शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

नेपाल प्रो क्लब च्याम्पियनसिप : आर्मीसामु निरीह बन्यो भारतीय क्लब

शुक्रबार, ०६ पुस २०८०, १२ : १२
शुक्रबार, ०६ पुस २०८०

काठमाडौँ । वीरगञ्जमा जारी नेपाल प्रो क्लब च्याम्पियनसिप टी–२० क्रिकेट प्रतियोगिताको दोस्रो दिन शुक्रबारको पहिलो खेलमा नेपालको त्रिभुवन आर्मी क्लबले भारतको नोइडास्थित वन्डरर्स क्लबलाई ६ विकेटको फराकिलो अन्तरले हराएको छ । जारी प्रतियोगितामा त्रिभुवन आर्मी क्लबको यो दोस्रो जित हो ।

यसअघि त्रिभुवन आर्मी क्लबले आफ्नो पहिलो खेलमा बिहीबार अर्को विभागी टोली नेपाल पुलिस क्लबलाई आठ विकेटको फराकिलो अन्तरले हराएको थियो । शुक्रबारको खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको वन्डरर्स क्लबले निर्धारित ओभरमा आठ विकेट गुमाएर ९९ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको त्रिभुवन आर्मी क्लबले १३.१ ओभरमा चार विकेट गुमाएर एकसय तीन रन बनाउँदै विजयलक्ष्य पार गर्यो । आर्मी क्लबको जितमा कुशल मल्लले ४१ रनको योगदान गरे ।

उनले ३५ बलको सामना गरी तीन छक्का र दुई चौका पनि हिर्काए । ओपनर ब्याट्सम्यान सन्तोष कार्कीले पनि ३७ रनको योगदान गरे । उनले २३ बलको सामना गरी दुई छक्का र तीन चौका हिर्काए ।

अर्का ओपनर विनोद भण्डारी भने शून्य रनमै पेभेलियन फर्किएका थिए । भीम सार्कीले अविजित २० रन बनाए । उनले १९ बलमा तीन चौका पनि प्रहार गरे । वन्डरर्स क्लबका बलर रितिक बत्सले तीन विकेट लिए ।

त्यसअघि टस हारी पहिले ब्याटिङको निम्तो पाएको वन्डरर्स क्लबले निर्धारित ओभरमा आठ विकेट गुमाएर ९९ रन बनाएको थियो । वन्डरर्स क्लबका लागि रितिक अरोराले २० रनको योगदान गरे । अर्का ओपनर वंश बेदीले १० रन बनाए ।

तेस्रो नम्बरका ब्याट्सम्यान हर्षित सेठीले २० रन बटुले । उनी टोलीका कप्तान पनि हुन् । तल्लो क्रमका ब्याट्सम्यान सशांक शेखरले पनि अविजित १४ रन बनाए । वान्डरर्सका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।

भारतीय टोली वान्डरर्सले अतिरिक्त रुपमा १८ रन पाएको थियो । त्रिभुवन आर्मी क्लबका बलर साहब आलम एक्लैले चार विकेट लिए । उनले चार ओभरमा दुई मेडन राख्दै केवल चार रन खर्चिए । कुशल मल्ल, बसिर अहमद र सोमपाल कामीले पनि एक–एक विकेट हात पारेका थिए ।

प्रतियोगितामा नेपालको तीनवटै विभागीय टोली त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब र नेपाल पुलिस क्लबको सहभागिता रहेको छ । यसका अतिरिक्त प्रतियोगितामा भारतका दुई टोली यूपी—११ र वन्डर्स क्लबले पनि भाग लिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप