आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

नेपाली खेलकुदका निकायहरुको भूमिकाबारे समीक्षा हुन आवश्यक : मन्त्री लिम्बू

शनिबार, १४ पुस २०८०, १७ : १७
शनिबार, १४ पुस २०८०

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले नेपाली खेलकुदका सरोकारवाला निकायको भूमिकाबारे समीक्षा गर्न आवश्यक रहेको बताएका छन् ।  

शंखमुलमा शनिबार आयोजित नेपाल ओलम्पिक कमिटी (एनओसी) को १५ औं साधारणसभाको अवसरमा मन्त्री लिम्बूले खेलाडीको अपेक्षाअनुरूप खेलकुदका निकाय एनओसी र राष्ट्रिय खेलकुद परिषद् (राखेप) को काम कारबाही र भूमिका विषयलाई लिएर समीक्षा गर्न आवश्यक रहेको औँल्याए । खेलाडीका भावनाअनुरूपमा गर्नसक्यौं वा सकेनौँ भन्ने विषयमा छलफल गर्न आवश्यक रहेको मन्त्री लिम्बूको धारणा थियो ।

मन्त्रीले लिम्बूले खेलकुदका जिम्मेवारी निकाय एउटै लक्ष्यमा एक भएर काम काम गर्ने हो भने नेपाली खेलकुद विकासको नतिजा आगामी पाँच वर्षभित्र देखिने बताए । त्यसैले सरोकारवाला निकाय मिल्नुको विकल्प नभएको आवश्यकता औँल्याए । खेलकुद क्षेत्रको विकासका लागि सबै निकायको साझा धारणा आउनुपर्ने पनि मन्त्री लिम्बूले बताए ।

मन्त्री लिम्बूले सरकार एक्लैले मात्र खेलकुद क्षेत्रको विकास गर्न सम्भव नभएको पनि जिकिर गरे । उनले निजी क्षेत्र, सरोकारवाला र राज्य एक भएर काम गर्ने हो भने खेलकुद क्षेत्रले धेरै फड्को मार्ने बताए । लगानी गर्ने व्यक्ति र संस्थालाई पनि प्रोत्साहन गर्न उत्तिकै आवश्यकता रहेको मन्त्री लिम्बूले बताए ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले नेपालमा ओलम्पिकको इतिहास लामो भएपनि अनुभव त्यति लामो हुन नसकेको स्वीकार गरे । यसबिच एनओसीले उतारचढाव सामना गर्नुपरेकाले पनि त्यति धेरै गतिविधिहरू नभएको ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठको भनाई छ ।

ओलम्पिकमा सहभागिता मात्र होइन पदकको सम्भावना पनि ल्याउने वातावरण बनाउन आफूहरू प्रतिबद्ध रहेको ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठले बताए । राज्य, खेलकुद संघ, मन्त्रालय र ओलम्पिक कमिटी एक भएर काम गर्दा मात्र नेपाली खेलकुदलाई परिणाममुखी बनाउन सक्ने अध्यक्ष श्रेष्ठको विश्वास छ ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले नेपाली खेलकुदको संस्थागत विकासको इतिहास लामो रहेको उल्लेख गर्दै उद्देश्यअनुरूप विकास हुन नसक्दा एकपटक सबैले समीक्षा गर्न आवश्यक रहेको औँल्याए । घिसिङले पनि सामूहिक प्रयास गर्न एकै पटक पाइला बढाउन आग्रह गरे ।  काम गर्ने तरिका बारे प्रशिक्षकसँगै हरेक खेलकर्मीले पनि आफूलाई समीक्षा गर्न उनको आग्रह छ ।  

सो कार्यक्रममा ओलम्पियन दीपक बिष्ट र नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले पनि खेलकुद विकासका लागि सबै एक भएर लाग्नुपर्ने औँल्याए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप