बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

सल्यानमा भूकम्प पीडितको अस्थायी आवास निर्माणमा माओवादी सक्रिय

बुधबार, ११ पुस २०८०, १७ : २४
बुधबार, ११ पुस २०८०

 सल्यान । नेकपा (माओवादी केन्द्र) ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ अन्तर्गत सल्यान जिल्लाको टोली भूकम्प प्रभावितहरूको अस्थायी आवास निर्माणमा खटिएको छ ।

त्यसका लागि अभियानको जिल्ला सचिवालयको कार्यालय नै सल्यान खलंगाबाट दार्मा गाउँपालिकामा स्थापित भएको छ । भूकम्पबाट दार्मा बढी प्रभावित छ ।  त्यही कार्यालयबाट जिल्ला इन्चार्ज नरेश भण्डारी, जिल्ला संयोजक कृतिबहादुर पुन र जिल्ला सचिव तथा दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर केसीले भूकम्प प्रभावितहरूको अस्थायी आवास निर्माण तथा क्षतिग्रस्त भवनहरूको भग्नावशेष हटाउने र जनतासँग माओवादी विशेष रूपान्तरण अभियानका समग्र गतिविधिहरू सञ्चालन गरिरहेका छन् । 

भूकम्पले जाजरकोट, रुकुम पश्चिमसँगै सल्यानमा पनि घरहरूमा क्षति पुर्‍याएको थियो । अभियान अन्तर्गत सल्यानका इन्चार्ज नरेश भण्डारीले अस्थायी आवास निर्माणको कामलाई तीव्र बनाउन ‘विशेष सप्ताह’ नै सञ्चालन गरिएको बताए ।

भूकम्प लगत्तै उद्धार, राहत र भूकम्प प्रभावितहरूको अस्थायी आवास निर्माण तथा क्षतिग्रस्त भवनहरूको भग्नावशेष हटाउने कार्यमा अभियान टोली जुटेको भएता पनि थप प्रभावकारी बनाउन विशेष सप्ताह सञ्चालन गरिएको उनले बताए । 

पुस ७ गतेबाट १४ गतेसम्म समयावधि निर्धारण गरिएको छ । यो बिचमा अभियान टोलीले १६० वटा अस्थायी आवास निर्माण गरिसकिएको भण्डारीले बताए । सल्यानमा एक हजार एक सय ७९ वटा घरहरू पूर्ण रूपमा क्षति भएका छन् । 

भण्डारीका अनुसार सल्यानमा माओवादीका तीन सय नेता तथा कार्यकर्ताहरू भोलेन्टियरको रूपमा अस्थायी आवास निर्माणमा खटिएका छन् ।

मंगलबार १३१ औँ माओ जयन्तीको अवसरमा माओवादीले दार्मा गाउँपालिकाका वडा नम्बर ४, ५, ६ र २ मा भूकम्प पीडितका लागि अस्थायी टहरा निर्माण गर्दै सो दिवस मनाइएको समेत उनले भण्डारीले बताए । विशेष सप्ताह कार्यक्रम १४ गतेसम्म भनिए पनि सम्पूर्ण भूकम्प प्रभावितहरूको अस्थायी आवास निर्माण नहुन्जेल पार्टीका नेता कार्यकर्ताहरू भोलेन्टियरकै रूपमा खटिने उनको भनाइ छ । 

‘भूकम्प प्रभावितहरूको सेवामा लाग्ने कार्यलाई रूपान्तरणको एक मानकका रूपमा लिएका छौँ,’ उनले भने । 

सल्यानमा नेकपा एकीकृत समाजवादीले २ र विप्लव नेकपाले समेत १८ वटा अस्थायी आवास निर्माण गरेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप