शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवलमा आजदेखि लुम्बिनी एक्स्पो सुरु

बिहीबार, ०५ पुस २०८०, २० : ०३
बिहीबार, ०५ पुस २०८०

बुटवल । बुटवलमा आज बिहीबारदेखि लुम्बिनी एक्स्पो–२०८० सुरु भएको छ । 

उक्त एक्स्पोको उद्घाटन गर्दै नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले सरकारकै कारण गौतमबुद्ध विमानस्थल चल्न नसकेको बताए । उनले विमानस्थल चलाउन नसक्ने सरकारले अरू कुनै काम गर्न नसक्ने दाबी गरे । उनले  विमानस्थलसँगै यस क्षेत्रमा उद्योग व्यापार पर्यटन जोडिएपनि सरकारको ध्यान नदिएको बताए । 

उपाध्यक्ष पौडेलले वर्तमान सरकार सम्पूर्णरुपमा असफल भएको भन्दै असफल सरकारले देशको सही नेतृत्व गर्न नसक्ने बताए । उनले बुटवल नारायणगढ सडक निर्माणमा पनि लापरबाही भएको आरोप लगाए । सडक निर्माणमा कम्पनीले ढिलासुस्ती र लापरबाही गर्दा सरकारले तमासा हेरेर बस्ने नभई गुणस्तरीय काम गर्न सहयोग गर्नुपर्ने बताए । 

लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री लीला गिरीले सरकारमा रहेका दलहरु सत्ता टिकाउनेमा मात्र केन्द्रित रहेको बताए । उनले विकास निर्माणभन्दा पनि कसरी सत्तामा टिकिरहने भन्ने चिन्ता सत्तामा रहेका दलहरुको रहेको बताए ।

बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले सफासुग्घर, हरियाली र उज्यालो बुटवल बनाउने कुरामा नगरपालिका अगाडि बढिरहेको बताए ।

रुपन्देही व्यापार संघको आयोजनामा सुरु भएको एक्स्पो मेला १८ गतेसम्म चल्ने छ । एक्स्पोमा दैनिक उपभोग्य वस्तु तथा सेवा, साना तथा घरेलु उत्पादनको प्रदर्शन, हस्तकला, कृषि उत्पादन, अटोमोबाइल्स, इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिकल्स, होटल, सूचना प्रविधि लगायतका ५ सयभन्दा बढी स्टलहरु समावेश गरिएको छ ।

कार्यक्रममा रुपन्देही व्यापार संघका संस्थापक अध्यक्ष मोतिराज ज्ञवाली, नेकपा माओवादी केन्द्रका निर्मल जिसी, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल लगायतले निजी क्षेत्र अहिले ठूलो संकटबाट गुज्रिरहेको भन्दै लुम्बिनी एक्स्पोले आर्थिक क्षेत्र चलायमान गराउन महत्त्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप