शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

मुक्केबाज जोसुआलाई व्यङ्ग्यात्मक शैलीमा चुनौती दिने विल्डर आफै हारे

आइतबार, ०८ पुस २०८०, १० : २५
आइतबार, ०८ पुस २०८०

काठमाडौँ । ब्रिटिस मुक्केबाज एन्थोनी जोसुआलाई व्यङ्ग्यात्मक शैलीमा चुनौती दिने चर्चित अमेरिकी बक्सर डेयोन्टी विल्डर पछिल्लो भिडन्तमा आफै पराजित भएका छन् । साउदी अरेबियामा शनिबार राति भएको भिडन्तमा एन्थोनी जोसुआले पनि जित हात पारेका छन् ।

एन्थोनी जोसुआले आफ्नो पछिल्लो भिडन्तमा स्विडेनका ३३ वर्षीय मुक्केबाज ओट्टो विलिनलाई हराएका हुन् । डेयोन्टी विल्डर भने साउदी अरेबियामै भएको अर्को भिडन्तमा न्युजिल्यान्डका ३१ वर्षीय बक्सर जोसेफ पार्करसँग पराजित भए ।

उक्त अप्रत्यासित नतिजापछि हेभीवेट उपाधिका लागि एन्थोनी जोसुआ र डेयोन्टी विल्डरबिच भिडन्त भएको हेर्न चाहने बक्सिङप्रेमीको सपना तत्काल पुरा नहुने भएको छ । केही दिनअघि विल्डरले जोसुआ आफूसँग भिडन्त गर्न डराएको भन्दै उनीप्रति व्यङ्ग्य गरेका थिए ।

३८ वर्षीय विल्डरले आफूसँग भिडन्त गर्न प्रतिद्वन्द्वीहरूसँग बलियो मुटु हुनुपर्ने टिप्पणी गरेका थिए । ‘एन्थोनी जोसुआ मसँग भिडन्त गर्न चाहँदैनन् । उनीसँग मेरो सामना गर्ने मुटु नै छैन,’ विल्डरले भनेका थिए ।

यी दुवै मुक्केबाजले शनिबार रातिको भिडन्त जितेको भए निकट भविष्यमै उनीहरू बक्सिङ रिङमा आमने–सामने हुने निश्चित थियो । ‘उनी मसँग सतप्रतिशत डराएका छन् भनेर म दाबी गर्दिन । तर, पक्कै पनि मप्रति उनको मनमा ७५ प्रतिशत त्रास भने छ,’ विल्डरले भनेका थिए ।

शनिबार रातिको भिडन्तमा विल्डर पराजित भएपछि जोसुआले भने उनीप्रति सहभानुभुती व्यक्त गरेका छन् । ‘उनले मलाई लक्षित गर्दै भनेका कुरालाई मैले गम्भीर रुपमा लिएको छैन । मेरो मनमा उनीप्रति कुनै तुष पनि छैन । खेलमा जित–हार भइरहन्छ । मेरो विचारमा उनी बलियो आत्मविश्वास भएका खेलाडी हुन् । त्यसैले छिट्टै नै उनले आफ्नो जितको शृङ्खलालाई निरन्तरता दिनेछन्,’ जोसुआले भनेका छन् ।

जोसुआले आफू पनि विल्डरसँग भिडन्त गर्न आतुर रहेको बताएका छन् । ‘म पनि विल्डरसँग भिडन्त गर्न आतुर छु । तर, यसका अब केही समय प्रतीक्षा गर्नु पर्ने भएको छ । ३४ वर्षीय जोसुआले भनेका छन् । हेभिवेट भिडन्तको इतिहासमा विल्डरलाई चर्चित ‘नकआउट पञ्चर’ को रूपमा लिइन्छ ।

भिडन्तका क्रममा शक्तिशाली मुक्का प्रहार गर्दै आफ्ना प्रतिद्वन्द्वीहरूलाई नकआउट गर्न उनी माहिर मानिन्छन् । पछिल्लो तीन वर्षको अवधिमा विश्व च्याम्पियनको उपाधि गुमाएका जोसुआ र विल्डर लामो समयपछि पुनः च्याम्पियन बन्ने धुनमा थिए ।

दुईपटकका डब्लूबीए, डब्लूबीओ र आईबीएफ विजेता जोसुआले हालसम्म कीर्तिमानी रूपमा २६ जित र तीन हारको सामना गरेका छन् । सन् २०१५ देखि सन् २०२० सम्म डब्लूबीसी उपाधिमाथि कब्जा जमाएका विल्डरले ब्रिटिस मुक्केबाज टाइसन फुरीसँग पराजित भएपछि डब्लूबीसी उपाधि गुमाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप