बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

डेढ वर्षभित्र पूरै देश उज्यालो बनाउने लक्ष्य छ : प्रधानमन्त्री

शनिबार, ०७ पुस २०८०, १६ : ४७
शनिबार, ०७ पुस २०८०

प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डेढ वर्षभित्र पूरै देश उज्यालो हुने दाबी गरेका छन् ।  शनिवार जनतासँग माओवादी विशेष रूपान्तरणअन्तर्गत काठमाडौँको बुढानीलकण्ठमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले डेढ वर्षभित्र एउटा पनि घर विद्युत् नपुगेको नरहने जिकिर गरे । उनले डेढ वर्षभित्र सारा देश उज्यालो बनाउने लक्ष्यका साथ आफूहरूले काम गरिरहेको बताए ।

उनले भने, ‘अहिले तेस्रोपटक म प्रधानमन्त्री हुँदै गर्दा अब सिङ्गै देशमा एउटा पनि घर विद्युत् नपुगेको रहने छैन । डेढ वर्षभित्र पूरै देश उज्यालो हुनेछ । यो लक्ष्यसहित हामी अघि बढेका छौँ ।’ प्रधानमन्त्री प्रचण्डले आफ्नो दोस्रो कार्यकालमा लोडसेडिङ अन्त्य गरेको भए पनि त्यसको प्रचार गर्न नसकेको बताए । उनले लोडसेडिङको अन्त्य गरी आफूले नै नेपाललाई उज्यालो नेपालको नयाँ युगमा प्रवेश गराएको दाबी समेत गरे ।

‘दोस्रो प्रधानमन्त्रीत्व कालमा लोडसेडिङ अन्त्य । मैले जनार्दनलाई उर्जामन्त्री र कुलमानलाई एमडी बनाएँ । हामी सबै मिलेर यो स्थितिको अन्त्य गर्नुपर्छ भनेपछि लोडसेडिङको अन्त्य गरिएको हो । उज्यालो नेपालको नयाँ युगमा प्रवेश गरिएको हो’ प्रधानमन्त्रीले भने, ‘तर हामीले यत्ति ठुलो चिज पनि राम्रोसँग बिक्री गर्न सकेनौँ । अरूले नगरेको काम पनि गरेकोजस्तो गरी प्रचार गर्छन्, हामीले गरेको पनि राम्रोसँग भन्न सकिएन ।’ 

उनले  भूमि सम्बन्धी, सुकुम्वासी, अव्यवस्थित बसोवासी र स्ववासीका समस्या समाधानका लागि चाँडै नै नयाँ ऐन जारी गर्न लागेको बताए । प्रधानमन्त्री प्रचण्डले नयाँ ऐन जारी गर्नका लागि राजनीतिक सहमति जुटिसकेको र सरकारमा पनि छलफल भइसकेको बताए । उनले नयाँ ऐन आएसँगै लालपुर्जा वितरणको एउटा नयाँ अभियान सुरु हुने उद्घोष गरे । ५० औँ वर्षदेखिका अव्यवस्थित बसोवासीका, स्ववासीका समस्या समाधान गर्ने ढङ्गले ऐनको व्यवस्था भइरहेको उनको भनाई छ ।  ऐनमा भएका केही त्रुटिका कारणले यो समस्या आइरहेको र अहिले आफूले समस्या फुकाउन लागेको प्रधानमन्त्री प्रचण्डले बताए ।

प्रधानमन्त्री प्रचण्डले देशका सबै उत्पीडित, वर्ग, जाति, क्षेत्र, समुदायको हक अधिकारका लागि इमानदारितापूर्वक लड्ने पार्टी माओवादी भएको बताए । सबैको साथ रहेमा अर्को पटकको निर्वाचनमा माओवादी सबैभन्दा ठुलो पार्टी बन्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप