आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

सामुदायिक शैक्षिक सुधार गर्न काठमाडौँ महानगर र काठमाडौँ विश्वविद्यालयबिच सम्झौता

मङ्गलबार, २६ मङ्सिर २०८०, १६ : ०५
मङ्गलबार, २६ मङ्सिर २०८०

काठमाडौँ । सामुदायिक शैक्षिक सुधारका कार्यक्रम सञ्चालन गर्न काठमाडौँ महानगरपालिकाले र काठमाडौँ विश्वविद्यालयबिच नीतिगत सम्झौता भएको छ । 

महानगर उपप्रमुख सुनिता डङ्गोल, प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी र विश्वविद्यालयका उपकुलपति डा. भोला थापाको रोहवरमा आज शिक्षा अधिकारी सीताराम कोइराला र विश्वविद्यालय स्कुल अफ एजुकेसनका डीन प्रा डा बालचन्द्र लुइँटेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।  

महानगरपालिकाले चालु आर्थिक वर्षदेखि कार्यान्वयनमा ल्याएको गौरव योजना ‘गरी खाने शिक्षा, महानगरको इच्छा’ लाई दिगो र प्रभावकारी रूपमा सञ्चालन गर्नु सहकार्यको मुख्य उद्देश्य रहेको छ । योजनामा टिचर कलेज कार्यक्रम समावेश छ । यो कार्यक्रममा शिक्षकहरूको क्षमता विकास तालिम उपलब्ध गराइनेछ । शिक्षकसँगै शैक्षिक गुणस्तर सुधारमा योगदान गर्न चाहने व्यक्तिहरू सहभागी हुन सक्नेछन् । यसरी सञ्चालन हुने तालिममा दिइने प्रमाण पत्रलाई वृत्ति विकासका लागि योग्यता मानिनेछ । 

सम्झौता बमोजिम शिक्षामा सिप, पुस्तकरहित शुक्रवार तथा बाल सञ्जाल गठन तथा सशक्तीकरण, शिक्षक विद्यार्थीको प्रविधिमैत्री सिप विकास कार्यक्रम, शिक्षण सिकाइ पेडागोजीमा सुधार, विद्यार्थीको नतिजा सुधार र प्रारम्भिक बाल विकास कक्षाको स्तरोन्नतिका लागि सहकार्य हुनेछ । कार्यक्रम विश्वविद्यालयको स्कुल अफ एजुकेसनमार्फत कार्यान्वयनमा आउनेछ । 

टिचर कलेज कार्यक्रम महानगरपालिकाको नयाँ कार्यक्रम हो । यसमा विद्यालयका शिक्षक तथा संलग्न जनशक्तिको दक्षता बढाउन तालिम सञ्चालन हुनेछ । यसरी सञ्चालन भएका तालिमबाट प्राप्त गरेको अङ्कका आधारमा योग्यता निर्धारण हुनेछ । यसका लागि छोटो अवधिको पाठ्यक्रम तयार पारिनेछ । 

जनशक्तिको क्षमता विकासका क्षेत्र र आवश्यकता पहिचान गर्ने, पाठ्यक्रम र शिक्षण सिकाइ विधि तयार पार्ने स्कुल अफ एजुकेसनले गर्नेछ । यसका लागि आवश्यक पर्ने समय, जनशक्ति तथा अन्य प्रशासनिक खर्चको लागत अनुमान तयार पारेपछि कार्यक्रमगत सम्झौता हुनेछन् । 

सम्झौतापछि बोल्दै उपप्रमुख डंगोलले असल नागरिक उत्पादन गर्न महानगरपालिकाले शिक्षा सुधारका लागि लगानी गरेको बताइन् । ‘हामीले तयार पारेका कार्यक्रम तत्काल कार्यान्वयन गर्न चाहन्छौँ । यसबाट नीतिमा सुधार गर्नुपर्ने कुनै अवस्था देखियो भने सुधारको अवसर प्राप्त हुनेछ’ उनले भनिन्, ‘एउटा होइन, सबै सामुदायिक विद्यालय नमुना हुनुपर्छ । नानीबाबुलाई विद्यालय पठाउने बेला हरेक अभिभावकको मनमा सामुदायिक विद्यालयको चित्र आउने बनाउनुपर्छ ।’ 

व्यक्ति, समुदाय र देशको उन्नतिका लागि परम्परागत तथा रैथाने ज्ञान र छोटो अवधिको तालिमबाट प्राप्त अङ्कका आधारमा योग्यता निर्धारण गर्नुपर्ने र यसले व्यक्तिको उत्पादनशीलता बढाउने विश्वविद्यालयका उपकुलपति थापाले बताए । 

महानगरपालिकाभित्रका सामुदायिक विद्यालयमा २ हजार २०२ जना शिक्षकले अध्यापन गराउँदै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप