बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

सभामुखद्वारा चिकित्सक, कृषक र गृहिणी पुरस्कृत

बुधबार, २० मङ्सिर २०८०, २२ : ३५
बुधबार, २० मङ्सिर २०८०

झापा । सभामुख देवराज घिमिरेले लाल भागीरथा बानियाँ प्रतिष्ठानद्वारा आज आयोजित एक कार्यक्रममा उत्कृष्ट चिकित्सक, कृषक र गृहिणीलाई पुरस्कृत गरेका छन् । सामाजिक क्षेत्रमा अग्रणी रहेका प्रतिभालाई प्रतिष्ठानले बर्सेनि पुरस्कृत गर्दै आएको हो ।

पुरस्कृत हुनेमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका शिक्षाध्यक्ष प्रा डा सञ्जीव शर्मा, व्यावसायिक रुपमा जैविक खेती गर्दै आएका मेचीनगरका कृषक बद्री राउत र उदाहरणीय महिला हिमा लुइँटेल पाठक रहेका छन् ।

सभामुख घिमिरेले उनीहरु तीनै जना प्रतिभालाई मेचीनगर–११ बानियाँ गाउँमा आयोजित समारोहमा जनही रु ३१ हजार नगद, दोसल्ला र प्रमाणपत्रसहित पुरस्कृत गरे । सभामुख घिमिरेले स्वास्थ्य सेवालाई विपन्न समुदायको पहुँचमा पुर्याउने चिकित्सक, आरोग्यताका लागि अपरिहार्य जैविक कृषि बाली उत्पादन गर्ने कृषक र ज्येष्ठ नागरिकको हेरचाहमा प्रशंसनीय कार्य गर्ने गृहिणीलाई एकैथलोमा पुरस्कृत गर्ने परम्पराको थालनी गरेकोमा आयोजकप्रति आभार व्यक्त गरे ।

झापामा जन्मेर देश विदेशमा ख्याति आर्जन गर्नुभएका प्रतिभालाई प्रतिष्ठानले हरेक वर्ष सम्मान गर्दछ । पुरस्कार प्रदान गर्नका लागि प्रतिष्ठानले रु १० लाखको अक्षयकोष स्थापना गरेको छ । यस वर्ष प्राडा सञ्जीव शर्मालाई लाल भागीरथा उत्कृष्ट प्रतिभा पुरस्कार प्रदान गरिएको हो ।

प्राडा शर्मा विगत २६ वर्षदेखि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटु, मिर्गौला, मधुमेह र सर्पदंश उपचारका लागि विशेषज्ञको रुपमा सेवारत रहेका छन् । प्रतिष्ठानका शिक्षाध्यक्षसमेत रहेका उनको चिकित्सा क्षेत्रमा १५ वटा विधाका एकसय ६७ वटा अनुसन्धान र सातवटा पुस्तक प्रकाशित भइसकेका छन् ।

कोशी प्रदेशको दूरदराजमा उनको नेतृत्वमा हाल विपन्नका लागि स्वास्थ्य शिविर र टेलिमेडिसन सेवा सञ्चालन भइरहेको छ । झापाको मेचीनगर–१४ दुहागढीमा विसं २०२५ चैत १८ गते जन्मिएका उनी भुँइमान्छेको पहुँचमा स्वास्थ्य सेवा पुर्याउन समर्पित चिकित्सकको रुपमा परिचित छन् ।

 यसैगरी, लाल भागीरथा उत्कृष्ट कृषि पुरस्कारबाट पुरस्कृत मेचीनगर–५ निवासी बद्रीकुमार राउतले वैदेशिक रोजगारीबाट घर फर्केर १० कट्ठा जग्गामा व्यावसायिक रुपमा जैविक खेती गरिरहेका छन् ।

उनले तरकारी र दुग्धजन्य उत्पादन बजारमा लगेर वार्षिक रु १५ लाखको आम्दानी गर्दै आएका छन् । लाल भागीरथा उत्कृष्ट गृहिणी पुरस्कारबाट सम्मानित बिर्तामोड–४ की हिमा लुइँटेल वृद्धावस्था र रोगले थलिएका सासूससुराको स्याहार र सामाजिक क्षेत्रमा असल महिलाको रुपमा परिचित छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप