शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

महावीर क्लबले सजिलै हरायो एफबीसीलाई

बिहीबार, ०५ पुस २०८०, १६ : ४२
बिहीबार, ०५ पुस २०८०

काठमाडौँ । काठमाडौँ जिल्ला क्रिकेट संघद्वारा आयोजित छनोट प्रतियोगिताको बिहीबार खेलिएको खेलमा महावीर क्लबले सजिलो जित हात पारेको छ । मुलपानी क्रिकेट मैदानमा खेलिएको खेलमा महावीर क्लबले फरएभर ब्वाइज क्लब (एफबीसी) लाई १० विकेटले हराएको हो ।

यसै वर्ष सञ्चालन हुने प्रधानमन्त्री कम पुरुष क्रिकेट प्रतियोगिताका लागि टोली चयन गर्न यो छनोट प्रतियोगिता आयोजना गरिएको हो । बिहीबारको खेलमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको एफबीसीले १९ ओभरमा अलआउट हुनुअघि ६० रनमात्र बनाउन सक्यो ।

एफबीसीका लागि सचिन यादवले सर्वाधिक २२ रन बनाए । उनले २९ बलमा तीन चौका पनि प्रहार गरे । कृष्ण भट्टले १० रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । एफबीसीले अतिरिक्त रुपमा ११ रन पाएको थियो ।

महावीर क्लबका बलर प्रतिस जीसीले तीन विकेट लिए । नविन तामाङले दुई विकेट हात पारे । यसका अतिरिक्त ज्योति भण्डारी, राकेशकुमार कर्ण, सार्थक धिताल, योगेश पाठक र तेज कुँवरले पनि एक–एक विकेट लिए ।

जवाफी ब्याटिङमा ओर्लिएको महावीर क्लबले ७.३ ओभरमै कुनै पनि विकेट नगुमाई विजयलक्ष्य पुरा गरेको थियो । महावीर क्लबका लागि ओपनर रविन जोशीले अविजित ३३ र नविन तामाङले अविजित २७ रनको योगदान गरे । रविनले २६ बलमा पाँच चौका प्रहार गरे । नविनले २० बलमा दुई छक्का र दुई चौका हिर्काए ।

उक्त खेलमा महावीर क्लबका प्रतिस जीसी म्यान अफ दी म्याच घोषित भए । उनलाई नेप्ली प्लाइउड कम्पनीका कन्ट्री हेड विकास सिंहले पुरस्कार वितरण गरे । काठमाडौं जिल्ला क्रिकेट संघले आयोजना गरेको उक्त प्रतियोगितामा १२ टोलीले भाग लिएका छन् ।

सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा ग्रेट हिमालयन क्रिकेट एकेडेमी, बालुवाटार क्रिकेट क्लब र पुष्पलाल स्पोर्टस क्लब छन् । समूह ‘बी’ मा क्रिकेट एक्सिलेन्स सेन्टर, ओएसिस क्रिकेट एकेडेमी र जेम्स थन्डर्स क्रिकेट एकेडेमी छन् ।

यसैगरी समूह ‘सी’ मा नेक्सस क्रिकेट एकेडेमी, न्यु भिजन क्लब र डिएभी क्रिकेट एकेडेमी छन् । समूह ‘डी’ मा महावीर क्लब, हिमालयन क्रिकेट एकेडेमी र फरएभर ब्वाइज क्लब छन् । प्रतियोगिताका खेलहरु लिग कम नकआउटको आधारमा संचालन भइरहेका छन् ।

समूहगत चरणका सबै खेल २५ ओभरको हुनेछन् । चारवटै समूहका शीर्ष टोली प्रतियोगिताको सेमिफाइनल पुग्नेछन् । सेमिफाइनल र फाइनल खेल भने ५० ओभरको हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप