शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभा उम्मेदवार बन्न कांग्रेसमा दौडधुप : कुन प्रदेशबाट कसको सम्भावना ?

बिहीबार, २८ मङ्सिर २०८०, ११ : ५६
बिहीबार, २८ मङ्सिर २०८०

काठमाडौं । नेपाली कांग्रेसमा राष्ट्रियसभा सदस्यका लागि नेताहरुले दौडधुप थालेका छन् । गत वर्ष मंसिरमा सम्पन्न आम निर्वाचनमा टिकट नपाएर र पराजित भएकाका नेताहरु राष्ट्रियसभा उम्मेदवारका लागि मुख्य दौडमा देखिएका छन् ।

कांग्रेसका एक पदाधिकारी अनुसार राष्ट्रिय सभा सदस्यमा धेरैलाई बचन दिएकाले सभापति देउवा सकस छ । गत आम चुनावमा गठबन्धनका कारण उम्मेदवार हुन वञ्चित भएका अधिकांशलाई राष्ट्रिय सभामा ल्याउन देउवाको बचन दिएको पाइएको छ ।

फागुन २० मा (एक जना मनोनीतसहित) २० सांसद ६ वर्षे कार्यकाल पूरा गरी बिदा हुँदैछन् । यसरी रिक्त हुने १९ पदका लागि निर्वाचन आयोगको परामर्शमा सरकारले माघ ११ गतेका लागि निर्वाचनको मिति तय गरिसकेको छ । कांग्रेसले राष्ट्रपतिबाट मनोनीत एक सदस्यबाहेक १९ सिटमध्ये कम्तीमा ९ स्थान पाउने सम्भावना छ ।

माओवादी केन्द्रका लागि ६, एकीकृत समाजवादीका लागि ३ र जनता समाजवादीका लागि १ सिटमा भागबण्डाको मोटामोटी सहमति भइसकेको छ । कांग्रेसले कोशी, मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा एक–एक सिट पाउने छ भने बागमती र गण्डकीमा दुई–दुई सिट पाउने देखिन्छ ।

कांग्रेसका एक पदाधिकारीका अनुसार कोशी प्रदेशबाट सिटौला, मधेस प्रदेशबाट अनिल रुगट्टा, गण्डकी प्रदेशबाट गोपालमान श्रेष्ठलाई राष्ट्रिय सभामा ल्याउने सभापति देउवाको मनसाय छ । 

बागमती प्रदेशबाट कलाकार निर शाह, नेपाली कांग्रेस काठमाडौँ जिल्ला सभापति सबुज बानियाँलाई राष्ट्रिय सभा उम्मेदवार बनाउने देउवाको तयारी छ । सभापति बानियाँलाई उम्मेदवार बनाउन महामन्त्री गगन थापाको पनि जोड रहेको बुझिएको छ । यद्यपि गठबन्धनमा भागबण्डा हुँदा कांग्रेसको कोटामा पर्ने कलस्टरको सिटले उम्मेदवारको टुङ्गो लाग्ने छ ।

कांग्रेसले एक–एक सिट पाउने देखिएको लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा भने उम्मेदवार कसलाई बनाउने भन्नेबारे मुख खोलेका छैनन् । लुम्बिनी प्रदेशबाट भरत शाह, कृष्णकिशोर घिमिरे लगायतको दाबी छ । कर्णाली प्रदेशबाट युवा नेता भूपेन्द्रजंग शाहीलाई ल्याउनुपर्ने कांग्रेस नेताहरू बताउँछन् । सभापति देउवाका विश्वासपात्र जीवनबहादुर शाहीले कर्णालीबाट भूपेन्द्रजंगको आवश्यकता औँल्याए । उनले भने, ‘भूपेन्द्र कर्णालीबाट तरुण दलको केन्द्रिय (महासचिव) पुगेको मान्छे हो । उहाँलाई हामी प्रदेशको सदस्यको टिकट पनि दिएनौँ । राष्ट्रिय सभामा उहाँलाई ल्याउँदा राम्रो हुन्छ ।’ 

राष्ट्रिय सभा कार्यकर्तालाई जागिर खुवाउने ठाउँ मात्र नभएको भन्दै पार्टीको उपस्थिति जनाउन सक्ने मान्छेलाई ठाउँ दिनुपर्ने उनको भनाइ छ । पार्टीको प्रदेश सभापतिका सबै प्रत्याशीको व्यवस्थापन हुँदा आफूमाथि अन्याय गरिएको भूपेन्द्रजंगको गुनासो छ । कांग्रेसको संस्थापन इतर पक्षी भूपेन्द्रजंगले पनि आन्तरिक रूपमा राष्ट्रिय सभा सदस्यका लागि लबिङ गरिरहेका छन् ।

देउवाको गृह जिल्ला सुदूरपश्चिमबाट नेपाली कांग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउद, केन्द्रीय सदस्यद्वय ज्ञयराज जोशी र गोविन्दबहादुर शाहको लबिङ तीव्र छ । नेताहरूका अनुसार राष्ट्रिय सभामा कांग्रेसले १० सिट पाए कम्तीमा ३ जना कांग्रेसको संस्थापन इतर पक्षको दाबी रहने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप