मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
राष्ट्रिय सभा निर्वाचन

राष्ट्रिय सभा अध्यक्षमा तीन दलको दाबी, सिटौला र श्रेष्ठ तीव्र लबिङमा

मङ्गलबार, २६ मङ्सिर २०८०, १९ : ४६
मङ्गलबार, २६ मङ्सिर २०८०

काठमाडौँ । नेपाली कांग्रेसमा निर्वाचनअधि नै राष्ट्रिय सभा अध्यक्षका आकाङ्क्षीहरूले लबिङ थालेका छन् । सत्ता गठबन्धनमा राष्ट्रिय सभा सदस्यको सिट बाँडफाँटको अन्तिम टुङ्गो नलाग्दै अध्यक्षका लागि कांग्रेसमा दौडधुप सुरु भइसकेको हो ।

आगामी फागुनमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० जना सांसदको पदावधि सकिने भएपछि नेताहरूको ध्यान अध्यक्षमा छ । कांग्रेसबाट राष्ट्रिय सभा अध्यक्षमा पूर्वउपसभापति गोपालमान श्रेष्ठ र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको नाम चर्चामा छ । तर, कांग्रेस कोशी प्रदेश सभापति उद्धव थापाले सिटौलाको नाममा माओवादी पनि सहमत रहेको दाबी गरे ।

सिटौलानिकट थापाका अनुसार राष्ट्रिय सभाको अध्यक्षका लागि सिटौलाले आफ्नो समूहमा रहेका नेताहरूसँग छलफल गरिरहेका छन् । ‘सिटौला दाइ अहिले सरसल्लाहमै हुनुहुन्छ । अहिलेको राजनीतिक परिस्थिति, संविधान कार्यान्वयनमा चुनौती, राजनीतिक दलहरूबिच गर्नुपर्ने समन्वयात्मक भूमिकाका लागि उहाँ जतिको मान्छे अरू हुन सक्दैन । माओवादीको पनि समर्थन छ ,’ उनले भने । 

आफूहरूले नेतृत्व गर्ने गरी राष्ट्रिय सभा जान सुझाव दिएको थापाको भनाइ छ । गत वर्षको प्रतिनिधिसभा निर्वाचनमा झापा–३ बाट पराजित हुनासाथ सिटौला राष्ट्रपति बन्ने दौडधुपमा थिए ।

सिटौलाले अन्तिमसम्म पनि प्रधानमन्त्री प्रचण्ड र सभापति देउवामाथि चर्को दबाब बढाएका थिए । प्रधानमन्त्री प्रचण्डले पनि कांग्रेसबाट सिटौलालाई उम्मेदवार बनाउन देउवालाई प्रस्ताव गरेका थिए ।

फागुन ११ गते पनि कांग्रेस नेताहरूको छलफलमा प्रचण्डले सिटौलाप्रति झुकाव राखेका थिए । कांग्रेस महामन्त्री गगन थापाका अनुसार कांग्रेसले सिटौलालाई उम्मेदवार बनाइदिए हुन्थ्यो भन्ने प्रचण्डमा चाहना थियो । तर, प्रचण्डको इच्छाविपरीत देउवाले सिटौलालाई अन्य पदमा व्यवस्थापन गरेर पूर्ववचनअनुसार पौडेललाई नै अवसर दिनुपर्ने बताएका थिए । 

गत वर्ष फागुन १३ गते बिहान सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको  बैठकअघि देउवाले सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बनाउने वचन दिएका थिए । राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाको पदावधि पनि सकिने भएकाले सिटौलालाई राष्ट्रिय सभा ल्याएर अध्यक्ष बनाउने देउवाले आश्वासन दिएको थिए । बैठकमा पनि सिटौलालाई राष्ट्रिय सभा अध्यक्षको बचन दिएर देउवाले राष्ट्रपतिमा पौडेलको नाम प्रस्ताव गरेका थिए । यद्यपि सिटौलाले देउवाको प्रस्तावबारे कुनै प्रतिक्रिया जनाएका थिइनन् । यता राष्ट्रिय सभा अध्यक्षकै लागि पार्टीका पूर्वउपसभापति श्रेष्ठको लबिङ पनि तीव्र छ ।

समानुपातिकबाट सांसद हुन नसकेपछि श्रेष्ठले अहिले राष्ट्रिय सभाको सदस्य हुँदै अध्यक्ष ताकेका छन् । उनको नाम समानुपातिक सूचीमा आदिवासी जनजाति क्लस्टरमा एक नम्बरमा थियो । तर सभापति देउवाले खसआर्यबाट प्रकाशरण महतलाई बनाएपछि श्रेष्ठ प्रतिनिधिसभाको सांसद हुने रिङबाट बाहिरिएका थिए । 

राष्ट्रिय सभा अध्यक्ष हुनकै लागि उनले दुई महिनाअघि समानुपातिक सूचीबाट आफ्नो नाम पनि हटाएका छन् । श्रेष्ठले पार्टी फुट्दा र शाही आयोगले पक्राउ गरेर जेलमा राखेका अप्ठ्यारो दिनमा पनि देउवालाई काँध थापेर साथ दिएका थिए । राजनीतिक जीवनमा उतरार्द्धमा सभापति देउवाले आफूमाथि न्याय गर्ने उनको भनाइ छ । ‘०४८ सालदेखि संसदीय अनुभव छ । संविधानसभाको दुई–दुई चोटिको अनुभव छ । भिजन छ,’ उनी भन्छन्, ‘काम गर्ने इच्छा शक्ति छ । पार्टीले गोपालमानको आवश्यकता ठान्छ भन्ने मलाई विश्वास छ ।’ कांग्रेस नेताहरूका अनुसार गण्डकी प्रदेशबाट राष्ट्रिय सभा उम्मेदवार बन्न श्रेष्ठलाई खासै समस्या छैन ।

कुन प्रदेशबाट कसको सम्भावना ?

कांग्रेसले कोशी, मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा एक–एक सिट पाउने छ भने बागमती र गण्डकीमा दुई–दुई सिट पाउने देखिन्छ । कांग्रेसका एक पदाधिकारीका अनुसार कोशी प्रदेशबाट सिटौला, मधेस प्रदेशबाट अनिल रुगट्टा, गण्डकी प्रदेशबाट गोपालमान श्रेष्ठलाई राष्ट्रिय सभामा ल्याउने सभापति देउवाको मनसाय छ । 

बागमती प्रदेशबाट कलाकार निर शाह, नेपाली कांग्रेस काठमाडौँ जिल्ला सभापति सबुज बानियाँलाई राष्ट्रिय सभा उम्मेदवार बनाउने देउवाको तयारी छ । सभापति बानियाँलाई उम्मेदवार बनाउन महामन्त्री गगन थापाको पनि जोड रहेको बुझिएको छ । यद्यपि गठबन्धनमा भागबण्डा हुँदा कांग्रेसको कोटामा पर्ने कलस्टरको सिटले उम्मेदवारको टुङ्गो लाग्ने छ ।

कांग्रेसका एक पदाधिकारी अनुसार राष्ट्रिय सभा सदस्यमा धेरैलाई बचन दिएकाले सभापति देउवा सकस छ । गत आम चुनावमा गठबन्धनका कारण उम्मेदवार हुन वञ्चित भएका अधिकांशलाई राष्ट्रिय सभामा ल्याउन देउवाको बचन दिएको पाइएको छ ।

कांग्रेसले एक–एक सिट पाउने देखिएको लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा भने उम्मेदवार कसलाई बनाउने भन्नेबारे मुख खोलेका छैनन् । लुम्बिनी प्रदेशबाट भरत शाह, कृष्णकिशोर घिमिरे लगायतको दाबी छ । कर्णाली प्रदेशबाट युवा नेता भूपेन्द्रजंग शाहीलाई ल्याउनुपर्ने कांग्रेस नेताहरू बताउँछन् । सभापति देउवाका विश्वासपात्र जीवनबहादुर शाहीले कर्णालीबाट भूपेन्द्रजंगको आवश्यकता औँल्याए । उनले भने, ‘भूपेन्द्र कर्णालीबाट तरुण दलको केन्द्रिय (महासचिव) पुगेको मान्छे हो । उहाँलाई हामी प्रदेशको सदस्यको टिकट पनि दिएनौँ । राष्ट्रिय सभामा उहाँलाई ल्याउँदा राम्रो हुन्छ ।’ 

राष्ट्रिय सभा कार्यकर्तालाई जागिर खुवाउने ठाउँ मात्र नभएको भन्दै पार्टीको उपस्थिति जनाउन सक्ने मान्छेलाई ठाउँ दिनुपर्ने उनको भनाइ छ । पार्टीको प्रदेश सभापतिका सबै प्रत्याशीको व्यवस्थापन हुँदा आफूमाथि अन्याय गरिएको भूपेन्द्रजंगको गुनासो छ । कांग्रेसको संस्थापन इतर पक्षी भूपेन्द्रजंगले पनि आन्तरिक रूपमा राष्ट्रिय सभा सदस्यका लागि लबिङ गरिरहेका छन् ।

देउवाको गृह जिल्ला सुदूरपश्चिमबाट नेपाली कांग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउद, केन्द्रीय सदस्यद्वय ज्ञयराज जोशी र गोविन्दबहादुर शाहको लबिङ तीव्र छ । नेताहरूका अनुसार राष्ट्रिय सभामा कांग्रेसले १० सिट पाए कम्तीमा ३ जना कांग्रेसको संस्थापन इतर पक्षको दाबी रहने छ ।

अध्यक्षमा गठबन्धनबाट तीन दलको दाबी

गठबन्धनमा कांग्रेसका अलावा माओवादी केन्द्र र एकीकृत समाजवादीको राष्ट्रिय सभा अध्यक्ष पदमा दाबी छ । हाल माओवादीबाट उर्मिला अर्याल राष्ट्रिय सभा उपाध्यक्ष छिन् । माओवादीले उपाध्यक्ष पद छाडेर अध्यक्ष लिन चाहेको छ । राष्ट्रपति कांग्रेसबाट र प्रतिनिधिसभाको सभामुख एमालेबाट चयन भएकाले राष्ट्रिय सभा अध्यक्ष आफ्नो हुनुपर्ने सत्तासीन माओवादीको तर्क छ ।

सत्ता घटक एकीकृत समाजवादीले पनि अध्यक्षमा दाबी गरेको छ । राष्ट्रिय सभा अध्यक्ष संवैधानिक पद भएकाले दलहरूले विशेष महत्त्व दिएको देखिन्छ ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले अध्यक्ष कांग्रेसबाट सशक्त दाबेदार रहेको रातोपाटीलाई बताए । ‘गठबन्धनमा छलफल हुन बाँकी छ तर कांग्रेसबाट राष्ट्रिय सभा अध्यक्ष हुने सम्भावना बलियो छ । हाम्रो सशक्त दाबेदारी रहन्छ ,’ उनले भने । 

एकीकृत समाजवादीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले राष्ट्रिय सभा अध्यक्षमा आफूहरूको दाबी रहेको बताए । ‘माओवादीको प्रधानमन्त्री, कांग्रेसको राष्ट्रपति, जसपाको उपराष्ट्रपति पद सुरक्षित हुँदा हामीले राष्ट्रिय सभाको अध्यक्षमा दाबी गर्नु व्यवहारिक हुन्छ,’ खतिवडाले भने ।

माओवादीबाट राष्ट्रिय सभा अध्यक्षमा राष्ट्रिय सभा सांसद नारायण दाहालको दाबी छ । माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले राष्ट्रिय सभा अध्यक्षमा पार्टीको दाबेदारी रहने बताए । सापकोटाले पनि कांग्रेसको राष्ट्रपति, एमालेबाट सभामुख चयन भएको भन्दै राष्ट्रिय सभा अध्यक्ष माओवादीको हुनुपर्ने तर्क गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप