शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवल उपमहानगर प्रमुखले नगरसभामा प्रस्तुत गरे विकासका योजना

बुधबार, ११ पुस २०८०, १८ : २४
बुधबार, ११ पुस २०८०

बुटवल । बुटवल उपमहानगरपालिका नगरसभाको १४औँ अधिवेशन सुरु भएको छ । बुधबार अधिवेशनको पहिलो बैठकमा नगर प्रमुख खेलराज पाण्डेयले चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा पेस गर्दै बुटवललाई सफा, सुन्दर, हरियाली र उज्यालो सहर बनाउन विभिन्न योजना अगाडि बढेको बताए ।

प्रमुख पाण्डेयले चालु आर्थिक वर्षको ६ महिनामा मोतीपुर र बेलबासमा १५–१५ बेडका अक्सिजन सुविधासहितका दुई वटा अस्पताल सञ्चालनमा ल्याउने, आम्दा अस्पतालको स्तरोन्नति गर्ने र पारा मेडिकल तथा नर्सिङ विषयको कक्षा सञ्चालन हुने बताए । उनले अस्पताल स्थापना र स्तरवृद्धिले स्वास्थ्य उपचारलाई स्तरीय बनाउने र सोही ठाउँमा आवश्यक जनशक्ति उत्पादन गर्दा रोजगारी सिर्जना हुने पनि प्रस्ट पारे ।

बैठकमा प्रमुख पाण्डेयले १८ वर्षमुनिका एचआइभी सङ्क्रमित बालबालिकाको पोषण स्थिति सुधार गर्न मासिक ३ हजार दिने, स्तनपान गराउने आमाहरूका लागि दुग्धवर्द्धक जडीबुटी दिने, नगरवासीलाई जटिल रोगको उपचारमा जनही १७ हजार रुपैयाँ दिइने राहत अनुदान कार्यक्रमलाई निरन्तरता दिएको र थप सुविधा दिने गरी योजना बनाएको बताए ।

शिक्षामा बुटवलभित्रका सबै सार्वजनिक विद्यालयहरूलाई एउटै स्तरमा पुर्याउने गरी काम गरिरहेको बताउँदै उनले प्राविधिक शिक्षामा बुटवल टेक्निकल इन्स्टिच्युटमा सिभिल इन्जिनियरिङतर्फ स्नातक तहको अध्ययन आरम्भका लागि काम अघि बढेको खुलाए ।

उनले नगरलाई हरियाली बनाउन मुख्य सडक र भित्री सडक तथा अन्य खुला क्षेत्रमा वृक्षारोपण तथा ४५ दिने सरसफाइ अभियान सञ्चालन गरी नगरलाई सफा राख्न बुटवलवासीलाई प्रोत्साहन गरिएको पनि बताए ।

नगर प्रमुख पाण्डेयले उज्यालो बुटवल कार्यक्रमअन्तर्गत मुख्य मुख्य चोकहरूमा हाइमास्ट लाइट तथा भित्री सडक र गल्लीहरूमा स्मार्ट स्ट्रिट लाइट जडान तथा सौन्दर्यीकरणको काम अगाडि बढेको र यसले रात्रिकालीन बजार सञ्चालनमा समेत सघाउ पुग्ने बताए

यस्तै, नगर सभाको अधिवेशनको पहिलो बैठकमा जलस्रोत विधेयक टेबुल गरिएको छ भने नगर स्वास्थ्य ऐन, छाडा चौपाया व्यवस्थापन र नियन्त्रण (गौशाला सञ्चालन) विधेयक र नगर शिक्षा ऐन संशोधन प्रस्ताव टेबुल गरिएको छ ।

अधिवेशनको पहिलो बैठकमा विधेयक समितिका संयोजक नरेन्द्र बस्नेतले विधेयक र ऐन संशोधनको प्रस्ताव टेबुल गरेका हुन् । नगर सभाको अर्को बैठक शुक्रबार दिउँसो ३ बजे बस्ने गरी स्थगित भएको उपमहानगरका प्रवक्ता शिव रानाले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप