शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सामाजिक सुरक्षा कोष सञ्चालक समिति सदस्यमा श्रममन्त्रीका नातेदार नियुक्त

शुक्रबार, २९ मङ्सिर २०८०, १६ : ०६
शुक्रबार, २९ मङ्सिर २०८०

काठमाडौँ । सामाजिक सुरक्षा कोष सञ्चालक समिति सदस्यमा रोजगारदाताको तर्फबाट राजनसिंह भण्डारी नियुक्त भए । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मंसिर पहिलो साता उनलाई सदस्य समितिको सदस्यमा नियुक्त गरेका थिए ।

कोषको सञ्चालक समितिको अध्यक्ष श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिव हुने प्रावधान छ । तर, सदस्यहरू भने मन्त्रीस्तरीय निर्णयबाट नियुक्त गर्ने गरिन्छ ।

१३ सदस्यीय समितिमा सरकारको विभिन्न मन्त्रालयका सहसचिव, ट्रेड युनियनका प्रतिनिधिहरू, रोजगारदाताको तर्फबाट सदस्य हुने व्यवस्था छ । जसमा हालसम्म उद्योग वाणिज्य महासंघमार्फत सदस्यहरू राखिँदै आएका छन् । तर, हालै नियुक्त भएका भण्डारी कुनै पनि संस्थामा आबद्ध छैनन् । रोजगारदाताको तर्फबाट भनेर नियुक्त गरिएका भण्डारी कुनै रोजगारदाता निकायमा आबद्ध नभएको सञ्चालन समितिका एक सदस्यले बताए । उनी मन्त्री भण्डारीकै नातेदार भएको ती सदस्यको भनाई छ ।

श्रम मन्त्रालय स्रोतले समेत उनी मन्त्री भण्डारीको नातेदार भएको तर, नातामा के पर्ने भन्ने जानकारी नभएको बतायो ।

कोषको सदस्यमा नियुक्त भएपछि भण्डारीले सिटिजन्स बैंकको अध्यक्ष पदबाट राजीनामा दिएका थिए । बैंकको पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत भइसकेका उनी नेपाल बैंकर्स संघको अध्यक्ष समेत थिए ।

मन्त्रालयले भने बैंकिङ क्षेत्रमा लामो समयको कार्यानुभवका आधारमा नियुक्त गरिएको बताएको छ ।

नेपाल उद्योग परिसंघबाट गोकुल भण्डारी सदस्य छन् । त्यस्तै होटल एसोशिएसन नेपालको तर्फबाट समिका बुढाथोकी, ट्रेड युनियनको तर्फबाट जगत बहादुर सिँखडा, बेदनिधि निराला भट्टराई र सुनिता थापा सदस्य छन् । भण्डारीलाई भने रोजगारदाताको तर्फबाट भनेर राखिएको छ । उनी कुन संस्थाबाट प्रतिनिधित्व गर्दै आएका हुन भन्ने विषयमा कोषको वेबसाइटमा समेत केही खुलाइएको छैन ।

‘गैर व्यावसायिक तथा बैंकबाट रिटार्यड भएका व्यक्तिलाई ल्याएका छन् । त्यसमा एफएनसीसीआईले समेत आपत्ति जनाएको छ । ट्रेड युनियनले समेत आपत्ति जनाएको छ,’ ती सदस्यले भने ।

४४ अर्ब ८० करोडभन्दा बढी योगदानकर्ताको योगदानवापत रकम कोषमा जम्मा छ । उक्त रकमलाई लगानी गर्नका लागि सरकारले नीति बनाउँदैछ ।

मन्त्री भण्डारीले अर्बौमा जम्मा भएको कोषको रकममा आँखा लगाएर चलखेल थालेको कार्य समिति सदस्यहरूको आरोप छ । यसअघिको परम्परालाई लत्त्याउँदै मन्त्री भण्डारीले आफ्नो नातेदारलाई नियुक्त गरेर चलखेलको सुरुवात गरेको भन्दै कार्य समिति सदस्यहरूले आपत्ति जनाएका छन् ।

‘हामीले योगदान गरेर बनेको कोष हाम्रा श्रमिकहरूको पसिनाले बनेको कोष अहिले आएर मन्त्रीले आफ्ना मान्छेहरूलाई भर्ना गरेर आफ्नो स्वार्थ अनुसार अगाडि बढ्न खोजेको देखियो,’ ती सदस्यले भने ।   

गैर व्यवसायी र गैर मजदूरहरूलाई कोषमा ल्याएर कोषलाई नै अन्य सरकारी निकाय जसरी समस्यामा पार्ने खेल सुरु भएको ती सदस्यको भनाई छ ।

बिहीबार सञ्चालक समितिको बैठक बसेको थियो । उक्त बैठकलाई ट्रेड युनियनका प्रतिनिधिहरूले बहिस्कार गरेका थिए । कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले सदस्यहरूबाट आजको बैठक बहिस्कार गरिएको भन्नेबारे जानकारी नभएको बताए ।

‘नयाँ सदस्यको पहिलो बैठक भएकाले उहाँको स्वागत गर्ने कार्यसूची थियो । बैठकमा गणपूरक सदस्यहरू आउनुभएको थियो । कसले बहिस्कार ग¥यो भन्नेबारे केही जानकारी भएन’, कार्यकारी निर्देशक अधिकारीले भने ।

कोष सञ्चालक समितिमा मजदुरको तर्फबाट तीन जना सदस्य थिए । तिनै जना सदस्य नगएका हुन् । 

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले आफ्नो तर्फबाट कसैलाई पनि नपठाएको बताए । मन्त्रीले नियुक्त गरेका व्यक्तिबारे आफू र महासंघलाई केही जानकारी नभएको प्रष्ट पारे ।

‘पहिला चन्द्र ढकाल हुनुहुन्थ्यो । उहाँले राजीनामा दिएपछि हामीले कसैलाई पनि पठाएका छैनौँ । अहिले राजनसिंह भण्डारीलाई नियुक्त गरे भन्ने सुनिएको छ । उहाँ हाम्रोतर्फबाट होइन’, श्रेष्ठले भने ।

महासंघको पदाधिकारीलाई थाहा नभएर कसरी नियुक्त भएको भन्ने विषयमा आफूलाई कुनै जानकारी नभएको बताए ।

चन्द्र ढकालले केही महिना अगाडि राजीनामा दिएका थिए । त्यसपछि नयाँ पठाउने विषयमा कुनै पनि छलफल समेत नभएको उनको भनाई छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप