मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

८० प्रतिशत नेपाली ऋण गरेर वैदेशिक रोजगारीमा जाने गरेको अध्ययनको निष्कर्ष

बिहीबार, ०५ पुस २०८०, १७ : २७
बिहीबार, ०५ पुस २०८०

काठमाडौँ । झन्डै ८० प्रतिशत नेपाली ऋण गरेर वैदेशिक रोजगारीमा जाने गरेको पाइएको छ । प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) ले सेन्टर फर द स्टडी अफ लेबर एन्ड मोबिलिटी सोसल साइन्स बहामार्फत गरेको अध्ययन अनुसार वैदेशिक रोजगारीमा जाने ७९.८ प्रतिशत नेपाली ऋण गरेर नै वैदेशिक रोजगारीमा जाने गरेको पाइएको हो ।

 ऋण लिएका मध्ये लगभग ५० प्रतिशतले ऋण तिर्न बाँकी रहेको देखिएको छ । ८८ प्रतिशतले विदेशबाट कमाएको पैसाबाटै ऋण फिर्ता गरेको पाइएको हो ।

सन् २०१४ देखि २०२२ सम्ममा २२ हजार १४८ जनामा उक्त अध्ययन गरिएको थियो । वैदेशिक रोजगारीबाट फर्किएका ७२ प्रतिशत श्रमिकले वैदेशिक रोजगारीको क्रममा बचत गर्न सक्षम नभएको पाइएको छ । उनीहरूले गन्तव्य देशहरूमा सामना गरेको विभिन्न प्रकारका समस्याहरूका कारण बचत गर्न नसकेको देखिएको हो ।

करारपत्रसँग सम्बन्धित मुद्दा, कारावास र बेपत्ता भएका/हराएकासँग सम्बन्धित मुद्दाहरूका कारण उनीहरूले बचत गर्न नसकेको देखाएको हो ।

त्यस्तै नेपाल फर्किएका आप्रवासी कामदारमध्ये ३७.६ प्रतिशत निर्वाहमुखी कृषिमा संलग्न भएको पाइएको छ । १७६.५ प्रतिशत भने बेरोजगार देखिएका छन् ।

नेपाल फिर्ता आएपछि आप्रवासी श्रमिकले उच्च लाभ हुने काम पाउन नसकेको, नेपालको श्रम बजारमा उनीहरूको सीप र ज्ञानको मेल नहुने र उचित कामका अवसरहरूको सम्भावित अभावलाई देखाएको अध्ययनको निष्कर्ष छ ।

९.२ प्रतिशतले मात्रै वैदेशिक रोजगारीबाट फर्किएपछि आफूले आर्जन गरेको सीप नेपालमा प्रयोग गर्न सकेको देखाएको छ ।

अध्ययनका लागि अन्तर्वार्ता लिएका वैदेशिक रोजगारीबाट फर्किएका आप्रवासी श्रमिकहरूमध्ये ४४ प्रतिशतले आफू पुनः वैदेशिक रोजगारीमा जाने योजना रहेको बताएका थिए । पुनः वैदेशिक रोजगारीमा जाने योजनामा रहेकामध्ये ५४ प्रतिशतले पुनः ऋण लिएर वैदेशिक रोजगारीमा जाने योजना रहेको बताएका थिए ।

४६ प्रतिशतले पहिला नै वैदेशिक रोजगारीमा जानका लागि लिएको ऋण तिर्न बाँकी रहेको देखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप