टेस्लाले भन्दा धेरै विद्युतीय कार बेच्यो बीवाईडीले
बेजिङ । चिनियाँ विद्युतीय कार निर्माता कम्पनी बीवाईडीले अमेरिकी प्रतिस्पर्धी कम्पनी टेस्लाले भन्दा धेरै विद्युतीय कार बेचेको छ । दुई कम्पनीबिच विश्वको ईभी बजारको शीर्ष स्थानमा को रहने भन्ने होडबाजी चलिरहँदा यस्तो त्रैमासिक तथ्याङ्क बाहिरिएको हो । सन् २०२३ को अन्तिम तीन महिनामा बीवाईडीले संसारभरमा ब्याट्रीबाट मात्रै चल्ने ५ लाख २६ हजार थान कार बेचेको छ । यो श्रेणीमा बीवाइडीले टेस्लालाई उछिनेको यो पहिलो त्रैमास हो ।
अमेरिकामा केन्द्रीय बैंकले ब्याजदर बढाएर उच्च स्तरमा पुयार्एपछि घरेलु बजारमा कर्जाको लागत बढ्दा कारको माग सुस्त भएको थियो । २०२३ भरि चाँहि बीवाईडीले भन्दा टेस्लाले धेरै विद्युतीय कार बेचेको छ । अक्टोबर–डिसेम्बर त्रैमासमा कम्पनीले ४ लाख ८४ हजार ५०० थान विद्युतीय कार बेचेको टेस्लाले मंगलबार बताएको थियो । वर्षभरिमा भने कम्पनीले १८ लाख थान विद्युतीय कार बेचेको छ ।
सन् २०२२ को सोही अवधिको तुलनामा डिसेम्बर त्रैमासमा टेस्लाको विक्री २० प्रतिशतभन्दा धेरैले बढेको थियो । तर विक्री अपेक्षा गरेअनुरुप भने बढ्न सकेन । २०२३ भरिमा कम्पनीका २० लाख थान कार विक्री हुने अनुमान गरिएको वर्षको सुरुमा कम्पनीका सीईओ तथा संस्थापक एलन मस्कले भनेका थिए ।
बीवाईडीले वर्षको अन्त्यमा विक्रीमा पाएको सफलता टेस्लाले सामना गरिरहेको चुनौतीको औँल्याएको विश्लेषण गर्न थालिएको छ । वर्षभरिमा बीवाईडीले भने विद्युतीय र हाइब्रिड दुवै गरेर ३० लाख थान कार बेचेको छ ।कम्पनीले बेचेको कूलमध्ये १६ लाख थान कार विद्युतीय थिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण