शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

नेपाल प्रो क्लब च्याम्पियनसिप : भारतीय क्लबले आर्मीलाई दियो १०० रनको लक्ष्य

शुक्रबार, ०६ पुस २०८०, ११ : ०२
शुक्रबार, ०६ पुस २०८०

काठमाडौँ । वीरगञ्जमा जारी नेपाल प्रो क्लब च्याम्पियनसिप टी–२० क्रिकेट प्रतियोगिताको दोस्रो दिन शुक्रबारको पहिलो खेलमा भारतको नोइडास्थित वन्डरर्स क्लबले नेपालको त्रिभुवन आर्मी क्लबलाई जितका लागि एक सय रनको लक्ष्य दिएको छ ।

टस हारी पहिले ब्याटिङको निम्तो पाएको वन्डरर्स क्लबले निर्धारित ओभरमा आठ विकेट गुमाएर ९९ रन बनाएको हो । वन्डरर्स क्लबका लागि रितिक अरोराले २० रनको योगदान गरे । अर्का ओपनर वंश बेदीले १० रन बनाए ।

तेस्रो नम्बरका ब्याट्सम्यान हर्षित सेठीले २० रन बटुले । उनी टोलीका कप्तान पनि हुन् । तल्लो क्रमका ब्याट्सम्यान सशांक शेखरले पनि अविजित १४ रन बनाए । वान्डरर्सका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । भारतीय टोली वान्डरर्सले अतिरिक्त रुपमा १८ रन पाएको थियो ।

त्रिभुवन आर्मी क्लबका बलर साहब आलम एक्लैले चार विकेट लिए । उनले चार ओभरमा दुई मेडन राख्दै केवल चर रन खर्चिए । कुशल मल्ल, बसिर अहमद र सोमपाल कामीले पनि एक–एक विकेट हात पारे । त्रिभुवन आर्मी क्लबले यसअघि आफ्नो पहिलो खेलमा बिहीबार अर्को विभागी टोली नेपाल पुलिस क्लबलाई आठ विकेटको फराकिलो अन्तरले हराएको थियो ।

प्रतियोगितामा नेपालको तीनवटै विभागीय टोली त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब र नेपाल पुलिस क्लबको सहभागिता रहेको छ । यसका अतिरिक्त प्रतियोगितामा भारतका दुई टोली यूपी—११ र वन्डर्स क्लबले पनि भाग लिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप