अमेरिकी आक्रमणको कडा जवाफ दिने इरानको प्रतिज्ञा
सारांश
- अमेरिकाले इरानको दक्षिणी क्षेत्रका विभिन्न स्थानहरूलाई लक्षित गरी हवाई आक्रमण गरेको दाबी गरेको छ।
- यस आक्रमणको जवाफमा इरानी सैन्य नेताहरूले कडा जवाफ दिने प्रतिज्ञा गर्दै स्ट्रेट अफ होर्मुजको व्यवस्थापनमा विदेशी हस्तक्षेप स्वीकार नगर्ने स्पष्ट पारेका छन्।
- सम्झौता भएको २० दिन नपुग्दै अमेरिकी ट्रेजरी विभागले इरानी तेलमाथिको प्रतिबन्ध फुकुवाको निर्णय रद्द गरेपछि इरानले अमेरिकामाथि गत जुनमा भएको समझदारी पत्र उल्लंघन गरेको आरोप लगाएको छ।
तेहरान । अमेरिकाले इरानको दक्षिणी क्षेत्रका विभिन्न स्थानहरूलाई लक्षित गरी हवाई आक्रमण सम्पन्न गरेको दाबी गरेको छ। अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) का अनुसार स्ट्रेट अफ होर्मुजमा यात्रा गरिरहेका तीनवटा व्यापारिक जहाजहरूमाथि इरानले गरेको आक्रमणको जवाफमा यो कारबाही गरिएको हो।
मंगलबार सुरु भएको उक्त हवाई आक्रमण झन्डै चार घण्टासम्म चलेको र त्यस क्रममा ‘सटिक हतियार’ प्रयोग गरेर ८० भन्दा बढी लक्ष्यहरूमा प्रहार गरिएको सेन्टकमले जनाएको छ। अमेरिकी आक्रमणमा इरानको वायु रक्षा प्रणाली, तटीय निगरानी प्रणाली, सतहबाट हावामा प्रहार गर्ने मिसाइल, एन्टि-शिप क्रुज मिसाइल र ड्रोन प्रक्षेपण स्थलहरूलाई निशाना बनाइएको रोयटर्सले उल्लेख गरेको छ।
यस आक्रमणको जवाफमा इरानी सैन्य नेताहरूले कडा जवाफ दिने प्रतिज्ञा गर्दै स्ट्रेट अफ होर्मुजको व्यवस्थापनमा विदेशी हस्तक्षेप स्वीकार नगर्ने स्पष्ट पारेका छन्। इरानी सञ्चारमाध्यमहरूका अनुसार इरानको दक्षिणी बन्दरगाह सहर सिरिकमा रहेका व्यापारिक तथा माछा मार्ने घाटहरू, क्युइशम टापु र बन्दर अब्बास नजिकैका क्षेत्रहरूमा क्षेप्यास्त्रहरू खसेका छन् र धेरै विस्फोटका आवाजहरू सुनिएका छन्। सिरिक बन्दरगाहमा छर्रा लागेर केही मानिस घाइते भएको पनि जनाइएको छ।
यसैबिच, इरानमा आक्रमण भएको केही घण्टापछि कुवेत र बहराइनमा पनि खतराको साइरन बजेको छ। कुवेतको सेनाले आफ्नो वायु रक्षा प्रणालीले मिसाइल र ड्रोन आक्रमणको सामना गरिरहेको बताएको छ। इराक पुगेका इरानी राष्ट्रपति मसूद पेजेस्कियान आक्रमणलगत्तै स्वदेश फर्किएका छन्।
सम्झौता भएको २० दिन पनि नपुग्दै अमेरिकी ट्रेजरी विभागले मंगलबार इरानी तेलमाथिको अस्थायी प्रतिबन्ध फुकुवाको निर्णय रद्द गरिदिएको छ।
यस घटनापछि इरानको विदेश मन्त्रालयले अमेरिकामाथि गत जुनमा दुई देशबिच भएको इस्लामावाद समझदारी पत्र (एमओयू) उल्लंघन गरेको आरोप लगाएको छ। फेब्रुअरीको अन्त्यमा अमेरिका र इजरायलले इरानविरुद्ध सुरु गरेको युद्ध अन्त्य गर्ने उद्देश्यका साथ उक्त सम्झौता गरिएको थियो, जसमा इरानले स्ट्रेट अफ होर्मुज खुला गर्ने र बदलामा अमेरिकाले इरानमाथिको नौसैनिक नाकाबन्दी हटाउने तथा ६० दिनका लागि इरानी तेलमाथिको प्रतिबन्ध फुकुवा गर्ने सहमति भएको थियो।
तर, सम्झौता भएको २० दिन पनि नपुग्दै अमेरिकी ट्रेजरी विभागले मंगलबार इरानी तेलमाथिको अस्थायी प्रतिबन्ध फुकुवाको निर्णय रद्द गरिदिएको छ। इरानका मुख्य वार्ताकार मोहम्मद गालिबाफले तेल प्रतिबन्ध ब्युँताउनु र दक्षिणी इरानमा आक्रमण गर्नु एमओयूको गम्भीर उल्लंघन भएको बताएका छन्।
ट्रेजरी विभागको यो कदम स्ट्रेट अफ होर्मुजमा मालवाहक जहाजहरूमाथि भएका आक्रमणहरूपछि आएको हो। युनाइटेड किंगडम मैरिटाइम ट्रेड अपरेसन (यूकेएमटिओ) का अनुसार ओमानको तटीय क्षेत्रमा एउटा कतारी एलएनजी ट्याङ्कर अज्ञात वस्तुको प्रहारबाट सल्किएको थियो। इरानी टेलिभिजनले चेतावनीलाई बेवास्ता गरेपछि उक्त जहाजमाथि आक्रमण भएको दाबी गरे पनि तेहरानले यसको प्रत्यक्ष जिम्मेवारी लिएको छैन।
त्यस्तै, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) ले प्रहार गरेको मिसाइलका कारण साउदी अरबको तेल ट्याङ्करमा पनि क्षति पुगेको बताइएको छ। ह्वाइट हाउसबाट रिपोर्टिङ गर्दै अल जजिराका माइक हान्नाले सम्झौतापछि पनि इरानले जहाजहरूलाई आफ्नो नियन्त्रणमा रहेको उत्तरी मार्गबाट जान दबाब दिइरहेको र अमेरिकाले दक्षिणी सुरक्षित मार्ग प्रयोग गर्न आग्रह गरिरहेका कारण यो टकराव बढेको उल्लेख गरेका छन्।
इरानका उप-विदेशमन्त्री काजेम गारीबाबादीले अमेरिकाले एमओयूको धारा १, २ र १० को धज्जी उडाएको आरोप लगाएका छन् भने इरानका सर्वोच्च नेता मोज्ताबा खामेनीका सल्लाहकार मोहसेन रेजाईले इरान जुनसुकै नयाँ आक्रामकताको सामना गर्न र आफ्नो रक्षा गर्न पूर्ण रूपमा तयार रहेको चेतावनी दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी नियम उल्लङ्घनको कारबाही : चौबिस घण्टामा रु १९ लाख ७१ हजार राजश्व सङ्कलन
-
दीपाश्रीले सकिन् ‘पार्वती’को डबिङ
-
पहिलो पटक उद्यमी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री शाह
-
विभिन्न जिल्लाका साना नदीमा आकस्मिक बाढीको जोखिम
-
दार्चुलामा राज्यले गर्नुपर्ने काम धेरै छन् : सांसद ठगुन्ना
-
गभर्नर पौडेलको नयाँ अभ्यास : बजेटलाई सघाउने मौद्रिक नीतिको पूर्वगभर्नर नेपालद्वारा बचाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण