आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपति पौडेल बागलुङमा

बुधबार, ११ पुस २०८०, ११ : २०
बुधबार, ११ पुस २०८०

ढोरपाटन । राष्ट्रपति रामचन्द्र पौडेल बागलुङ बजार आएका छन् । आज बिहान १० बजेर २ मिनेटमा राष्टपति पौडेल नेपाली सेनाको हेलिकप्टरमा बागलुङ आएका हुन् । बागलुङ नगरपालिका–४ उपल्लाचौरस्थित नेपाली सेनाको गणमा पौडेल अवतरण भएपछि प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले स्वागत गरेका छन् ।

राष्ट्रपति पौडेल सातौँ बागलुङ महोत्सवको उद्घाटनका लागि बागलुङ आएका हुन् । यस अवसरमा बागलुङ कालिका मन्दिरको दर्शन गर्नुका साथै पूर्जाअर्चना गर्नेछन् । मन्दिरको दर्शनलगत्तै बागलुङ नगरपालिका–४ कुँडुलेस्थित शालिग्राम सङ्ग्रहालयको अवलोकन गर्ने कार्यक्रम रहेको उद्योग वाणिज्य सङ्घ बागलुङका अध्यक्ष नरेश कँडेलले जानकारी दिए ।

कोरोना सङ्क्रमणका कारण अघिल्लो पटक हुन नपाएको महोत्सव चार वर्षपछि फेरि हुन लागेको हो । यस अघि विसं २०७६ मा महोत्सव भएको थियो ।  महोत्सव आजदेखि सुरु भएर पुस २१ गतेसम्म चल्ने अध्यक्ष कँडेलको भनाइ छ । महोत्सवमा एक सय २० भन्दा बढी कक्ष रहने छन् । महोत्सवको करिब सात लाख दर्शकले अवलोकन गर्ने अनुमान छ । 

महोत्सवमा खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगिता, खुला रिले दोहोरी तथा लाइभ दोहोरी गीत, खुला भजन प्रतियोगिता र युवा उद्यमी सम्मेलन हुने जनाइएको छ । मेलामा सशस्त्र द्वन्द्वमा घाइते भएका नागरिकलाई निःशुल्क प्रवेशको सुविधा रहेको सङ्घले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप