बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

टर्कीलाई एफ–३५ बेच्ने अमेरिकी योजनाको नेतन्याहूले गरे विरोध

बुधबार, २४ असार २०८३, ०८ : ३१
बुधबार, २४ असार २०८३

सारांश

  • इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले टर्कीलाई अमेरिकी एफ-३५ लडाकु विमान बेच्ने सम्भावित निर्णयको विरोध गरेका छन्।
  • उनले टर्कीलाई एफ-३५ उपलब्ध गराइए पश्चिम एशियाको शक्ति सन्तुलन बिग्रिने र क्षेत्रीय शान्तिका लागि जोखिमपूर्ण हुने चेतावनी दिए।
  • नेतन्याहूले राष्ट्रपति ट्रम्पलाई प्रत्यक्ष रूपमा पनि टर्कीलाई एफ-३५ नबेच्न आग्रह गरेको बताएका छन्।

वासिङ्टन डीसी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अमेरिकाले टर्कीलाई अत्याधुनिक एफ–३५ स्टेल्थ लडाकु विमान बेच्ने सम्भावित निर्णयको विरोध गरेका छन् । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग यस विषयमा कुनै गम्भीर मतभेद नरहेको उनले दाबी गरेका छन् । सीएनएनसँगको अन्तर्वार्तामा नेतन्याहूले टर्कीलाई एफ–३५ उपलब्ध गराइए पश्चिम एशियाको शक्ति सन्तुलन बिग्रिने चेतावनी दिए । उनले टर्कीका राष्ट्रपति रेचेप तैय्यिप एर्दाेआनको नेतृत्वलाई आलोचना गर्दै टर्की अहिले अमेरिकाको आदर्श सहयोगी राष्ट्र नभएको टिप्पणी गरे ।

टर्कीको वर्तमान शासन मुस्लिम ब्रदरहुडको विचारधाराबाट प्रभावित रहेको आरोप पनि नेतान्याहूले लगाए । उनका अनुसार एर्दाेआनले इजरायललाई नष्ट गर्ने धम्की दिँदै आएकोले टर्कीलाई यस्तो सैन्य क्षमता दिनु क्षेत्रीय शान्तिका लागि जोखिमपूर्ण हुन सक्ने उनी भन्छन् । आफूले राष्ट्रपति ट्रम्पलाई प्रत्यक्ष रूपमा पनि टर्कीलाई एफ–३५ नबेच्न आग्रह गरेको उनले बताए । उनका अनुसार यस्तो बिक्रीले मध्यपूर्वको सैन्य शक्ति सन्तुलनलाई गम्भीर असर पार्नेछ ।

यता, ट्रम्पले भने नेटो शिखर सम्मेलनका क्रममा टर्की भ्रमण गर्दै टर्कीलाई अमेरिकाको असाधारण सहयोगी बताए । आफ्नो पहिलो कार्यकालमा लगाएको एफ–३५ बिक्रीसम्बन्धी प्रतिबन्ध हटाउने सम्भावनाबारे पनि उनले सकारात्मक संकेत दिएका छन् । यद्यपि नेतान्याहूले ट्रम्पसँग सम्बन्ध बिग्रिएको भन्ने टिप्पणी अस्वीकार गरे । दुवै नेताले अधिकांश रणनीतिक विषयमा समान धारणा राख्ने उनको भनाइ छ ।

‘उहाँ अमेरिकाका राष्ट्रपति हुनुहुन्छ र अमेरिकाको हितमा निर्णय गर्नुहुन्छ । म इजरायलको प्रधानमन्त्री हुँ र इजरायलको हितमा काम गर्छु । धेरैजसो अवस्थामा यी दुवै हित एकअर्कासँग मेल खान्छन्,’ नेतान्याहूले भने । नेतान्याहूले अमेरिका र इरानबिच भएको युद्धविराम सम्झौताबारे तत्काल निष्कर्ष निकाल्न नहुने बताए । उनका अनुसार राष्ट्रपति ट्रम्प वार्तामार्फत इरानको आणविक कार्यक्रम रोक्न सकिने विश्वस्त छन्, तर आफूलाई त्यसमा शंका रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप