शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
रिपोर्ट कार्ड

२१ मन्त्रालयको रिपोर्ट कार्ड : श्रमले ५७ प्रतिशत नम्बर कटाउँदा खेलकुदको रिजल्ट झुर (सूचीसहित)

आइतबार, २४ मङ्सिर २०८०, १८ : ५१
आइतबार, २४ मङ्सिर २०८०

काठमाडौँ । संघीय सरकार मातहतका २१ वटा मन्त्रालयको रिपोर्ट कार्ड तयार भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक बाहेक सय वटा सूचकमा २१ वटै मन्त्रालयका व्यवस्थापन परीक्षण रिपोर्ट तयार गरेको हो । 

मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पठाएको उक्त रिपोर्टअनुसार अति उत्कृष्ट, उत्कृष्ट र राम्रो नतिजा कुनै मन्त्रालयले पनि ल्याउन सकेका छैनन् । 

रातोपाटीलाई प्राप्त रिपोर्ट कार्डअनुसार ११ वटा मन्त्रालयको नतिजा सन्तोषजनक मात्रै देखिएको छ । यस्तै ११ वटा मन्त्रालयको नतिजा खराब देखिएको छ । 

स्तर वर्गीकरणको नमुनाअनुसार ९० भन्दा बढी अंक ल्याउनेलाई अति उत्कृष्ट अर्थात् ‘ए’ प्लसको ग्रेड तय गरिएको थियो । ७५ देखि ९० ल्याउने उत्कृष्ट अर्थात् ‘ए’, ६० देखि ७५ अंक ल्याउने राम्रो अर्थात् ‘बी’ प्लस, ४५ देखि ६० अंक ल्याउने सन्तोषजनक अर्थात ‘बी’, ३० देखि ४५ अंक ल्याउने कमजोर अर्थात् ‘सी’ प्लस र ३० भन्दा कम अंक ल्याउने खराब अर्थात् सी ग्रेड निर्धारण गरिएको थियो । 

तर, रिपोर्ट अनुसार खानेपानी, स्वास्थ्य तथा जनसंख्या, सहरी विकास, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन, महिला बालबालिका, कानुन, भौतिक पूर्वाधार तथा यातायात, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि र युवा तथा खेलकुदले सी प्लस मात्रै ग्रेड पाउँदै कमजोर नतिजा ल्याउनेमा दर्ज भएका छन् । त्यसमा पनि युवा तथा खेलकुद मन्त्रालयले जम्मा २९.५० अर्थात् ३२.४२ प्रतिशत नम्बर पाएको छ । 

यस्तै श्रम मन्त्रालयले सन्तोषजनकमात्रै नतिजा पाए पनि कार्यसम्पादनमा सबैभन्दा अगाडि देखिएको छ । सो मन्त्रालयले बी ग्रेड पाउँदै ५१.५० अंक अर्थात् कुल ५७.८७ प्रतिशत प्राप्तांक पाएको छ । त्यसपछि परराष्ट्र, भूमि व्यवस्था, अर्थ, गृह, रक्षा, सञ्चार, संघीय मामिला, शिक्षा, वन र ऊर्जा मन्त्रालयको सन्तोषजनक नतिजा रहेको छ । 

मन्त्रालयले लोक सेवा आयोगको कार्यक्षेत्रभित्रका विषयबाहेक सार्वजनिक निकायले प्रचलित नीति, कानुन तथा प्रशासकीय नियम र कार्यविधि पालन गरे नगरेको, वार्षिक योजना, बजेट तथा कार्यक्रमबमोजिम कार्य गरे नगरेको, कार्यसम्पादन सम्झौताको पालना गरे नगरेको विषयमा परीक्षण गरेको थियो । त्यसैगरी कर्मचारी व्यवस्थापन, कार्यालय व्यवस्थापन, प्रशासन, जिन्सी तथा अभिलेख व्यवस्थापन लगायत सार्वजनिक सेवा प्रवाहसँग सम्बन्धित समग्र विषयको निरीक्षण, सुपरिवेक्षण, अनुगमन, मूल्याङ्कन, जाँचबुझ र परीक्षण गरेको थियो। यी विषयलाई आधार मानेर गरेको परीक्षणमा कुनै पनि मन्त्रालयले अति उत्कृष्ट काम गरेको नपाइएको हो ।

rrrr

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप