एक्साइटेड हुनुहुन्छ ?

यो हिन्दी फिल्म मात्र हो भन्न मिल्दैन होला । भारतमा पनि बलिउड फिल्म भनेर समाचार आएको थियो । यो हिन्दी भाषामा पनि आउँछ । यो फिल्म हिन्दी होइन, भाषाको हिसाबले धेरै भाषामा आउने हो । यो नितान्त नेपाली फिल्म हो जुन भारतीय र नेपालीले निर्माण गर्ने र दुवै बजारमा प्राथमिकता पाउने फिल्म हो । फिल्मको कथा पनि राम्रो छ । यस्तो कथामा अहिलेसम्म फिल्म बनेकै छैन । यो सिकारीको विषयमा बन्न लागेको हो । जुन पछिल्लो जेनेरेसनलाई थाहा छैन ।

–‘ऐरी’ घोषणालाई बलिउडका मेकरले कसरी हेरेका छन् त ?

हाम्रो घोषणाको आउटपुट देखेर उहाँहरू दङ्ग हुनुहुन्छ । सानो बजेटमा राम्रो काम गर्न सक्छ भनेर हामीलाई ‘प्रेमगीत–३’ बाट उहाँहरूले बुझ्नु भएको छ । त्यो प्लानिङ बेगरको प्रोजेक्ट थियो । यो ‘ऐरी’ प्लानिङसहितको प्रोजेक्ट हो । त्यसैले त्यहाँका मेकरमा पनि प्रोजेक्टलाई लिएर उत्साह छ ।

pradeep khadka (3)

–फस्ट लुकको प्रतिक्रिया कस्तो रह्यो ?

फस्ट लुकको प्रतिक्रिया भारत र नेपालबाट पनि राम्रो मिलेको छ । त्यसमा कमीकमजोरी पक्कै छ । त्यसका लागि मैले शरीर बनाउन बाँकी छ । त्यो छोटो समयमा गरेको काम हो । त्यसैले सबैलाई हर्षित तुल्याएको छ, जुन किसिमबाट फस्ट लुक्सले भारतमा पनि फिल्मप्रति अपेक्षा बढाएको छ । हामी तीन करोड जनसङ्ख्याबाट ठुलो बजारमा जाँदैछौँ । जहाँ हजारौँ फिल्म बन्छन् । त्यहाँ हामी नोटिस हुनु भनेको राम्रो हो ।

–अभिनेता विपिन कार्कीले बलिउड फिल्म ‘एनिमल’ मा अभिनय गर्ने कुरो थियो, पछि हटाइयो । प्रदीपको पनि यस्तै हुन्छ कि ?

नेपालबाट बलिउड प्राक्टिक्स नियाल्ने हो भने मनीषा कोइराला दिदीले धेरै राम्रो काम गरेको देखिन्छ । त्यसपछि पनि धेरै कलाकारले काम गरेका छन् । तर कलाकार मात्र जाँदा हामी आफूलाई दह्रो तरिकाले उपस्थित जनाउन नसक्दा रहेछौँ । त्यसैले कलाकारका रूपमा मात्र म बलिउडमा देखिने भए ६ महिनाअगाडि नै देखिन सक्थेँ । अहिले हामी स्क्रिप्ट, लगानी र प्रोडक्सन हाउससहित पुगेका छौँ । यसको लिडमा हामी छौँ र हाम्रो अनुकूल फिल्म बन्छ । 

साउथका कतिपय कलाकार एक्लै बलिउड छिरेका कारण फेलियर भएका उदाहरण धेरै छन् । त्यसैल म एक्लै गएँ भने फेलियर हुन सक्छु । टिम लिएर जाँदा हल्लाउन गाह्रो पर्छ भनेर म कुरिरहेको हो । थोरै बजेटमा राम्रो फिल्म दियौँ र पैसा कमायौँ भने त्यहाँका वितरकले यहाँ फिल्म घोषणा हुने बित्तिक्कै खोज्छन् । त्यो भनेको हाम्रो उद्योग बन्नु हो । मैले गर्न खोजेको पनि त्यही हो ।

–अन्य बलिउड फिल्मको अफर पनि मिलेका थिए  कि ?

अफर त धेरै आएका थिए । मैले एक सिन खेले पनि हाम्रो अडियन्सले मलाई माया गरेर हेर्न जानुहुन्थ्यो होला । म पनि बलिउड फिल्म गरेँ भनेर रमाउँथे होला । दर्शक नझुक्यऔँ भन्दै म त्यसमा रमाउन चाहिनँ । राम्रो तवरबाट आउनु पर्छ भनेर अगाडि बढेँ । हामीसँग भएको माउन्टेन पिपुलको कथा भारतको कुनै फिल्म उद्योगले भन्न सक्दैन । त्यसैले म अरूसँग जोडिन चाहिनँ ।

pradeep khadka (4)

–‘ऐरी’ का लागि केकस्तो तयारी हुँदैछ त ?

‘ऐरी’ अर्थ सिकारी हो । रुख चढ्ने, दौडिने, पौडिनेदेखि सिकारीसँग सम्बन्धित कला केके हुन सक्छ, त्यो सबै गर्छु । फिल्मको कथा सिकारबाटै आफ्नो जीवन चलाउनेको व्यक्तिको हो ।

–‘प्रकाश’ पछि केही नेपाली फिल्ममा जोडिनु भएको थियो । किन बनेन ?

हिन्दी फिल्म खेल्ने भएपछि जे पायो त्यही नगर भनेर बलिउडका मेकरले भने । फेरि ग्याप पनि नबस भने । त्यो हिसाबले म नेपाली फिल्म ‘कमिनो’मा जोडिएको थिएँ । भिसाको टेक्निकल कारणले फिल्म बनेन । फिल्म मेक्सिकोमा सुटिङ गर्नुपर्ने थियो । मैले सबै प्रोसेस पूरा गरेर घोषणा गरौँ भन्दा मेकरले जरुरी भयो भन्दै घोषणा गर्नुभयो । फिल्मका लागि भिसा मिलेन अनि रोकियो ।

–प्रदीप आफैँले फिल्म बनाउन लागेको कुरो पनि बाहिर आएको थियो ?

मलाई एउटा आइडिया आएको थियो । त्यो हिन्दी फिल्म बन्नु पर्छ भनेर लागेको थिएँ । त्यो पनि प्लानिङमा छ । पहिले ‘ऐरी’ दिनु पर्छ भनेर लागेका हौँ ।

pradeep khadka (2)

–बलिउड सेलिब्रेटीसँग पनि उठबस गरिरहनु भएको छ ?

हाम्रो निर्माताको बलिउडका सबैसँग राम्रो सम्बन्ध छ । उहाँहरूको मप्रति सकारात्मक भाव छ । उहाँहरूलाई नेपाली फिल्म उद्योगलाई राम्रो गर्न पाए क्रेडिट मिल्छ भन्ने छ । मुम्बईमा उहाँको  धेरै ठुलो स्टुडियो छ । भोलिको दिनमा मेरो हिन्दी फिल्म आउँदा बलिउडका कलाकार र मेकरले थ्रेटका रूपमा नलिऊन् । सक्नु हुन्छ भने सबैसँग चिनाएर, भेट गराएर यस्तो मानिस हो भनेर चिन्न सहज वातावरण बनाउन सक्नुहुन्छ । सक्नुहुन्न भने फिल्म आउँदा सपोर्ट गर्नुस् भनेर सबैलाई भेट गराइराख्नुभएको छ । उहाँले नाना पाटेकर लगायत धेरैसँग भेट गराइरहनुभएको छ । अहिलेको भेटघाट बलिउडसँगको रिलेसन हो ।

–अन्त्यमा केही छ कि ?

‘ऐरी’ हिन्दी, अङ्ग्रेजी, नेपालीलगायत केही भाषामा निर्माण भएर ग्लोबल मार्केटमा जाने फिल्म हो । यो प्रदीपका लागि मात्र होइन नेपाली फिल्म उद्योगका लागि पनि महत्त्वपूर्ण छ । एउटा नेपाली कलाकारले हिन्दी फिल्म बनाएर पैसा कमाउनु भनेको नेपाली फिल्मका लागि लगानी भित्र्याउनु हो । त्यसैले सबैको सहयोगको पनि अपेक्षा छ । म एक वर्षमा दसवटा फिल्म साइन गर्न सक्थेँ । त्यो अफर छोडेर मैले परिवर्तनका लागि यो हिन्दी फिल्म आँट गरेँ । त्यो  परिवर्तनका लागि हो । यो मेरो प्रयास हो । जबसम्म यो कुरो सक्सेस हुँदैन, तबसम्म जारी रहन्छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप