सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय

१५ महिनापछि कोर्टमा फर्किएकी ओसाकाको विजयी सुरुआत

सोमबार, १६ पुस २०८०, १७ : १३
सोमबार, १६ पुस २०८०

काठमाडौँ । लामो समयदेखि कोर्ट बाहिर रहेकी चार पटककी ग्रान्डस्लाम च्याम्पियन नाओमी ओसाकाले अन्तर्राष्ट्रिय टेनिसमा उत्कृष्ट पुनरागमन गरेकी छन् । करिब १५ महिनापछि कोर्टमा फर्किएकी ओसाकाले सोमबार ब्रिसबेन इन्टरनेशनल टेनिस प्रतियोगिताको आफ्नो पहिलो खेलमा जर्मनीकी तामारा कोरपास्चलाई हराएकी हुन् ।

२६ वर्षीया ओसाकाले जर्मन प्रतिद्वन्द्वीलाई ६–३, ७–६ (११–९) को सोझो सेटमा पराजित गरेकी हुन् । आमा बनेपछि उनी टेनिस कोर्टबाट टाढिएकी थिइन् । प्रतियोगिताको अर्को चरणमा ओसाकाले क्यारोलिना प्लिसकोभाको सामना गर्नेछिन् । ‘लामो समयपछि कोर्टमा फर्किएर पनि उत्कृष्ट प्रदर्शन गर्न सकेकोमा म उत्साही छु,’ ओसाकाले भनेकी छन् ।

उनले जर्मन प्रतिद्वन्द्वीको खेलको पनि प्रशंसा गरेकी छन् । ओसाकाले चारपटक ग्रान्डस्लाम प्रतियोगिताको उपाधि जितेकी छन् । ओसाकाले दुईपटक अस्ट्रेलियन ओपन र दुईपटक यूएस ओपनको एकल उपाधि जितेकी हुन् ।

उनले सन् २०१९ र सन् २०२१ मा अस्ट्रेलियन ओपन तथा सन् २०१८ र सन् २०२० मा यूएस ओपनको उपाधि जितेकी थिइन् । बाँकी दुई ग्रान्डस्लाम प्रतियोगिताको फ्रेन्च ओपन र विम्बल्डनको उपाधि भने उनले हालसम्म पनि जित्न सकेकी छैनन् ।

उनी फ्रेन्च ओपन र विम्बल्डनमा तेस्रो चरणभन्दा अगाडि बढ्न सकेकी छैनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप