शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

नेतन्याहुले छिट्टै अमेरिका भ्रमण गर्ने

शनिबार, २० असार २०८३, २२ : ०७
शनिबार, २० असार २०८३

इजरायल ।  इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले छिट्टै अमेरिका भ्रमण गर्ने कायक्रम रहेको इजरायली प्रधानमन्त्रीको कार्यालयले शुक्रबार जानकारी गराएको छ । उनीहरूबिच शुक्रबार नै टेलिफोन संवाद भएको थियो ।

प्रधानमन्त्रीको कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार शुक्रबार भएको टेलिफोन संवादका क्रममा प्रधानमन्त्री नेतन्याहुले अमेरिका स्थापनाको २५० औँ बर्षगाँठको अवसरमा अमेरिकी जनता र राष्ट्रपति स्वयंलाई इजरायल र त्यहाँका नागरिकको तर्फबाट बधाइ दिएका थिए ।

विज्ञप्तिमा प्रधानमन्त्री नेतन्याहुले अमेरिकाको स्थापना भएको २५० औँ वर्षगाँठको अवसरमा ट्रम्पलाई बधाई दिएका थिए । उनले भनेका छन्, “संयुक्त राज्य अमेरिका नै विश्वको स्वतन्त्रता सुनिश्चित गर्ने भूमिकामा महत्वपूर्ण योगदान गर्न सक्छ, इजरायल दुई राष्ट्रबीचको घनिष्ठ सम्बन्धको अत्यधिक कदर गर्दछ।”

विज्ञप्तिमा अगाडि भनिएको छ, “प्रधानमन्त्री नेतन्याहु र राष्ट्रपति ट्रम्पले अमेरिकामा चाँडै भेट्ने सहमति भएको छ।”

टाइम्स अफ इजरायलका अनुसार प्रधानमन्त्रीको कार्यालयले प्रस्तावित भेटको कुनै विशिष्ट मिति वा स्थानको बारेमा जानकारी दिएको छैन।

अमेरिकी राष्ट्रपति ट्रम्पले पछिल्ला केही हप्ताहरूमा लेबनानमा हिजबुल्लाहसँगको युद्धले इरानसँगको शान्ति वार्तालाई जोखिममा पारेको नेतन्याहुको आलोचना गर्दै आएका समय दुइृ नेताबीच टेलिफोन संवाद भएको हो ।

इरानसँग भएको १४ बुँदे समझदारी पत्रमा युद्धविरामका लागि वातावरण बनाउन ६० दिनको समयसीमा तोकिएको छ । कतार र पाकिस्तानले जुलाई १ मा दोहामा अमेरिका र इरानी वार्ताकारहरूसँग अलग–अलग बैठक सम्पन्न गरेका थिए। कतारको विदेश मन्त्रालयका प्रवक्ताका अनुसार, १४ बुँदे सम्झौतासम्बन्धी बिषयहरूमा ‘सकारात्मक प्रगति’ भएको छ ।

कतारको विदेश मन्त्रालयका प्रवक्ताले भने, “दुवै पक्षले आगामी अवधिमा छलफल जारी राख्ने सहमति गरेका छन् । अर्को बैठक दिवङ्गत पूर्व इरानी सर्वोच्च नेता अलि खामेनीको अन्तिम संस्कारको कार्यक्रमपछि सकेसम्म चाँडो तय गरिनेछ।”

यसअघि जुलाई १ मा इजरायलले लेबनानसँगको विद्यमान युद्धविरामको ढाँचाका बावजुद हिजबुल्लाहविरुद्ध सैन्य कारबाही जारी राख्ने बताएको थियो । इजरायली उपविदेशमन्त्री शारेन हास्केलले भन्नुभएको थियो, “इरान समर्थित यो सशस्त्र समूहले अझै पनि प्रत्यक्ष सुरक्षा खतरा उत्पन्न गरिरहेको छ र लेबनानमा स्थायी स्थिरता हासिल गर्न हिजबुल्लाहलाई निःशस्त्र नगरी सम्भव छैन।”

एएनआईसँगको भर्चुअल अन्तर्वार्तामा हास्केलले भने, “हिजबुल्लाहले इजरायली क्षेत्रमा आक्रमण जारी राखेसम्म इजरायलको सैन्य कारबाही पनि जारी रहनेछ । उनले इजरायल र लेबनान दुवैको हित यस समूहको सैन्य क्षमता विघटनमा रहेको बताए ।

“यदि हिजबुल्लाहले इजरायलमाथि आक्रमण जारी राख्यो भने, हामी हाम्रा जनता, समुदाय र हाम्रा सेनाको रक्षार्थ प्रतिरोध जारी राख्नेछौँ,” उहाँले भन्नुभयो ।

“हामी यो ‘इरानी आतङ्ककारी’ सेनालाई लेबनानबाट बाहिर निकाल्नुभन्दा बढी अरू केही चाहँदैनौँ र लेबनानी सरकार पनि यो ‘आतङ्ककारी’ सङ्गठनलाई हटाएर निःशस्त्र गर्न चाहन्छ।”

यसैबीच, जुन ३० मा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी आर्थिक सहायता समाप्त गर्ने महत्वाकाङ्क्षी नीति परिवर्तनको घोषणा गरेका थिए । उनले देशको अर्थतन्त्र मजबुत रहेकाले अब विदेशी अनुदानको आवश्यकता नरहेको बताए।

यी टिप्पणी गर्दै प्रधानमन्त्री नेतन्याहुले आफ्नो प्रशासनको सुरक्षा, भूराजनीतिक मोर्चा, राष्ट्रिय सार्वभौमिकता, क्षेत्रीय सैन्य उपस्थिति र कूटनीतिक प्रयासहरूमा व्यापक रणनीति प्रस्तुत गर्नुभएको थियो ।

वाशिङ्गटनसँगको आर्थिक सम्बन्धबारे बोल्दै नेतन्याहुले अगाडि भन्नुभयो, “म अमेरिकी सहायता रोक्न चाहन्छु । यो कल्याणकारी कोष जस्तै हो । अब, हामीलाई यो आवश्यक छैन ।”

उनले इजरायलको वर्तमान आर्थिक क्षमताले बाहिरी सहयोगलाई नगण्य बनाएको बताउँदै भने, “हाम्रो अर्थतन्त्र अब सानो अर्थतन्त्र होइन ।

हामीले अमेरिकाबाट प्राप्त गर्ने कुल गार्हस्थ्य उत्पादनको यो सानो अंशलाई आँफैले व्यवस्थापन गर्न सक्छौँ । म यो प्रक्रिया यो वर्षबाट सुरु गर्न चाहन्छु।”

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप